आईएसआईलाई सर्वोच्च अदालतको नसिहत



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको सर्वोच्च अदालते गत वर्ष कट्टरपन्थी समूहको धर्ना प्रदर्शनमा देशको शक्तिशाली गुप्तचर एजेन्सी आईएसआईको भूमिकालाई लिएर असन्तुष्ट व्यक्त गरेको छ। अदालतले भनेको छ– ‘यो देशको सर्वोच्च एजेन्सी हो, यसलाई ठट्टाको विषय नबनाउनू।’ गत नोभेम्बर ६ मा तहरिक–ए–लब्बैक नामक संगठनका सयौं समर्थकले फैजावादमा धर्ना प्रदर्शन गरेका थिए। ३ हप्तासम्म शहर ठप्प भएपछि पाकिस्तानका कानुन मन्त्री जाहिद हामिद राजीनामा दिन बाध्य भएका थिए।

प्रदर्शनका कारण बढेको हिंसालाई ध्यानमा राखी सरकारले तहरीक ए लब्बेकका मागहरु मान्न बाध्य भएको थियो। फैजावाद धर्ना प्रदर्शनमा सार्वजनिक सरोकारलाई लिएर सुनवाइ गरिरहेका दुई न्यायाधीशको इजलासले आईएसआईसँग त्यस्ता प्रदर्शनमा भइरहेको गतिविधिमा निगरानी राख्ने कुनै सेल छ वा छैन भन्ने प्रश्न राखेका थिए। यदि छ भने प्रदर्शनकारी को थिए, उनीहरुको मुद्दा के थियो भन्ने विषयमा एजेन्सीका प्रतिनिधिहरुलाई थाहा हुनुपर्ने जिज्ञाशा राखेका थिए।

पाकिस्तानको ‘द एक्सप्रेस ट्रिब्युन’का अनुसार सर्वोच्च अदालतले आईएसआईलाई भनेको छ– ‘यो ठूलो एजेन्सी हो। देशलाई ठट्टाको विषय नबनाउनू।’ बेन्चले प्रदर्शनकारीहरुसँग पैसा कहाँबाट आए, उनीहरुको आम्दानी कति छ र आईएसआईको बजेट कति छ, भन्ने जस्ता प्रश्न पनि सोधेको थियो। सर्वोच्च अदालत कडारूपमा प्रस्तुत हुँदै यदि आईएसआईका प्रतिनिधिसँग जवाफ नभएमा सर्वोच्चले आईएसआईका प्रमुखलाई बोलाएर जवाफ माग्ने बताएका थिए।

आईएसआईले नागरिकका लागि केही नगरेको पनि बेन्चले बताए। बेन्चले पाकिस्तानको अस्तित्व सेनाको नभएर आम नागरिकको संघर्षका कारण रहेको बताए।

प्रतिक्रिया दिनुहोस्