कम्रेडलाई सुझाव



वर्षौैंसम्म पार्टीका लागि ‘योगदान’ गरेर पार्टीमा महत्त्वर्पूण जिम्मेवारी लिएकाहरू हच्किन नमान्दा एमाले माओवादीबीचको पार्टी एकता लम्बिएको प्रस्ट छ। राजनीतिमा थकाइ भन्ने शब्दावली हुन्न भनेर अरूलाई पाठ पढाउने नेताहरू कहाँ त्यसै हच्किन्छन् र?

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको शक्ति बाँडफाँड मिल्यो भने त कुरा सकिहाल्यो नि भन्नेहरू पनि धेरै छन्। एमाले र माओवादीका केही नेताहरू अहिले नै सेरेमोनियल पदमा नखुम्चिने बताउँदै आएका छन्। धेरै नेताहरूले यस्तो बताइरहँदा एमाले वरिष्ठ नेता झलनाथ खनाल भने केही पृथक् अभिव्यक्ति दिन थालेको धरहराले देख्न⁄सुन्न थाल्या छ।

पार्टीले सर्वसम्मतरूपमा सिफारिस गर्यो भने आफू राष्ट्रपति बन्न तयार रहेको उनले बताउन थालेका छन्। बुधबार एक रेडियोमा अन्तर्वार्ता दिँदै यस्तै बताएका खनालले बिहीबार झापा पुगेर उस्तै कुरा दोहोर्याए। बडो कूटनीतिक शैलीमा उनको एउटै तर्क दोहोरिने थालेको छ– ‘पार्टीले सर्वसम्मतरूपमा सिफारिस गर्यो भने राष्ट्रपति बन्न तयार छु। राष्ट्रपति बनाइदेऊ भनेर नमस्कार र बिन्ती गर्दैचाहिँ हिँड्दिनँ।’

धरहराले बुझ्या कुरोचाहिँ के भने कम्रेड जेएन पार्टी अध्यक्ष, प्रधानमन्त्री हुँदा र अस्तिको चुनावअघि तपाईंलाई नमस्ते गर्ने धेरै भए होलान्, तर अहिले नमस्ते गर्नेहरू ह्वात्तै घटेका छन्। त्यसैले पार्टीका वरिष्ठ कम्रेडहरूलाई जति बढी नमस्ते र अभिवादनको खबर पठाउनुहुन्छ त्यति नै तपाईंको पक्षमा माहोल बन्ने हो।

प्रतिक्रिया दिनुहोस्