प्राविधिक शिक्षा आजको आवश्यकता



हामी विकासशील देशका नागरिक हौं। हामीले यो देशमा पुरातनवादी, बुर्जुवा शिक्षाकै कारण पछाडि परिरहेका छौं। हामी राजनीतिका अनुत्पादक र फाल्तु कुरा गरेर आफ्नो महत्त्वपूर्ण समय खेर फालिरहेको आफैंले बुझेका छैनौं। आफ्नो व्यवसाय गर्ने र आफ्नै कमाइ गरेर खाने संस्कृतिको विकास नहुनुमा हामीले अहिलेसम्म पाउँदै आएको अनुत्पादक औपचारिक शिक्षा नै हो। हाम्रो अवस्थाको जिम्मेवार अहिलेको शिक्षा नै भएको मेरो बुझाइ रहेको छ। प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षा नभएकै कारण हाम्रो देश विकासमा पछाडि पनि परेको छ। प्राविधिक ज्ञान भएकाहरू कोही पनि बेरोजगार बन्न पर्दैन। त्यसैले, आजको प्रमुख आवश्यकता भनेको व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा दिनु नै हो। पछिल्लो समय विद्यार्थी व्यावहारिक तथा व्यावसायिक शिक्षा आर्जन गर्न उत्साहित देखिएका छन्। यसबाट देशले छिट्टै आर्थिक तथा सामाजिक विकास गर्न सक्ने विश्वास पनि लिइएको छ। गाउँ–गाउँमा प्राविधिक शिक्षालय पनि खुल्दै छन्। मेहनत गरे नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण पनि यहीं भेटिन्छ। व्यवसायिक तारिकाले जुनसुकै काम गर्दा पनि सफल हुन सकिन्छ भन्ने उदाहरण नयाँ पुस्ताका युवाले दिन थालेका छन्। नेपाली युवा जनशक्ति खाडी मुलुकहरूमा तल्लो स्तरको कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका छन्। यहाँ भने कपडा सिलाउने, कपाल काट्ने र होटल व्यवसाय सञ्चालन गर्नसमेत विदेशीकै वर्चस्व देखिएको छ। भारतीयलगायतका नागरिकले यहाँको अर्थतन्त्र बाहिर लगिरहँदासमेत हामी नेपालीलाई यस्ता सीप सिकाउन सकिरहेका छैनौं। यो विषयमा ध्यान दिनु जरुरी देखिन्छ। हामी आफ्नो काम आफैं गर्न नसकेर परनिर्भर र गरिब हुँदै गइरहेका छौं। पछिल्लो समय प्राविधिक कलेज खुल्ने क्रमसँगै विद्यार्थी तथा अभिभावकको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेको छ। विद्यार्थीका लागि ‘आइरन गेट’ मानिने एसईई परीक्षा उत्तीर्णसँगै भविष्यमा के गर्ने भन्ने मार्गचित्र तयार गरी व्यावसायिक तथा प्राविधिक शिक्षा आर्जन गर्न सके कोही पनि बेरोजगार बनेर बस्न पर्दैन।

अभिभावकले पनि आफ्ना छोराछोरीको इच्छाअनुसार कुन विषय पढाउँदा उपयुक्त हुन्छ त्यहीअनुसार निर्णय गर्नुपर्छ। हामीकहाँ अझै पनि विद्यार्थीको इच्छा एकातिर र अभिभावकको इच्छा अर्कै हुने अवस्था छ। अब दबाबमा होइन, आफ्नो क्षमता र इच्छाअनुसार विद्यार्थीले आफ्नो अध्ययनलाई अघि बढाउनुपर्छ। अहिलेको सन्दर्भमा प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्नु अत्यावश्यक भइसकेको छ। जुन विषय अध्ययन गरिन्छ, त्यो सिर्जनात्मक श्रमशक्तिको उत्पादक बन्न सक्नुपर्छ। देश विकासको मुख्य आधार शिक्षा प्रणाली हो। त्यसैले, अब सरकारले प्रत्येक जिल्लामा बहुप्राविधिक शिक्षालय स्थापना गरेर युवाको विदेश पलायनको वर्तमान अवस्था अन्त्य गर्नु जरूरी भइसकेको छ। देश बनाउन युवाहरूको सक्रिय र रचनात्मक भूमिका रहने गर्दछ। तसर्थ, उनीहरूलाई प्राविधिक शिक्षामा दक्ष बनाउन सके परनिर्भरता अन्त्य हुनुका साथै देश विकासको महाअभियान पनि सफल हुनेछ। देशलाई आर्थिक विकासमा समृद्धि बनाउने जुन सपना छ, त्यसलाई मूर्तरूप दिनु राज्यको उत्तरदायित्व हो। अहिलेको शिक्षा प्रणाली परिमार्जन गरी प्राविधिक विषयलाई अनिवार्य गर्न सकिए मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढ्नुका साथै युवाशक्ति विदेश पलायन हुने क्रम पनि न्यूनीकरण हुने देखिन्छ। मुलुकभित्रै बेरोजगारी र अवसरको कमीले गर्दा उच्च शिक्षा हासिल गरेका राम्रा विद्यार्थी विदेश पलायन भइरहेका छन्। यो राज्यका लागि ठूलो क्षति हो। त्यसैले, हाम्रो शिक्षा उत्पादनमुखी बन्नुपर्छ। व्यावहारिक र आत्मनिर्भर उन्मुख जनशक्तिले मात्रै मुलुक रूपान्तरण हुने भएकाले प्राविधिक शिक्षा अति आवश्यक देखिएको छ। नेपाल सरकारले रोजगारीमूलक शिक्षा दिनु जरुरी छ। नीतिगतरूपमै शिक्षा सुधार हुन जरुरी देखिएको छ।

