डाक्टर कि मेयर ?



काठमाडौं महानगरपालिकाले बिहीबार ११ वटा स्रोककेन्द्र अन्तर्गतका विद्यालयका प्रधानाध्यापकज्यूलाई भेला गरेर आफ्नो सफ्टवेयर सार्वजनिक गर्यो। सो सफ्टवेयरको अनलाइनमार्फत् बटन थिचेर काठमाडौंका मेयर सापले उद्घाटन पनि गर्नुभयो। उद्घाटन पश्चात उहाँले आफ्नो मन्तव्य पनि शालिन शैलीमा दिनुभएको धरहराले देख्यो। अन्यको पनि बोल्ने पालो आयो। आ–आफ्नो भनाइ राख्नुभयो।

यो धरहरा पनि मजाले भाषण सुन्दै थियो। एक जना डा. साप जसले सो सफ्टवेयरको निर्माण गर्नुभयो उहाँले पनि सफ्टवेयरका बारेमा बुझाउँदै हुनुहुन्थ्यो। तर यति हतार गर्नुभयो कि हाम्रा प्रअज्यूहरूको हातमा मेनु नपर्दै उहाँ सररररररर भटभट्याउन थाल्नुभयो। यही बीचमा कुरो बुझिएन, लाइट कम भयो भन्दा उहाँले माइकबाट लाइट बढाउन भनेको पनि धरहराले सुनेकै थियो। साना विद्यार्थीलाई झैं गरी हल्ला नगर्नु है भन्दै हुनुहुन्थ्यो। अन्त्यमा धन्यवाद पनि दिनुभयो विद्यार्थीलाई झैं गरी।

यति ठीकै हो तर उहाँलाई डा. बनाउने पनि शिक्षक नै थिए भन्ने हेक्का अलि नभएको हो कि धरहराले नपाएको हो कुरो बुझिएन। अझ त्यसमा पनि अधिकांश त प्रधानाध्यापक नै थिए। त्यसैले इज्जत लिनलाई गुरुवर्गको पनि सम्मान गर्ने कि ? जसरी मेयर सापले गर्नुभयो। आगे यहाँको मर्जी।

प्रतिक्रिया दिनुहोस्