पुलिसले नतिजा उल्टयायो



काठमाडौं, (नेस)
नेपाल पुलिस क्लबले जारी महिला राष्ट्रिय लिग फुटबल च्याम्पियनसिपमा सुदूरपश्चिमाञ्चलविरुद्ध एक गोलले पछि परेको स्थिति उल्टयाएर जित हात पारेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबारको खेलमा पुलिसले क्षेत्रीय टोली सुदूरपश्चिमाञ्चललाई २–१ ले हराएको हो। ५६औं मिनेटसम्म १–० ले पछि परेको विभागीय टोलीका लागि नीरु थापाले ५७औं मिनेटमा बराबरी गोल फर्काइन्। आठ मिनेटपछि निर्मला उपाध्यायले गोल गरेपछि टोलीको जित पक्का भएको थियो। यसअघि खेलको १६औं मिनेटमा चन्द्रा भण्डारीले गोल गरी सुदूरलाई अग्रता दिलाएकी थिइन्।

पुलिसका प्रशिक्षक सञ्जीव जोशीले विपक्षीको खेल राम्रो भएकोले खेलमा फर्कन मुस्किल भएको बताए। उनले भने– ‘पहिलो हाफमा प्रतिद्वन्द्वीको प्रदर्शन हाम्रोभन्दा राम्रो थियो। दोस्रो हाफमा हाम्रो टिमवर्क र तालमेलले गर्दा जित हासिल भयो। सुदूरपश्चिम टोली भनेको संस्था जस्तै हो। हामीलाई थाहा उनीहरू धेरै राम्रो खेलिरहेका छन्।’

उता सुदूरपश्चिमका मेनेजर डबलबहादुर थापाले हारे पनि खेलमा सन्तुष्ट भएको बताए। उनले भने– ‘खेलाडीको प्रदर्शनमा म खुसी नै छु। हामी सुपर लिग खेल्न योग्य पनि छौं।’

त्यस्तै हिजै भएको अर्को खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई ४–० गोलअन्तरले हरायो। यो मध्यमाञ्चलको प्रतियोगितामा पहिलो जितसमेत हो। टोलीको जितमा रश्मीकुमारी घिसिङले दुई गोलको योगदान दिएकी थिइन्। जसमा उनले छैठौं मिनेटमा टोलीलाई अग्रता दिलाइन् भने खेल सकिन ९ मिनेट छँदा अर्को गोल थपेकी थिइन्। कप्तान मेनुका नगरकोटीले ३२औं मिनेटमा पेनाल्टीमा गोल गर्दा सविता राना मगरले ६१औं मिनेटमा गोल गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्