– मनोज पुन, सौराहा

गठबन्धनका चुनौती
देउवा सरकारले प्रधानमन्त्रीको कुर्सी छाडेपछि बन्ने वाम गठबन्धका निक्कै चुनौती रहेका छन्। अबको केही समयमै वामपन्थी दलहरू सम्मिलित २ तिहाइको सरकार नबनी सुख्खै छैन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रमुखको जिम्मेवारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिस्ट पार्टीको अध्यक्षको जिम्मेवारी सम्हाल्ने समय पनि आउन लागेको छ। वामपन्थी नेताहरू मिलेर राष्ट्रिय समस्या समाधान गर्ने अपेक्षा नेपाली जनताले गरेका छन्। तर, वाम गठबन्धनका लागि पहिलो चुनौती प्रधानमन्त्री कसलाई बनाउने भन्ने अहिले देखिएको छ। चुनावअघि वाम गठबन्धनले प्रधानमन्त्रीका उम्मेदवार सार्वजनिक गरेको थिएन। यद्यपि, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा २ तिहाइनजिक वाम गठबन्धनलाई प्राप्त जनमतको आधार हेर्दा नेतृत्व केपी ओलीले गर्नेमा दुईमत छैन। वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले प्रधानमन्त्री र पार्टी अध्यक्ष बाँडफाँड नसकेको परिप्रेक्ष्यमा प्रधानमन्त्रीका दाबेदार दुवै पार्टीमा धेरै छन्। प्रधानमन्त्री टुंग्याएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, मुख्यमन्त्री, मन्त्रीहरू आदि पदहरूको बाँडफाँड पनि चुनौतीपूर्ण छ। नेताहरूको पदीय व्यवस्थापन पनि अर्को चुनौती देखिन्छ। पार्टी एकताको वैचारिक⁄सैद्धान्तिक दस्तावेज तयार गर्नु अर्को चुनौतीपूर्ण काम हुनेछ। पार्टी एकताको संगठनात्मक स्वरूप कस्तो बनाउने भन्ने विषयले छुट्टै महत्त्व राख्छ। यी आन्तरिक चुनौतीको सहज समाधान गरेर आगामी ५ वर्ष स्थिर सरकार बनाउनु पहिलो काम हुने देखिन्छ। वाम गठबन्धनका कतिपय नेताहरूले कांगे्रससँगको संघर्षलाई अहिले निकै बढाइचढाइ गर्दै कांगे्रसको साथ अब कहिल्यै नचाहिनेजस्तो गरिरहेका छन्।

पुष्पलालको संयुक्त मोर्चा नीति आगामी दिनमा पनि उत्तिकै महत्त्वपूर्ण रहने तथ्य वाम नेताहरूले आत्मसात् गरेनन् भने देश अर्को दुर्घटनामा पर्नेछ। यो विषयमा नेता गम्भीर हुनु जरुरी रहेको छ। राष्ट्रियताको रक्षा र देशको राजनीतिलाई जनपक्षीय बनाउने अभियान अझै चुनौतीपूर्ण छ। जनताको जनजीविकाका सवालहरूको समाधान र आर्थिक विकासको तीव्र जनआकांक्षाको सम्बोधन समयमै गर्न आगामी वाम गठबन्धन सरकार सक्षम भएन र अनेक बहानाबाजी गर्नतर्फ अग्रसर हुने हो भने त्यो फलदायी नहुन सक्छ। जनमतको सम्मान गर्दै यस ऐतिहासिक विजयलाई चुनौतीका रूपमा लिँदै वाम गठबन्धनले अवसरमा बदल्न सक्नुपरेको छ। आगामी दिनमा जनताको साथ पाउन र वाम सरकारको स्थायित्व र आफ्नै अस्तित्वका लागि पनि वाम नेता चनाखो हुने बेला आएको छ।
– सम्राट श्रेष्ठ, तनहुँ

प्रतिक्रिया दिनुहोस्