‘लङ वेव रेडिएसन’ले ज्यादै चिसो



टीका बन्धन, काठमाडौं
साँझ परेपछि वायुमण्डललाई छेक्ने कुनै पनि किसिमको बादल विकास नभएर आकाश छ्यांग खुल्दा काठमाडौंसहित मुलुकभर एक्कासि चिसो बढेको छ। आकाश खुला भएर शीत र तुसारोको मात्रा बढेपछि चिसो ह्वात्तै बढेको हो।

बिहान–दिउँसो घाम लागेर जमिन ताते पनि साँझ परेपछि आकाशतर्फ फर्कने ‘लङ वेव रेडिएसन’ वायुमण्डलतर्फ जाने भएकाले एक्कासि चिसो महसुस गरिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो। ‘आकाश खुला नभएको अवस्थामा पृथ्वीमा रहेको तापक्रम कमै मात्र वायुमण्डलमा फर्किन्छ’, उहाँले प्रस्टइउँदै भन्नुभयो– ‘तर हिजोआज आकाश प्रस्टरूपमा खुला भएकाले साँझ परेपछि जमिनको तापक्रम सीधै वायुमण्डलमा फर्किने गरेको छ।’

लङ वेव रेडिएसन आवश्यकताभन्दा बढी वायुमण्डलतर्फ फर्किने गरेकाले सतह र सतहभन्दा माथिको भेगमा चिसोको मात्रा बढेको अर्यालले बताउनुभयो।

काठमाडौंसहित अन्यत्र बढिरहेको प्रदूषणको मात्रा वायुमण्डलमा पुगेर थुप्रिने गरे पनि अहिले वायुमण्डलमा त्यस्तो अवरोध कमजोर बनेको मौसमविद्हरू बताउँछन्। हिउँदेयाममा दोहोरिने स्थानीय वायुको प्रभावका कारण अहिले बढेको चिसोलाई स्वाभाविक रूपमा लिनुपर्ने उनीहरूको तर्क छ।

एक्कासि चिसो बढेपछि बुधबार बिहान काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ। उपत्यकाको यो तापक्रम यस वर्षको न्यून भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री मापन भएको थियो। गत पुस १ गते काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ८ मा झरेको थियो।

पश्चिमीवायुको प्रभाव भित्रिएको अवस्थामा काठमाडौंसहित मुलुकभरको तापक्रम अहिलेको अवस्थाभन्दा झनै खस्किने विज्ञहरू बताउँछन्। विगतको तथ्यांक नियाल्दा मध्य हिउँदमा उपत्यकाको तापक्रम शून्य डिग्रीका हाराहारीमा झर्ने गर्छ। अहिले काठमाडौंमा मात्रै होइन, मुलुकभर चिसोको मात्रा बढेको छ। हिमाली र उच्च पहाडी भेगको तापक्रम खस्किएको छ।

महाशाखाका अनुसार बुधबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ भने दिपायलको १ दशमलव ४, डडेल्धुराको २ दशमलव ५, वीरेन्द्रनगरको २ दशमलव ९ डिग्री मापन भएको छ। त्यसैगरी बुधवार सिमराको न्यूनतम तापक्रम ४, दाङको ४ दशलव ८, पोखराको ५, भैरहवा ५ दशमलव २, ओखलढुंगाको ५ दशमलव ५ डिग्री कायम भएको थियो।

शीतलहरका कारण मृत्यु
सप्तरी, (नेस)
शीतलहर र हुस्सुका कारण अत्यधिक चिसो बढेपछि कठइंग्रिएर दुई जना मजदुरको मृत्यु भएको छ। तीन दिनयता बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरका कारण चिसो बढेसँगै उनीहरूको मृत्यु भएको हो। दैनिक मजदुरी गरेर जीवनयापन गर्दै आएका छिन्नमस्ता गाउँपालिका वडा नम्बर–१ विरपुरका कुल्दीप राय र सोही वडाअन्तर्गत वरही टोलका रामदयाल रामको कठइंग्रिएर मृत्यु भएको हो।

आर्थिक रूपमा विपन्न गरेका रायको गत मंगलबार र रामको गत सोमबार मृत्यु भएको हो। जिल्लामा शीतलहर र हुस्सु बढेसँगै सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ। चिसाले विपन्न, गरिब तथा दलित समुदायको जनजीवन अत्यधिक कष्टकर बन्न पुगेको छ भने बालबालिका तथा वृद्धवृद्धाहरू प्रभावित भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्