भलिबललाई ४० लाखको प्रायोजन



काठमाडौं, (नेस)
नेपाल भलिबल संघ (एनभीए) र नेपाल स्याटेलाइट टेलिकमबीच आगामी दुई वर्षको लागि ४० लाख नगदको सम्झौता शुक्रबार भएको छ।
यो प्रायोजन नेपाली भलिबलमा अहिलेसम्मकै सबैभन्दा ठूलो रकम प्रायोजन समेत भएको छ। एनभीए र स्याटेलाइटबीच फागुनमा हुने भलिबल प्रतियोगितालाई वार्षिक २० लाखको दरले दुई वर्षको लागि ४० लाख दिने सम्झौता भएको हो।

सम्झौता पत्रमा एनभीएका अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपाल स्याटेलाइट टेलिकमका अध्यक्ष अस्मिता सुमार्गीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। उक्त रकम एनभिएले आयोजना गर्ने एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको लागि मात्र हुनेछ। च्याम्पियनसिप आउँदो फागुनमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ।

सम्झौतापछि स्याटेलाइटका अध्यक्ष अस्मिता सुमार्गीले नेपालको राष्ट्रिय खेल भलिबलको प्रतियोगितालाई मुख्य प्रायोजन गर्न पाउँदा खुशी लागेको बताईन्। नेपालको पुरुष भलिबल टिमले माल्दिभ्समा कांस्य पदक जितेको प्रसङ्ग जोड्दै अध्यक्ष सुमार्गीले अब कांस्यबाट स्वर्ण पदकमा ध्यान लगाउन आग्रह गरिन्। शुक्रबारै टेलिकमले एनभिएलाई १० लाख नगदको चेक हस्तानतरण समेत गरेको थियो। सम्झौतापछि एनभिएका अध्यक्ष शर्माले– ’नेपाली भलिबलमा ४० लाख प्रायोजन सहयोगको गुन हामी सुनले तिर्नेछौँ र सुन भनेको खेलाडी नै हो। अब खेलाडीले अन्तराष्ट्रीय प्रतियोगितामा स्वर्ण जितेर यो प्रमाणित गर्ने विश्वास हामीलाई छ।
एनभिएले चौथो महिला तथा पुरुष राष्ट्रिय क्बल लिग भलिबल च्याम्पियनसिप फागुन १३ देखि १९ गतेसम्म आयोजना गर्ने भएको छ। सो प्रतियोगितामा पुरुषतर्फ १२ तथा महिलातर्फ ९ टिमको सहभागिता हुनेछन्। यस च्याम्पियनसिपको उत्कृष्ट ८ पुरुष टिम तथा उत्कृष्ट ६ महिला टिम अर्को बैशाखमा हुने आरबीबी एनभिए नेशनल क्लब लिगमा छनोट हुने संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी गराए।

च्याम्पियनसिपको महिला र पुरुष दुवैतर्फको विजेताले नगद १ लाख ५० हजार हात पार्नेछन्। यस्तै दोस्रो हुनेले १ लाख तथा तेस्रो हुनेले ६० हजार प्राप्त गर्नेछन्। यसैगरी दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले १५–१५ हजार हात पार्नेछन् भने विधागत उत्कृष्ट हुने ब्लकर, लिफ्टर, स्पाइकर, लिबरो, सर्भर र कोचलाई समान पाँच–पाँच हजार प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्