उत्तर र दक्षिण कोरियाबीचको हटलाइन पुनः शुरू



सोल, (एजेन्सी)
उत्तर कोरियाले झण्डै २ वर्षपछि दक्षिण कोरियासँगको हट लाइन पुन खोलेको छ। यसअघि सर्वोच्च नेता किम जोङ उनको ठाडो आदेशमा सो हटलाइन बन्द गरिएको थियो। दक्षिण कोरियाले हट लाइन पुनः आरम्भ भएको पुष्टि गर्दै स्थानीय समयअनुसार बुधबार अपारान्ह ३ बजेर ३० मिनेट जाँदा उत्तरबाट एउटा कल आएको जनाएको छ।

यसअघि किम जोङले आफू सोलसँग वार्ताका लागि तयार रहेको र आगामी महिना दक्षिण कोरियामा हुने हिउँदे ओलम्पिक्समा आफ्नो टोली पठाउने जनाएका थिए। सन् २०१५ को डिसेम्बर यता उत्तर र दक्षिण कोरियाबीच उच्च स्तरीय वार्ता भएका छैनन्।

दक्षिण कोरियाली अधिकारीहरूका अनुसार त्यसबेला उत्तर कोरियाले दक्षिण कोरियाको कलको उत्तर दिन अस्वीकार गर्दै सञ्चार सम्पर्क बिच्छेद गरेको थियो।१ जना उत्तर कोरियाली अधिकारीले टेलिभिजनमार्फत एक विज्ञप्ति प्रशारण गर्दै हटलाई पुनः खोलिएको जानकारी दिएका छन्।

कोरियाली शान्तिपूर्ण पुनः एकीकरण समितिका अध्यक्ष री सोन ग्वोनका अनुसार उत्तर कोरियाली टोललाई दक्षिण कोरियामा हुने ओलम्पिक्समा पठाउने लक्ष्यसहित अन्य व्यवहारिक पक्षमा छलफल गर्न हटलाइन खोलिएको बताएका छन्। यसैबीच दक्षिण कोरियाका राष्ट्रपति मून जाय इनका प्रेस सचिवले सम्पर्क च्यानल पुनः शुरू हुनु निकै महत्त्वपूर्ण रहेको बताएका छन्।

यसैबीच स्पष्ट वक्ताका रूपमा चिनिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति टिव्ट गर्दै आफ्नो आणविक स्विच उत्तर कोरियाली नेता किमको भन्दा निकै ठूलो र शक्तिशाली भएको जनाएका छन्। हालै किमले आणविक स्विच सधैं आफ्नो डेस्कमा रहने गरेको बताएका थिए।

यसै गरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ सुआङले उत्तर र दक्षिण कोरियाले ओलम्पिक्सलाई आपसी सम्बन्ध सुधार्ने अवसरका रूपमा प्रयोग गर्नुपर्ने बताएका छन्। यसै गरी उत्तर कोरियाबाट दक्षिणतर्फ भागेका एक व्यक्तिले किम जोङ उनले उत्तर कोरियाली वैज्ञानिकहरूलाई उत्तरको सत्तरीऔं जन्म दिवस मनाउने क्रममा आगामी ९ सेप्टेम्बरको दिन प्रक्षेपण गर्नका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली अन्तर महादेसीय क्षेप्यास्त्र निर्माण गर्न आदेश दिएको जानकारी दिएका छन्।

नाम नखुलाइएका ती व्यक्तिका अनुसार डिसेम्बरको मध्यतिर उत्तरको राजधानी प्योङयाङमा वरिष्ठ सैनिक अधिकारी र वैज्ञानिकहरूसँगको २ दिने गोप्य बैठकको क्रममा किमले सो आदेश दिएका थिए। जापानी अखबार माइनिचीले ती भगौडा व्यक्ति स्वयम् उत्तरको क्षेप्यास्त्र कार्यक्रमसँग सम्बन्धित व्यक्ति हुनुपर्ने अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्