आलोपालो होइन स्थिर सरकार बनाऊ



संविधान कार्यान्वयनका क्रममा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेको छ । प्रतिनिधिसभाको निर्वाचन परिणामले अब वाम गठबन्धनको सरकार बन्ने पनि निश्चित भइसकेको छ । साँच्चै भन्ने हो भने अब राज्य सञ्चालनमा एउटा प्रणाली बसिसकेको छ । तर अबको सरकारको नेतृत्व दुई वाम घटकका शक्तिशाली नेता केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोपालो गर्ने कुरा बाहिर आएकाले यदि त्यसो हो भने सरकार स्थिर नहुने सम्भावना बढेर गएको छ । जसले नेतृत्व लिए पनि विगतमा जस्तो आलोपालो गरेर राज्य सञ्चालन गर्नु मुलुकका लागि हित हुने देखिँदैन ।

मुलुकको समृद्धि र विकासका लागि स्थिर सरकार अपरिहार्य छ । अहिले सरकार बनाउने अवसर वाम गठबन्धनले पाएको छ । सरकारको नेतृत्व पनि पूरा कार्यकालभरि एउटैले लिन सक्ने अवस्था छ, खाली वाम गठबन्धनका प्रमुख नेताहरुमा इच्छाशक्ति हुनुपर्यो । नेतृत्वमा आलोपालो नगरी सरकार स्थिर भएमा मुलुकमा समृद्धि र विकासले फड्को मार्नेछ । सरकार परिवर्तन भइरहँदा मान्छे फेरिइरहने र योजना, नीतिनियम, विकासका तरिका र बाटाहरु पनि परिवर्तन भइरहने हुन्छ । यस अवस्थामा व्यक्तिगत, पार्टीगत एवं जश–अपजशका कुराहरुले प्राथमिकता पाउँछन् अनि मुलुकको विकास कसरी अगाडि बढ्न सक्छ ?

यतिखेरको अवस्थामा राजनीतिक अस्थिरताको अन्त्य भएको छ । साथै मुलुकमा विद्यमान संक्रमणकालीन अवस्थाको पनि अन्त्य भएको मान्न सकिन्छ । पछिल्लो राजनीतिक अवस्थालाई लिएर सकारात्मक टिप्पणीहरु भइरहेकाले जनतालाई पनि अब त केही होला कि भन्ने लाग्नु स्वाभाविक नै हो । यसले गर्दा जनता आशावादी भएका छन् । लामो समयदेखि निराशाजनक अवस्थामा पुगेका नागरिकलाई अबको सरकारले निराश बनाउनुहुँदैन ।

सरकार स्थिर भएमा यहाँ स्वदेशी उद्योग, कलकारखानामा लगानी गर्नका लागि रकमको खाँचो देखिँदैन । विश्वासिलो ठाउँमा लगानी गर्न नपाएर लगानीकर्ताहरु छटपटिएको देखिन्छ । बेलाबखत शेयर खरिदका लागि सूचना आह्वान गर्दा आवेदकहरुको घुइँचो लाग्ने र मागभन्दा सयौं गुणा आवेदन पर्ने गरेको यथार्थले पनि यस कुरालाई पुष्टि गरेको छ । अब बन्ने सरकारले यस कुरालाई हृदयङ्गम गर्नुपर्छ । अब बन्ने वाम गठबन्धनको सरकारले चुनावी परिणामलाई अवसरको रुपमा लिएर जलविद्युत्, कृषि उद्योग एवं अन्य उद्योगधन्दाहरु सञ्चालन गर्न सकेमा विकास, रोजगारी र समृद्धिका नारालाई वास्तविकतामा परिणत गर्न सकिन्छ । यसका लागि आलोपाले नगरी स्थिर सरकार अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्