मुलुकको समृद्धि र मान्छेको जीवन



मुलुकको समृद्धि र मान्छेको जीवन यी दुवै हेर्दा सहज तर व्यवहारमा निकै चुनौतीका विषय हुन्। समाज परिवर्तन र मान्छेको सोच परिवर्तन एक–आपसमा सम्बन्धित विषय बनिसकेका छन्। २१ औं शताब्दीको मानव र अहिलेको भौतिक विकास एक–आपसका परिपूरक र सम्बन्धित भइसकेका छन्। मुलुकको समृद्धि त्यति सजिलो हुँदैन, जीवनको जति गीत गाउन। सजिलो हुँदैन जीवनको गीत लेख्न। नगाएर पनि नहुने। नलेखेर पनि नहुने। सजिलो छैन जीवनको महिमा जोगाइराख्न।

हुन त आफ्नै जीवन हो। हुन त आफ्नै बारेमा हो। तर पनि मान्छेलाई सहज हुँदैन आफ्नो जीवनको बारेमा अरुलाई सुनाउन। आफ्नै जीवनको बारेमा अरुसँग चर्चा गर्न। न चासो दिएर आफ्नो बारेमा अरुले सुन्न चाहन्छ। न ध्यान दिएर अरुले आफ्नो जीवनको गीत सुन्न चाहन्छ। व्यथा धेरै। कथा धेरै। कतै खुशीका क्षण। कतै विरहका घडी। आफ्नो बारेमा अरुले चाख दिएर सुनिदेओस्। यस्तो चाहना सबैमा हुन्छ। आफूलाई राम्रो देखाउने र राम्रो भनाउने ध्येय सबैमा हुन्छ। आफूलाई सबैले मानिदिऊन्। यस्तो सोच सबैले आ–आफ्ना मनभित्र पालिरहेका हुन्छन्। सुख बाँड्न सकिन्छ। दुःख बाँड्न सकिन्न। मान्छेले दुःख–सुखको समयमा आफ्ना मनका भावना अरुसमक्ष राख्न चाहन्छ। मान्छे रोगी हुनुका धेरै कारणमध्ये मान्छेले मान्छेसँग आफ्ना मनका भावना बाँड्ने अवसरबाट वञ्चित हुनु नै हो। मान्छेलाई रुँदाको अवस्थामा पनि साथी चाहिन्छ। मान्छेलाई हाँस्दाको समयमा त साथी नभइहुँदैन।

आफ्ना पीडा, खुशी र विरह वेदनालाई मनभित्रै दबाएर राख्नुपर्ने अवस्था आएको खण्डमा मान्छे रोगी हुन्छ। मान्छे दुःखी हुन्छ र मान्छे हीनताबोधले पिल्सिँदै जान्छ। त्यस्तो परिवेशमा मान्छे उमेर नपुग्दै बूढो हुँदै जान्छ। मान्छे रोग नलागेर पनि थला पर्दै जान्छ र मान्छे समूहमा भएर पनि सबैबाट एक्लिँदै जान्छ। मान्छेका मनभित्र खिन्नता र दिक्दारीले बास माग्न थाले भने मान्छे बैंसमा पनि ख्याउटे र दुब्लो बन्दै जान्छ। रोगी र मरन्च्याँसे हुँदै जान्छ। यस्तो स्वभावको मान्छेले न आफूलाई बनाउँछ, न घरपरिवार बनाउँछ। त्यति मात्र होइन उसले गाउँ, छिमेक समाज र राष्ट्रको उत्थानमा सिन्कोसमेत भाँच्न सक्दैन। मान्छेले अरुका कुरा सुन्न सक्नुपर्छ। मान्छेले अरुका भावना बुझ्नुपर्छ। संसारको भौतिक विकास हुने मान्छेको जीवन छउन्जेल हो। यसर्थ यति एकले अर्कालाई सम्मान गर्न सिकौं। सहमति, असहमति जे हुन्छ सहज ढंगले राख्ने बानीको विकास गरौं। मान्छेले मान्छेलाई सिध्याएर प्राप्त गर्ने सत्ताको आयु कति हुन्छ, त्यो पनि हामीले देखेका छौं।

शत्रु जति सबैलाई सखाप पारेर स्थापना गरेको शासन व्यवस्थाको अवस्था कस्तो हुन्छ ? त्यो पनि हामीले भोगेका छौं। अन्याय गर्नेले सजाय र न्याय गर्नेले पुरस्कार पाउने शासन प्रणाली स्थापना भएपछि मात्र मान्छेको जीवन सहज हुन्छ। मान्छेको जीवनको महत्व बढ्दै जान्छ र मान्छेले आफ्ना मनका भावना व्यक्त गर्ने अवसर पाउँदै जान्छ। मान्छेले मान्छेलाई सम्मान गर्दै जाँदा मान्छेले गाउने मान्छेका जीवनका गीतहरु पनि सरल हुँदै जान्छन्। सहज हुँदै जान्छन् र मान्छेको जीवन झन्–झन् सुन्दर बन्दै जान्छ। मान्छेको जीवन सुन्दर बन्नु भनेकै मुलुकको समृद्धि हुँदै जानु हो।
– सुदर्शन पार्धे, रुकुम खलंगा,
हालः काठमाडौं

