गम्भीर बन्नुपर्छ राज्य



संगठित आपराधिक क्रियाकलापमा संलग्न रहेकाहरू खुलेआम हत्या र लुटपाटमा संलग्न हुँदै आएका छन्। प्रहरीले आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको दाबी गरिरहेका बेला शुक्रबार खुलेआम रूपमा रुपन्देहीको देवदहका काठ व्यवसायी बलु पौडेलको हत्या भएको छ। युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको एक वर्षपछि त्यहाँ उस्तै किसिमको घटना दोहोरिएको छ। पौडेलको हत्याको घटनाको जिम्मा हाकाहाकी रुपन्देहीको देवदहका मनोज पुनले लिएका छन्। गएको असोज चौथो साता काठमाडौंमा हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र तिवारी हत्याकाण्डको जिम्मेवारीसमेत उनै पुनले लिएका छन्।

पौडेलको हत्याको जिम्मेवारी पुनले लिएर प्रहरी प्रशासनलाई ठाडो चुनौती दिएका छन्। विगतमा नेकपा (एमाले) को युवा संगठन युथफोर्समा आवद्ध भएका पुनले शुरुमा भैरहवा नाका र बुटवल बजार क्षेत्रमा आतंक मच्चाउँदै हप्ता असुली गर्दै आएका थिए। गुण्डागर्दीका क्रममा हाल प्रहरीको हिरासतमा रहेका समिरमानसिंह बस्नेतसँग साझेदारीमा आपराधिक व्यवसाय सञ्चालन गर्दै आएका पुन एमाले कार्यकर्ता दुर्गा तिवारीको हत्यापछि चर्चामा आएका थिए। तिवारी हत्याकाण्डपछि बस्नेतसँग हिसाबकिताबको मामिलामा तनावयुक्त साझेदारी गर्दै आएका ती २ गुण्डा गौचनको हत्यापछि एकले अर्कालाई सिध्याउने खेलमा लागेका थिए।

गौचन हत्यामा बस्नेत पक्राउ परेपछि पुनले नेपालमा रहेका व्यापारीलाई पटक–पटक फोन गर्ने र रकम नदिए हत्या गर्नेसम्मका चेतावनी दिंदै आइरहेको बेला शुक्रबार व्यवसायी पौडेलको हत्या भएको हो। लेनदेनमा कुरा नमिलेपछि पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। विभिन्न चरणका हत्याको मुख्य योजनाकार मानिएका पुन भारतमा रहेर नेपालमा आतंक मच्चाउँदै आएका छन्। हत्यापछि खुलेआम रूपमा फोन गरेर हत्याको कुरा स्वीकारिरहेका उनलाई सुरक्षा निकायले पक्राउ गर्नसकेको छैन। अन्य आपराधिक घटनाका आरोपीलाई भारतसहित विभिन्न मुलुकबाट पक्राउ गरेर कानुनी दायरामा ल्याइएको भए पनि पुनलाई अहिलेसम्म ल्याउन सकिएको छैन।

प्रहरी पुनलाई पक्राउ गर्न बल्ल इन्टरपोल नोटिस जारी गर्ने तयारीमा जुटेको बताइएको छ।१ वर्षअघिको घटनामा उनी मुछिएको पुष्टी हुँदाहुँदै बल्ल पुनबारे इन्टरपोल नोटिस जारी गर्नुले प्रहरी संयन्त्र के–कस्तो अवस्थामा छ भन्ने देखिन्छ। पछिल्लो समय नेपाल प्रहरीमा आएको बिचलन र प्रहरी संगठनमाथि राजनीतिक दलले गर्ने हस्तक्षेपका कारण अपराधीहरूको मनोबल बढ्दा कारबाही प्रकृया अघि बढाउन ढिलो हुने गरेको प्रहरीका वर्तमान र पूर्ववरिष्ठ अधिकारी स्वीकार्छन्। तोकिएको अधिकार र कानुनी दायरामा रहेर प्रहरीले पुन मात्रै होइन, अन्य व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याउन ढिलो गर्नुहुँदैन। राज्य यस्तो विषयमा गम्भीर बन्नुपर्छ। पुनजस्ता व्यक्ति राज्यको चुनौती बन्ने बाटो बनाइनुहुँदैन। राजनीतिक आडमा आपराधिक क्रियाकलापमा संलग्नहरू उम्किनुहुँदैन।

प्रतिक्रिया दिनुहोस्