कछुवा गतिमा तीन करिडोर



सुरेश तामाङ, काठमाडौं

राजधानी काठमाडौंमा बढ्दो जनसंख्याको चापलाई व्यवस्थापन गर्नका लागि निर्माण शुरू गरिएको ३ करिडोर कुछुवा गतिमा अगाडि बढेको छ। सरकारले द्रूत गतिमा निर्माण गर्ने भनेपछि स्थानीयको अवरोध, सरकार निकायको बेवास्था र ठेकेदारको ढिलासुस्तीका कारण करिडोर निर्माणको कामले गति लिन सकेको छैन। राजधानी काठमाडौंका साँघुरा सडकसँगै विभिन्न स्थानमा सडक विस्तारको कामले गर्दा ट्राफिक जाम अत्याधिक हुने गरेको छ। वैकल्पिक मार्गका रूपमा निर्माण शुरू गरिएको काठमाडौंको धोबी खोला, बागमती र विष्णुमती करिडोर निर्माणको काम अपेक्षाकृत रूपमा अगाडि बढन सकेको छैन।

सहरी विकास, सवारीको उच्च चापलगायतले गर्दा काठमाडौं उपत्यकाको यातायात सेवा नै अस्तव्यस्त बनेको छ। समयमा नै करिडोर निर्माण नहुँदा जामको चपेटाका कारण सर्वसाधारण हैरान हुँदै आएका छन्।
दैनिक घण्टौं जाममा बस्ने राजधानीबासीका लागि दैनिकी नै भइसकेको छ। करिडोर निर्माण कहिले सम्पन्न हुन्छ भन्ने ग्यारेन्टी अहिलेसम्म छैन। सरोकारवाला निकायले निर्माणमा ढिलासुस्ती हुनु स्थानीय अवरोध भएको बताएको छ। तर स्थानीयको अवरोध नभएको स्थानमा पनि कामले गति लिन सकेको छैन।

काठमाडौं उपत्यकाको यस्तो अवस्थालाई मध्यनजर गर्दै बढ्दो सवारी चापलाई व्यवस्थित गर्न विभिन्न समयमा गठित सरकारले ती कोरिडोरको परिकल्पना गरियो तर कार्यान्वयन पक्षमा फितलो देखिँदा यसको कामले कछुवाको गति लिइरहेको छ।

समयमै काम नसकिँदा यी कोरिडोरहरु सवारी बनाउने ग्यारेज, निर्माण सामग्री थुपार्ने थलो, फोहोरको डंगुर थुपार्ने डम्पिङ साइट बनेका छन्।३ वटै कोरिडोरमा यस्ता दृश्य देख्न सकिन्छ। यति मात्रै होइन, यस कोरिडोरमा खाल्डा खुल्डी, पानी जम्ने र धुलो उड्ने कारणले समेत कोरिडोर हुँदै यात्रा गर्न कठिन भएर पनि बाध्यताले यात्रा गर्नुपरिरहेको छ।

निर्माणाधीन कोरिडोरको कामको ढिलाइले गर्दा यसको असर प्रत्यक्ष रूपमा काठमाडौंका यातायात सेवालाई परेको छ। निर्माणाधीन धोबीखोला, वागमती, विष्णुमतीलगायत करिडोर सडक सञ्चालनमा ल्याउन सके काठमाडौंको ३० देखि ४० प्रतिशतसम्म सवारी जाम स्वतः हट्ने जानकारहरु बताउँछन्।

त्यस्तै गरी, शहरमा भएका खोला नदीको सदुपयोग गर्दै बैकल्पिक सडक बनाउने विदेशमा पनि सफल अभ्यास भएकाले यहाँ पनि सवारी व्यवस्थापनमा सफल हुने यातायात विज्ञ आशिष गजुरेलले बताउनुभयो।
‘अरु देशहरुमा पनि यसतै खोला नदीलाई व्यवस्थापन गरी शहरमा बढेको सवारी चापलाई व्यवस्थापन गर्न सफल भएको छ।,’ उहाँले भन्नुभयो –‘बैकल्पिक सडकको रूपमा विकास हुने भएकाले गर्दा यसले सहरी सवारी चापलाई व्यवस्थापन गर्न टेवा दिन्छ।’ तर विशेष प्राथमिकतामा राख्नुपर्ने यस्ता कोरिडोर ढिलासुस्तीका कारण झन् समस्या थपिएको उहाँको बुझाइ छ।

कपन भंगालपुलदेखि बागमती दोभान (खैरोपुल) सम्म ३ चरणमा धोबीखोलाको दुवै किनार गरी जम्मा २४ किमि सडकको ट्रइक खोल्ने, कालोपत्रे गर्ने, ढल बिछ्याउने, फुटपाथ बनाउने काम भइरहेको धोबीखोला कोरिडोर सुधार आयोजनाले गरिरहेको छ।

हालसम्म यस आयोजनाले ३५ करोड निकासी गरेर २० करोड खर्च गरिसकेको यस आयोजनाले दिएको जानकारीअनुसार हालसम्म समग्र आयोजनाकै कामको प्रगति ४५ प्रतिशत सकेको छ।

निर्माणको काम थालेको १५ वर्ष बितिसक्दासमेत धोबीखोला करिडोरको काममा सन्तोषजनक देखिँदैन। करिडोरमा सहज तरिकाले सवारी गुडाउन सकेको छैन।आयोजनाको सबैजसो काम धिमा गतिमा अघि बढिरहेको छ।
समयमै बजेटको अभाव, स्थानीयको अवरोध, अन्तर निकायबीच समन्वयको अभाव, मुआब्जामा समस्या, सुकुम्बासी बस्ती समस्यालगायतले गर्दा यस कोरिडोरको निर्माणमा ढिलाइ भएको धोबीखोला कोरिडोर सुधार आयोजनाका प्रमुख दीपक श्रेष्ठले बताउनुभयो।

