जाडोको सतर्कता



पछिल्लो समय देशभर चिसो बढेको छ । चिसोले आमनागरिकको जनजीवन कठिन बन्दै गएको छ । चिसो बढेसँगै तराई क्षेत्रमा शीतलहरले जनजीवन प्रभावित बनाएको छ भने पहाडी क्षेत्रमा बाक्लो तुसारो परिरहेको छ । चिसोले विशेष गरी बालबालिका तथा वृद्धवृद्धाहरु प्रभावित भएका छन् । पहाडी क्षेत्रमा टहरामा बसिरहेका भूकम्पपीडतहरुलाई चिसोले अझ धेरै सताइरहेको छ । टहरामा बस्ने बालबालिका, वृद्धवृद्धाहरु चिसोको कारण दम, रुघाखोकी, निमोनियाजस्ता समस्याले च्याप्न थालेपछि स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको छ । त्यसैले चिसोबाट बच्न सतर्कता अपनाउन जरुरी छ ।

केही दिनदेखि जाडोले कठ्याङ्ग्रिएर मानिसको मृत्यु भएको खबरसमेत आउन थालेको छ । हरेक वर्ष निश्चित महिनामा अत्यधिक जाडो हुने तथा तराई क्षेत्रमा शीतलहरको प्रभावले जनजीवन प्रभावित हुने थाहा भए पनि जाडोबाट बच्नको लागि आवश्यक तयारी नगर्दा जनजीवन बढी प्रभावित हुने गरेको छ । कतिपय अवस्थामा भने जाडोबाट बच्न सामान्य सावधानी नअपनाउँदा पनि जनधनको क्षति पुगेको देखिन्छ । जस्तो कि, जाडोमा बालबालिका, वृद्धवृद्धाहरुलाई साँझ–बिहान चिसो बढेको बेला न्यानो कपडा लगाइदिने, तातो र ताजा खानेकुरा खान दिने, घाम लागेपछि मात्र हिँडडुल गराउने गरेमा मात्र पनि चिसोबाट धेरै हदसम्म बच्न सकिन्छ । चिसोमा आगो ताप्ने बेलामा समेत सचेतता नअपनाउँदा यो मौसममा आगलागीका घटनासमेत बढ्ने गरेको छ । चिसोको समयमा लाग्ने रोगहरु र त्यसबाट बच्चे उपायका बारेमा सचेतना फैलाएमा पनि यो मौसममा हुने स्वास्थ्य समस्याबाट धेरै जोगाउन सकिन्छ ।

चिसोका कारण किसानले लगाएको हिउँदे खेतीमा समेत नोक्सान भइरहेको छ । तुसारोले फलफूल तथा अन्य तरकारी खेतीमा असर परेको छ । चिसोको कारण बिहान सबरैदेखि साँझ अबेरसम्म कामकाजमा व्यस्त रहनेहरुको दैनिकी पनि प्रभावित भएको छ । चिसोकै कारण शहर बजारमा रहेका व्यापारिक केन्द्रहरुमा पनि साँझ–बिहान चहलपहल घटेको छ । चिसोको कारण स्थानीय हाटबजारहरुमा समेत चहलपहल घटेको छ । तुलनात्मकरुपमा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गहरु यो समयमा अझ बढी प्रभावित हुने गर्छन् । मौसमअनुसार चिसो बढ्नु स्वाभाविक भए पनि यसमा पूर्वसतर्कता अपनाउँदा चिसोको प्रभाव घट्न सक्छ । हिउँद लागेपछि पानी नपरेको लामो समय भयो । पानी परेपछि अझै केही दिन चिसो बढ्ने हुँदा सबैले आवश्यक सतर्कता अपनाउनुपर्छ । सम्बन्धित सरकारी निकाय र संघसंस्थाहरुले पनि नागरिकलाई चिसोबाट जोगाउने कार्यक्रम एवं योजना ल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्