अफ्रिकी मुलुकमा शल्यक्रिया खतरनाक



जोहान्नेसवर्ग, (एजेन्सी)
अफ्रिकामा शल्यक्रिया गराइसेपछि बिरामीको मृत्यु हुने सम्भावना विश्वका अन्य स्थानको तुलनामा दोब्बर हुने गरेको अनुसन्धानकर्ताले बताएका छन्। तिनीहरुले यसभन्दा पनि अझै अति थोरै संख्यामा मात्र अफ्रिकीहरुले शल्यक्रिया पाउने गरेको वास्तविकता निकै गम्भीर भएको बताएका छन्।

लान्सेट मेडिकल जोर्नलमा निकालिएको अध्ययन प्रतिवेदनमा मागको तुलनामा २० गुणा कम संख्यामा शल्यक्रिया हुने गरेको उल्लेख गरिएको छ। जनशक्तिको अभावको कारण यो समस्या देखिएको बताइएको छ।

बिरामीहरु कलिलै उमेरका र रोग त्यति खतरनाक नभए पनि विश्वव्यापि औसत तथ्यांकको तुलनामा अफ्रिकामा शल्यक्रियापछि बाँच्ने संख्या न्यून रहेको बुझिएको छ। साथै अफ्रिकामा सामान्य रोगी र जटिल समस्या नभएका अधिकांश बिरामीको शल्यक्रिया हुने गरेको बताइएको छ।

अफ्रिकाका २५ वटा मुलुकका २ सय ४७ वटा अस्पतालमा ३० जना अफ्रिकीले यो अनुसन्धान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्