क्रिकेट फ्यान्टासीका विजेता पुरस्कृत



नेपाल समाचारपत्र
काठमाडौं
पुस ३ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको एभरेष्ट प्रिमियर लिग (इपीएल) लाई लक्षित गरेर लेट्जक्रिकेट डटकमले नेपाल मै पहिलो पटक अनलाइन क्रिकेट फ्यान्टासी आयोजना गरेको थियो ।

जसमा सहभागिता मध्येबाट विजयी बन्न सफल १० प्रंतिस्पर्धीहरुलाई शनिबार एक समारोहबीच कामना न्युज पब्लिकेसनका प्रधान सम्पादक पुस्करलाल श्रेष्ठले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा प्रथम तथा दोस्रो हुनेलाई क्रमशः जनही १० हजार तथा ५ हजार रुपियाँ र तेस्रो हुनेलाई क्रिकेट ब्याट प्रदान गरिएको थियो । त्यसैगरी, चौथो देखि दशौँ स्थान प्राप्त गर्नेलाई एक–एक थान नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रदान गरिएको थियो । सो अनलाइन क्रिकेट फ्यान्टासीमा करिब ६ सय जनाको सहभागिता रहेका थिए ।

शनिबार आयोजित पुरस्कार वितरण समारोहका प्रमुख अतिथि समेत रहनुभएका श्रेष्ठले यस्ता अनलाइन प्रतियोगिताले नेपाली क्रिकेटलाई दर्शकमाक्र पुर्याउन मद्दत पुग्ने कुरा बताउनुभयो । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा भएको समारोहमा लेट्जक्रिकेटका संस्थापक तथा सञ्चालक मध्येका एक रीतेश घिमिरेले लेट्जक्रिकेटको प्रमुख उद्देश्य नेपाली क्रिकेटमा प्रविधिको प्रयोगलाई बढावा दिनु हो भन्ने प्रष्ट पार्नुभयो । कार्यक्रममा सोबिज मिडिया का सीइओ प्रबल गौतम तथा राष्ट्रिय क्रिकेटर बिक्रम सोबले आफ्नो धारणा राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्