थ्रीस्टार फुटबलमा फर्कदैं



फिरोज राजोपाध्याय, काठमाडौं । ललितपुरको थ्रीस्टार क्लबले पहिलो पटक फुटबल प्रतियोगितामा सहभागिता जनाउँदैछ । एक बर्ष अघिदेखि कुनै पनि प्रतियोगितामा भाग नलिएर बहिष्कार गर्दै आएको थ्रीस्टारले खप्तड कपमा सहभागिता जनाउन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सो क्लबलाई गत वर्ष एएफसी एसियन कपमा दोस्रो चरणमा खेलाउन असमर्थ भएको थियो ।
एन्फाको लापर्वाहीले गर्दा थ्रीस्टारले ठूलो मौका गुमाएको भन्दै क्लबले क्षतिपूर्तिको लागि ६ करोड रुपियाँको माँग गरियो । आल टाल गर्दै बल्ल एन्फाले क्षतिपूर्ति स्वरुप १ करोड ५० लाख थ्रीस्टारलाई उपलब्ध गराउने निर्णय भयो । ५० लाख प्राप्त गरेपछि नै थ्रीस्टारले खेलमा फर्कने निधो गरेको थियो । टोलीले एक वर्षभित्र जिल्ला भित्र र बाहिर भएका कुनै पनि प्रतियोगितामा सहभागिता जनाएको थिएन ।
बिहीबार थ्रीस्टारको टोलीलाई एक कार्यक्रमबीच विदाई पनि गरियो । धनगढीमा हुने खप्तड गोल्डकपमा थ्रीस्टारको पहिलो खेल झापा ११ सँग हुनेछ । यसपटक खेलाडी किन्ने क्रममा थ्रीस्टारले चर्चित खेलाडी विमल घर्तीमगर र अनन्त तामाङलाई क्लबमा भित्र्याएको छ । १२ टोली रहेको प्रतियोगितामा थ्रीस्टार समूह बी मा परेको छ ।
उक्त समूहमा थ्रीस्टार र झापासहित डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब, रुपन्देही ११, त्रिभुवन आर्मी क्लब र भुटानको डुक स्टारसँग छन् । थ्रीस्टारका लागि मनाङ र आर्मी कडा प्रतिद्वन्द्वी हुनेछ । त्यस्तै समूह ए मा आयोजकको सुदुरपश्चिम ११ स्पोर्टस् क्लब, च्यासल युथ क्लब, सहारा क्लब पोखरा, नेपाल एपीएफ क्लब, धरान फुटबल क्लब र संकटा क्लब रहेका छन् । ललितपुरको अर्को टोली च्यासलले पहिलो पटक ठूला प्रतियोगिता खेल्न लागेको छ ।
प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपियाँ पुरस्कार राशि प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगद राशि हासिल गर्नेछ । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्