विसं.२०५९ देखि नै धोबीखोलाको निर्माण कार्य थालिएको थियो। तर बल्ल आर्थिक वर्ष २०६७⁄०६८ देखि मात्रै निर्माणको कामले केही गति लिन थाल्यो। काम उही कछुवा कै गतिमा हिँडिरह्यो।

विष्णुमती नदी किनारको सडकखण्ड कोरिडोरका रूपमा विकास भए पनि हालसम्म कुन निकायले बनाउने भन्नेमा अन्योल नै छ। जसको प्रत्यक्ष असर स्थानीयसहित पूरै यातायात सेवालाई परेको छ।

कोरिडोर बन्न अन्यौल थपिँदा विष्णुमती कोरिडोरको सडक किनार फोहोर डंगुर थुपार्ने साइट बनेको छ।निर्माण सामग्री एत्रतत्र राखिएको छ, ढल फुटेर सडकमै एत्रतत्र फैलिएको पानीले गर्दा सवारी साधन आवागमनमा समेत समस्या थपिएको छ।

समयमै काम नसकिँदा यी कोरिडोरहरु सवारी बनाउने ग्यारेज, निर्माण सामग्री थुपार्ने थलो, फोहोरको डंगुर थुपार्ने डम्पिङ साइट बनेका छन्।३ वटै कोरिडोरमा यस्ता दृश्य देख्न सकिन्छ। यति मात्रै होइन, यस कोरिडोरमा खाल्डा खुल्डी, पानी जम्ने र धुलो उड्ने कारणले समेत कोरिडोर हुँदै यात्रा गर्न कठिन भएर पनि बाध्यताले यात्रा गर्नुपरिरहेको छ।

खोलाको किनारैकिनार टेकु पुलदेखि– शोभा भगवती मन्दिर जाने बाटोको अवस्था यस्तै छ। बाटोको अवस्थाका बारेमा वयान गर्नु साध्य छैन।३ वर्षदेखि यहाँका बासिन्दाले यस्तै समस्या भोगिरहेका छन्।

खोला किनारको सडकमा कतै हिलाम्मे छ भने कतै धुलाम्मे। कतै ढल फुटेर सडकमै पानी वालछ्याल भएको छ।कालोपत्रे पुरै उक्किएर खाल्डाखुल्डी बनेको देख्न सकिन्छ।

१ वर्षअघिसम्म यो सडक एसियाली विकास बैंक (एडीबी)को सहयोगमा काठमाडौं उपत्यका दिगो शहरी यातायात आयोजनाले हेरिरहेको थियो। तर विष्णुमती नदीको संरक्षण गरिरहेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले आफ्नो क्षेत्रधिकारभित्रको सडक भएकाले छोड्न आयोजनालाई सो सडक छोड्न पटक–पटक पत्रचार गरेपछि सडक छोड्दै योजना हटाउन लगाएको आयोजना प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो।

समितिले बाग्मती दोभानदेखि महादेवखोला दोभानसम्म ६ किमिको भाग विष्णुमती खोलालाई संरक्षण र ढलमुक्त पार्न काम गरिरहेको जनाएको छ। १ अर्ब लागतको अनुमान गरिएको यस खोलाको संरक्षण र ढल व्यवस्थापनका लागि हालसम्म समितिले ५७ करोड खर्च गरिसकेको छ।
नदी छेउमा सडक निर्माण गर्ने र हरियाली कायम राख्ने उद्देश्ये समितिले लिएको छ।तर यस सडकखण्ड निर्माण गर्ने जिम्मा समितिको नरहेको समितिले नै जनाएको छ। समितिको मुख्य उद्देश्य नदीको ढल व्यवस्थापन र संरक्षण भएको समितिका अधिकारीहरुको धारणा छ।

आव २०७४⁄०७५ भित्र सम्पन्न गर्ने लक्ष्य लिएर आव २०७१⁄०७२ का ९ महिनापछि मात्रै खोलामा समितिले काम थालेको हो। लक्ष्य सकिनै लाग्दा पनि यस खोलामा लक्ष्यअनुसारको काम हुन सकेको छैन। हालसम्म जम्मा ५० प्रतिशत काम खोलाको समग्रमा काम सम्पन्न भएको समितिले जनाएको छ।

खोलाको संरक्षण र ढल व्यवस्थापन गर्ने भनेर ३ वर्षदेखि काम गरे पनि खोलामा ढलको समेत अझै व्यवस्थापन हुन सकेको छैन। यस खोला आसपासका बस्तीबाट खोलामा सिधै ढल मिसाउने क्रम पनि रोकिएको छैन।

त्यसैगरी, कोरिडोरमध्ये सबैभन्दा लामो कोरिडोरका रूपमा बागमती कोरिडोरलाई लिइन्छ। गोकर्णेश्वर मन्दिरदेखि बल्खुसम्म साढे १७ किमि सडक यस कोरिडोरअन्तर्गत निर्माण हुँदै छ।

समितिले हालसम्म साढे ३ किमि सडकखण्ड निर्माण भएको जनाएको छ। समितिले गोकर्णेश्वर–गुहेश्वरी, तिलगंगा– सिनामंगल, सिनामंगल–मीनभवन, शंखमुल–थापाथली, थापाथली– बल्खु खण्ड गरी सडक निर्माणको काम भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्