डेटिङ मात्रै जाँदैनन् युवायुवती, नयाँ पुस्ताको पुस्तकालय मोह



सन्तोष खनाल, काठमाडौं

काठमाडौं उपत्यकाको जुनसुकै पार्क धेरैजसो प्रेमीप्रेमिकाको डेटिङस्थलजस्तो बनेको हुन्छ। सायदै होलान् उपत्यकामा कयौं केटाकेटीको पे्रमलीला देख्न नपाइने उद्दानहरू। तर, प्रेमीले प्रेमिका र प्रेमिकाले प्रेमी खोजेर घुम्न जाने या डेटिङमै रमाउने क्रममात्रै देखिन्न आजभोलि यहाँ, यहाँ त डेटिङ जाने उमेरका केटाकेटी पुस्तकालय धाएर दिनैभरि किताब पढ्ने गरेको पनि पाइन्छ।

काठमाडौं उपत्यकाको सुन्धारास्थित नेपाल–भारत पुस्तकालयमा आउनेमध्ये सबैभन्दा धेरै यस्तै उमेरका युवा रहेको देखिन्छ। दैनिक पुस्तकालय आउने साढे ३ सयमध्ये अधिकांश युवा उमेर समूहका तन्नेरी रहेको पुस्तकालय स्रोत बताउँछ।

पुस्तकालयमा युवा वयश्क र विद्यार्थीवर्गको आकर्षण रहेको सो पुस्तकालयका अध्यक्ष महेशचन्द्र शर्मा बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘यहाँ तुलनात्मकरूपमा युवा विद्यार्थीको संख्या उल्लेख्य छ, हामीले फ्रि वाइफाईको व्यवस्था गरेपछि झन् आकर्षण बढेको हो।’

सोही पुस्तकालयका व्यवस्थापक मनोजकुमार पाण्डेय पनि पुस्तकालयमा विषयगत अध्ययनसँगै अनुसन्धान, इतिहास, सन्धि–सम्झौतासम्बन्धी अध्ययन गर्न आउने विद्यार्थी धेरै रहेको जानकारी दिँदै भन्नुहुन्छ– ‘यस्तो अध्ययन गर्नेमा पनि युवावर्ग नै बढी रहेका छन्।’

इतिहास विषय अध्ययन गरिरहनुभएका कञ्चनपुर भीमदत्त नगरपालिकाका सुरजकुमार भण्डारी नेपाल समाचारपत्र नेपाल–भारत पुस्तकालय पुग्दा अध्ययनमै व्यस्त हुनुहुन्थ्यो। ‘म प्रायःजसो विदाको समयमा यहाँ आउने गरेको छु। मलाई आवश्यक पुस्तक यहाँ नपाएको अहिलेसम्म कुनै छैन’, उहाँले भन्नुभयो– ‘हामीजस्ता विद्यार्थीका लागि यो पुस्तकालयले निकै सहयोग गरेको छ। इमेल इन्टरनेटमा उपलब्ध नभएका पूरा पुस्तक तथा रिफ्रेन्स बुक यहाँ पढ्नका लागि हामी साथीहरू मिलेर आउने गरेका छौं।’

भण्डारीमात्रै हैन उदयपुरकी सीता सुनार पनि दिनहुँजसो नेपालका सन्धि सम्झौतासम्बन्धी अध्ययन गर्न नेपाल–भारत पुस्तकालय जाने गरेको बताउनुहुन्छ। ‘यहाँ मैले गर्न लागेको थेसिसका लागि आवश्यक पुस्तक पाइन्छ भन्ने सुनेर आएकी हुँ। भनेजस्तै भएको छ’, उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘अब सक्रिय सदस्य भएर यहाँ आइरहन मन लागेको छ। आवश्यक परेको समयमा इन्टरनेटका लागि वाइफाईसमेत फ्रि छ।’

के हो नेपाल–भारत पुस्तकालय
राजा पृथ्वीनारायण शाहले काठमाडौंलाई राजधानी बनाएपछि पुस्तकालयको शुरुआत भएको बताइन्छ। विभिन्न स्थानमा छरिएर रहेका हस्तलिखित सामग्री संकलन गराई हनुमानढोका दरबारमा जैसीकोठा राखिएबाटै संस्थागतरूपमा पुस्तकालयको थालनी भएको जानकारहरू बताउँछन्।

यसलाई विधिवत्रूपमा राजा गिर्वाणयुद्धविक्रम शाहले वि.सं. १८६९ भदौ १५ गते ‘पुस्तक चिताइ तहविल’ स्थापनाका लागि जारी गरेको लालमोहरबाट सञ्चालित संस्थालाई नै नेपालमा पुस्तकालयको थालनीको रूपमा लिइएको छ। सरकारी पुस्तकालयको रूपमा काठमाडौंमा मात्र यो सीमित रहेको पाइन्छ। देशभर यस्ता पुस्तकालय विस्तार नगरिए पनि शुरुआती काम राणाहरूबाटै पुस्तकालय स्थापनामा पहल भएको पाइन्छ। त्यसपछि क्रमिकरूपमा पुस्तकालय स्थापनाको लहर चलेको पाइन्छ।