जीवनको लक्ष्य
मानिस जन्मेपछि मर्नुपर्ने त्यो अकाट्य छ। विज्ञानले प्रमाणित गरेको कुरा संसारका सबै वस्तु नाशवान् छन्। पहिलेका र पुराना वस्तु नाशिदै जाने र नयाँ–नयाँ वस्तुको सिर्जना हुँदै जाने यो वैज्ञानिक नियम हो। यसलाई माक्र्सवादले पनि प्रमाणित गरिसकेको छ। संसारमा कुनै पनि वस्तु स्थायी हुँदैन। सबै वस्तुको अन्त्य अनिवार्य छ। तर ती सबै नाश भएपछि अर्काे रुपमा अस्तित्वमा आउने गरेका छन्। उदाहरणका लागि काठ जलेर नाश हुन्छ तर त्यसको अर्काे रुप खरानी अस्तित्वमा आउँछ। खेतबारीमा राखेको मल गलेर जान्छ तर त्यसको सार तत्व बिरुवाले लिने गरेका हुन्छन्। एवं रीतले यो विश्वमा सबै भौतिक पदार्थको जीवनचक्र लाखौं वर्षपहिलेदेखि यसै गरी चलिरहेको छ।
एउटा पदार्थको नाश भएर त्यसको अर्काे रुप अस्तित्वमा आउने यही मान्यताका कारण कतिपय मान्छेले मरेपछि अर्काे जुनी फेरिएर जन्म लिन्छ भनेका होलान्। वास्तवमा मान्छे मरेपछि फेरि मान्छे भएर जन्मनु असम्भव कुरा हो। मान्छे मरिसकेपछि उसको शरीर नाश हुन्छ। त्यो शरीर जलिसकेपछिको अवस्थामा खरानी पो अस्तित्वमा आउँछ। मान्छे अस्तित्वमा आउने भन्ने कुरा हुँदैन। यो त मान्छेको कल्पनाको विषय मात्र हो।

जन्मेपछि म मर्छु भन्ने चिन्तन अरु प्राणीले गर्न सक्दैनन्। यस्तो चिन्तन गर्ने प्राणी मान्छे मात्रै हो। मान्छेको जीवनमा जन्म, विवाह र मृत्यु निश्चित भएर पनि अनिश्चित हुँदै आइरहेका छन्। गर्भावस्थाको समय पूरा भएपछि बच्चा जन्मन्छ। जन्मनुअघि त्यो जन्मने बच्चा यस्तै अनुहारको हुन्छ र यस्तै रुपरंगको हुन्छ भनेर पहिले नै भन्न सकिँदैन। यसै गरी कोसँग बिहे हुने र कुन दिन हुने भनेर अनुमान लगाउन सकिँदैन। मृत्युका बारेमा त झनै अनुमान लगाउन सकिँदैन।

मान्छेले जन्मदै आफूसँग मृत्यु लिएर आएको हुन्छ। तर कहिले, कुन दिन र कसरी मृत्यु हुन्छ ? उसलाई थाहा हुँदैन। मृत्युलाई साथमा लिएर बाँचिरहेको उसले सबैभन्दा बढ्ता माया जीवनसँग गरिरहेको हुन्छ। उसलाई मृत्युसँग कुनै भय हुँदैन। कुनै त्रास हुँदैन र कुनै शंका हुँदैन। तर त्यही मृत्युका बारेमा अरु कसैले सुनाइदियो भने त्यस बखत मान्छे सबैभन्दा बढ्ता डराउने गर्छ। सबैभन्दा धेरै तर्सिने गर्छ र सबैभन्दा बढी कहालिने गर्छ। जीवन आफूले भोगेर रमाउने। मृत्यु अरु कसैले भनेर तर्सने। यस्तो हुँदै आएको छ मान्छेको जीवनमा। कुनै मान्छे बिरामी भयो। उसको स्वाथ्य परीक्षण गरिसकेपछि डाक्टरलाई थाहा भयो– अब यो बिरामीलाई सन्चो हुँदैन भन्ने। डाक्टरले यो कुरा सीधै बिरामीलाई नसुनाएर बिरामीका आफन्त वा बिरामी कुरुवालाई सुनाउने गर्छन्।

यसको कारण के पनि हो भने, मान्छेले आफ्नो मृत्युको कुरो सुन्न चाहँदैन। जन्मेपछि मृत्यु स्वाभाविक छ। आफूले आफैंलाई नसम्झाई अर्काे उपाय छैन भनेर आफन्तको मृत्युमा शोकमग्न भएका परिवारजनलाई सम्झाउने त्यही मान्छे आफ्नो मृत्युको बारेमा सुनेपछि निकै अत्तालिने गर्छ। यसको अर्थ हो– मान्छेको जीवन नै सबै थोक हो र सर्वश्व हो। जीवन छँदै समाज र देशको हितमा उल्लेखनीय काम गर्नु हरेक मान्छेको दायित्व हो। यही नै मान्छेको जीवनको लक्ष्य हो।
– सरस्वती चलाउने, कपिलवस्तु
हालः नयाँ बानेश्वर, काठमाडौं

प्रतिक्रिया दिनुहोस्