‘पुराना विमान विस्थापित गर्दै छौं’



सुगतरत्न कंसाकार
प्रबन्ध निर्देशक, नेपाल वायुसेवा निगम

ससरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको वर्तमान अवस्था, भावी रणनीति र संस्थाको विकासका लागि भइरहेका कामलगायतका बारेमा नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारसँग नेपाल समाचारपत्रका लागि दीपेन्द्र थापाले गरेको कुराकानी।

अहिले नेपाल वायुसेवा निगमको अवस्था कस्तो छ ?

पछिल्लो समयमा नेपालभित्र र बाहिर पनि नेपाल वायुसेवा निगमको महत्त्व बढेको छ। साथै नेपाली पर्यटन उद्योगको विकासको लागि राष्ट्रिय ध्वजावाहकको विमानको महत्त्व अझ बढ्दै गएको अवस्था छ। हाम्रो समस्या भनेकै व्यवस्थापनभन्दा पनि उत्पादनको हो।

हामीले सामान बेच्नको लागि हामीसँग सामान नै छैन। मैले भन्ने सामानको अर्थ हामीसँग पर्याप्त सिट छैन। हामीले सीमित साधन स्रोतले गर्दा मागअनुसारको सेवा प्रवाह गर्न सकेका छैनौं। हाम्रो विमानको संख्या पनि थोरै छ जसले माग धान्न सकेको छैन। नेपालमा विदेशी एयरलाइन्सको बजार ९० प्रतिशत रहँदा हाम्रो बजार १० प्रतिशतमा सीमित भएको छ।

निगमले अरू निजी विमान कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेको हो ?

अहिलेको बजारमा हामीले तीनवटा विमानमार्फत् अन्तर्राष्ट्रियतर्फका ८ गन्तव्यमा उडान भर्दै आएका छौं। तिनमा हङकङ, बैंकक, दिल्ली, दुबई, क्वालालम्पुर, दोहा, बैङलोर र मुम्बई रहेका छन्। हाम्रो अकुपेन्सी पनि विदेशीभन्दा कम छैन। अकुपेन्सीको कुरा गर्दा कतै हाराहारीमा त कतै अरूभन्दा बढी रहेको छ। निगमलाई खराब भन्ने मान्छे धेरै छन्। तर, हाम्रो जहाज खाली उडेका छैनन्। यसअर्थमा हामी नाफा आर्जन गरिरहेका छौं।

३ विमानले ८ गन्तव्य भर्नुमा धेरैले आश्चर्य मान्छन्। यसले विश्वसनियता घटाएको छ। विमान बिग्रेमा उडान तालिका नै प्रभावित हुने गरेको छ। हरेक उडानमा इन्जिनियरले ठिक छ भनेर सही गरेपछि मात्र विमान उडान हुने गरेको छ।

यो समस्याको समाधान के हो त ?

यसको समाधान भनेको विमान थप गर्नु नै हो। हामीले २८ वर्षदेखि कुनै विमान खरिद गरेनौं जसले गर्दा विदेशी विमान कम्पनीले निरन्तर कमाई मात्र रहे तर निगम भने पछि पर्यो। अहिले हामी तीव्र गतिमा व्यवस्थापनको कामलाई सम्पूर्ण कम्प्युटर प्राणलीमा रूपान्तरण गर्दै छौं। साथै अनलाइन बुकिङलाई पनि प्रभावकारी बनाएका छौं।

आन्तरिक उडानमा निमगको पहुँच किन खुम्चियो ?

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कुल व्यापार १ खर्ब रुपियाँको रहेको छ। त्यसमध्ये आन्तरिकको व्यापार १० अर्ब रुपियाँको हाराहारीमा छ। १० अर्ब रुपियाँमा भन्दा १ खर्बमा हामीले ध्यान केन्द्रित गरेका छौं। यसो भनिरहँदा मैले आन्तरिक उडानलाई बेवास्ता गरेको होइन। आन्तरिकतर्फ हाम्रो नाफाभन्दा पनि सेवाको भावले उडान गर्नुपर्ने दायित्व रहेको छ।

हामीले गर्ने लगानी सडक विभागले बनाउने सडकजस्तै हो। सडक पुगेपछि आमनागरिकको जनजीवन फेरिए झैं हामीले पर्यटन ल्याउन सकेमा नेपालको आर्थिक उन्नतीमा टेवा पुग्छ। विमानको कमीले गर्दा सबै ठाउँमा मागअनुसारको उडान गर्न नसकेको हौं।

निगमका नयाँ योजना के–के छन् त ?