नेपालमा भारतीय दूतावासले स्थापना गरेको पुस्तकालय नै नेपाल–भारत पुस्तकालय हो। भारतीय पुस्तकालय भनेर चिनिन्थ्यो शुरूको समयमा यो पुस्तकालय। अध्ययन तथा अनुसन्धान केन्द्रको रूपमासमेत चिनिने नेपाल–भारत पुस्तकालयलाई नेपाल–भारत सांस्कृतिक केन्द्रको रूपमा पनि चिनिन्थ्यो।

भारतीय राजदूतावासले सन् १९५१ मा स्थापना गरेको यो पुस्तकालयलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय पुस्तकालयको रूपमा पनि चिनिन्छ। नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध र सूचना आदान–प्रदानमा सहयोग र सम्बन्ध मजबुत गर्नु नै यसको मूल उद्देश्य हो। ६ दशकसम्म उपत्यकाको केन्द्रमा रहेर यसले नेपालका सबै क्षेत्रका व्यक्ति तथा विद्वानहरूलाई समेटेको छ।

शुरूमा वसन्तपुरमा रहेको यो पुस्तकालय सन् १९७० देखि सुन्धारामा सरेको हो। उपत्यकामा मात्र नभएर नेपालभरि नै यो एक व्यस्त पुस्तकालयको रूपमा स्थापित भइसकेको छ। सन् १९८३ मा पुस्तकालयमा करिब ४६ हजार पुस्तक, ३ हजार सदस्य र प्रतिदिन सरदर ११ सय बढी पाठक आउने गरेको अवस्था रहेको थियो। पुस्तकालयमा अहिले करिब ७० हजार पुस्तक रहेको, २५ सय सक्रिय सदस्य भएको र दैनिक ३ सय ५० जना पाठक पुस्तकालय आउने गरेको पुस्तकालयका अध्यक्ष महेशचन्द्र शर्मा बताउनुहुन्छ।

सामान्यतः पुस्तकालय आइतबारदेखि शुक्रबारसम्म बिहान १० देखि अपराह्न ५ बजेसम्म खुल्दछ। सिक्ने संस्कृतिलाई बढवा दिने प्रचारमुखी कार्यले यसको आकर्षण बढेको अध्यक्ष शर्माको दाबी छ। भारतीय इतिहास, संस्कृति, साहित्य, दर्शन, जीवनी, भूगोल, राजनीति, अर्थतन्त्र, विज्ञान तथा प्रविधि, औषधि, इन्जिनियरिङ, आमसञ्चार, मनोरञ्जन, खेलकुद, सिनेमा, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिलगायतका थुप्रै पुस्तक यस पुस्तकालयमा पाइन्छ। नेपाल–भारत पुस्तकालयमा भारत र नेपालका कलाकार, लेखक तथा पेसाकर्मीमार्फत हरेक महिना पुस्तक वाचन, कन्भर्सेसन्स, पोएमान्डु, सिनेमान्डु, भोइसेजजस्ता विविध साहित्यिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गर्ने गरिएको मनोजकुमार पाण्डेय जानकारी दिनुहुन्छ।

३ हजार ४ सय ७४ वर्गफिटमा फैलिएको सो पुस्तकालयमा हाल फ्री वाइफाईको व्यवस्था छ भने ‘ई–ग्रन्थालय’ नामक स्वचालित पुस्तकालय सफ्टवेयरको पनि शुरुआत भइसकेको छ। ई–ग्रन्थालयका माध्यमबाट आन्तरिक क्रियाकलापको साथै प्रयोगकर्ता सेवासमेत स्वचालित गर्न सकिन्छ। यसको माध्यमबाट पुस्तकालय सूचकहरू प्रकाशनका लागि इन्टरनेटमा वेभ इन्टरफेस उपलब्ध हुन्छ।

अबदेखि सदस्य, प्रयोगकर्ता तथा आम पाठकले नेपाल–भारत पुस्तकालयमा रहेका पुस्तक प्रकाशक वा लेखकको नामबाट खोज्न सक्ने व्यवस्था गरिएको उहाँ बताउनुहुन्छ। उक्त पुस्तकालयले देशभरका विद्यालय तथा सामुदायिक पुस्तकालयलाई निःशुल्करूपमा पुस्तक सहयोग गर्दै आएको पाइन्छ। भारतीय राजदूतावासको सहयोगमा २० वर्ष पहिलेदेखि नै सामुदायिक संस्था क्लब, विद्यालय र सामुदायिक पुस्तकालयलाई आवश्यकताअनुसार वर्षमा करिब ३५⁄४० लाख रुपियाँ बराबरको पुस्तक निःशुल्क वितरण गरिएको पाण्डेयको भनाइ छ।

उहाँका अनुसार पुस्तक माग गरी हिमालदेखि तराईसम्मका विद्यालय तथा पुस्तकालयले निवेदन दिने गरेका छन्। यसपटक ६१ विद्यालयलाई पुस्तक वितरण गरिएको छ। वर्षको २ निःशुल्क पुस्तकका लागि निवेदन माग गर्ने गरिएको छ। पुस्तकालयमा नियमित अध्ययन गर्न आउने पाठकले पुस्तकालयको सदस्य बन्दा १ हजार धरौटी राख्नुपर्ने र १ सय रुपियाँ वार्षिक शुल्क, परिचयपत्रको प्रतिलिपीसहित २ वटा सानो साइजको फोटो दिनुपर्ने पुस्तकालयको नियम छ।

प्रतिक्रिया दिनुहोस्