हामीसँग ४०⁄४५ वर्षका पुराना टवीनअटर चलाइरहेका छौं। निगमले ४ वटा टवीनअटर थप गर्न योजना रहेको बनाएको छ। त्यस्तै भने पुराना टवीनअटर लिलाम गरेर सबै नयाँ टवीनअटर खरिद गर्दैछौं। अबको २ देखि ३ वर्षमा सम्पूर्ण पुराना टवीनअटर विस्थापित गर्दैछौं। ४ वटा टवीनअटर किन्नको लागि निगमले क्यानडाको कम्पनीसँग सहकार्य गर्दैछ। त्यस्तै व्यवस्थापनको सुधारको लागि इन्जिनियरिङ र अपरेसन विभागलाई कम्प्युटराइज गर्दैछौं। आगामी हप्ता नै सफट्वेयर खरिदका लागि हस्ताक्षर गर्ने योजना रहेको छ।

विमान कम्पनीको दुई महत्त्वपूर्ण भाग नै अपरेसन विभाग (पाइलट⁄क्याविन क्रुज र इन्जिनियरिङ विभाग हो। यी प्रत्यक्ष यात्रुको ज्यानसँग जोडिएको विभाग हो।

हामी यी प्रणालीलाई विश्वस्तरिय प्रणालीको रूपमा विकास गर्दैछौं। हामीसँग विश्वकै उत्कृष्ट पाइलट रहेका छन्। तिनमा विश्वकै १० खतरनाक विमानस्थलको सूचीमा परेको लुक्ला विमानस्थलमा उडानको अनुभव भएको पाइलट रहेका छन्। यी दुई विभागलाई नै आधार मानेर हाम्रो विमानको सुरक्षा मापन अन्तर्राष्ट्रिय निकायले मूल्यांकन गर्छ। अहिले हामी कागजपत्र मिलानमा चुकेका छौं। यसलाई पनि व्यवस्थित गर्दै लगेका छौं।

वायुसेवा कम्पनीको व्यवस्थापन ३ तहमा नियमन हुन्छ। त्यसमा आफ्नै संस्थाको नियम कानुन, नियमनकारी निकाय नागरिक उड्डन प्राधिकरण र अन्तर्राष्ट्रिय नियमको पालन गर्दै विमान कम्पनीले सेवा प्रवाह गर्नु तह पर्छ।नेपालको जस्तो भुगोल पनि उडान भर्नका लागि अर्को समस्या हो।

निगमका चुनौती र सम्भावना के–के छन् ?

निगमलगायत नेपालका सबै सरकारी संस्थानमा आन्तरिक सुधार आवश्यक रहेको छ। मलाई लाग्दैन कि अरूको भन्दा हाम्रो खराब व्यवस्थापन छ। हामी संसारको खराबै लगानी भएको कम्पनीसँग प्रत्यक्ष प्रतिस्पर्धा गरिरहेका छौं। हामीले नाफा पनि जेनेरेट गरिरहेका छौं। निगम कम्पुटर प्रणालीमा जाँदैछ। १४ सय कर्मचारी रहेको संस्थानले कर्मचारीको बानी व्यहोरा सकरात्मक सोच र तालिम दिँदै दक्ष बनाउँदै छ। माग धेरै रहे पनि निगम सीमित साधनका बावजुत काम गरिरहेको छ।

बजारको विस्तारका लागि निगमले के कस्ता काम गरिरहेको छ ?

निगमले ट्राभल कम्पनीलाई केही सेवा सुविधा दिएर नै हाम्रो यात्रुको संख्यामा बढाउन सकिन्छ र गुणस्तरीय सेवा प्रवाह गर्नको लागि हाम्रो जनशक्तिलाई प्रशिक्षित गर्दै जाने छौं।

अब आगामी जुलाई सम्ममा २ वाइडवडी विमान आयात गर्दैछौं। यो आएसँगै ३ वटा गन्तव्यमा उडान थप गर्दैछौं। हामीले सिधा उडान साउदी अरेवियाको रियाद, जापानको ओसाका, दक्षिण कोरियाको सोलमा नयाँ गन्तव्य थप गर्ने छौं। यसको लागि प्रमोसनको काम तीनै ठाउँमा भइरहेको छ।

आगामी दिनमा लन्डन, अष्ट्रेलिया, भारतको कोलकाता, पन्जाव चन्डीगण अहमदावाद र चीनको छेन्दु, साङघाईलगायतका ठाउँमा पनि माग भइहेकोछ। तर, विमान कम छ अरू २ न्यारो वडी विमान थप गर्न विचारमा रहेका छौं। म्यान्मार, पाकिस्तान, श्रीलंकामा पनि माग हुँदै आएको अवस्था छ।

अबको १० वर्षमा अमरिका, युरोप र न्यूजील्यान्डमा उडान भर्ने योजनासहित हिँडेका छौं। धेरैले महत्त्वाकांक्षी भयो भन्नु भएको छ। २ सय मुलुकका हजारौं एयरलाइस चलाउन सक्ने हामीले वाइडवडी जहाज किन चलाउन नसक्नु हामीमा ‘इफेरियरिटी कम्प्लेक्स’को भावना रहेको छ।

नयँँ गन्तव्यबाट पर्यटनमा टेवा पुग्ला त?

पर्यटकको खानी भनेको विकसित मुलुक हुन्। त्यसैले विकसित मुलुकबाट हामीले पर्यटल आगमन बढाउनको लागि विकसित मुलुकमा उडान भर्नैपर्छ संसारभरबाट नै काठमाडौंसम्मको हवाई यात्रा महंँगो भयो भन्ने गुनासो रहेको छ। यसरी कहाँ हाम्रो पर्यटन क्षेत्र अगाडि बढ्छ। निगमले अरू एयरलाइन्सलाई हस्तक्षेप गरेर सस्तोमा हवाई सेवा प्रवाह गर्नुपर्ने दायित्व छ।

निगम भनेको सडक विभागजस्तो हो सडक बनाएपछि सडक विभागलाई कति नाफा भयो भनेर सोध्छ र त्यसको सोसल इम्प्याक्ट धेरै हुन्छ। निगम पनि त्यस्तै हो। नयाँ गन्तव्यमा उडान गरेपछि पर्यटनमा वृद्धि भएर नेपालको आर्थिक समृद्धिले गतिले लिन्छ। नाफा घाटा नहेरी सरकारले विमान खरिदमा जोड दिनुपर्छ। भारत र चीनका नागरिकमा घुम्ने प्रचलन बढेर गएको छ। यसको केही प्रतिशतलाई मात्र नेपालमा ल्याउन सके पर्यटन र हाम्रो उद्योगलाई टेवा पुग्छ।

हवाई यात्रु बढेको हो ?

नेपालीको क्रयशति पनि बढेर गयो र सडकमार्ग भन्झटिलो भएपछि हवाई यात्री बढेका हुन्। अहिले भारत र चीनमा पनि आन्तरिक उडानमा निजी क्षेत्रले धानेको अवस्था छ र बढेको छ। हाम्रो पनि बढिरहेको छ। बाटो घाटोको समस्याले पनि हो र संसारभरनै आन्तरिक उडान बढेको अवस्था छ। हामी थोरै विमान भए पनि ३२ विमानस्थलमा आन्तरिकतर्फ सबैभन्दा बढी गन्तव्यमा उडान भरेर सेवा प्रवाह गर्दै आएका छौं। अहिले आन्तरिकमा उडान थप गर्दै जाने छौं।

हाम्रो भिजन भनेको विकट ठाउँमा पनि सेवा प्रवाह गर्न घाटा सहेर पनि त्यसको लागि हामीले अरू ठाउँमा नाफा कमाउनु जरुरी रहेको छ। जसको लागि अन्तर्राष्ट्रिय गन्तव्यबाट नाफा कमाउनुपर्छ र सबैले विमान थप गर्नको लागि सहयोग पुर्याउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्