विश्वकप स्मरणीय बनाउने लक्ष्य



नेपाल समाचारपत्र
काठमाडौं
पहिलोपटक नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी जनाउने नेपाली टोलीले प्रतियोगिता स्मरणीय बनाउने लक्ष्य लिएको छ।

यसअघि चार संस्करणमा सहभागी नभएको नेपालले टी–२० को विश्वकपमा भने अनुभव बटुलिसकेको थियो। तर, त्यो प्रतियोगितामा नकआउट चरणमा पुग्न पनि सकेको छैन। यही जनवरी ७ देखि २१ तारिखसम्म पाकिस्तान र दुबईमा संयुक्तरूपमा आयोजना हुँदै छ।

नेपालले यसअघिका चार विश्वकपमा आर्थिक अभावका कारण खेल्न नसकेको नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरले बताए। उनका अनुसार अहिलेका लागि तयारी राम्रो भएकाले पनि सहभागी भएको उनले बताए। उनले भने– ‘हामीले ५ महिना यही विश्वकपका लागि तयारी गरेका छौं। सीमित स्रोत साधनमा हाम्रो सहभागिता हुनुमात्र पनि ठूलो सफलता भन्न बाध्य छौं।

यसपटकको विश्वकपमा भारतले समेत पाकिस्तानको भ्रमण गर्नेछ। ६ टोलीको प्रतिस्पर्धा हुने प्रतियोगितामा नेपालले २ खेल जित्न सके पनि सेमिफाइनल यात्राका लागि पर्याप्त रहने नेपाली टिमका प्रशिक्षक रिजन प्रजु र कप्तान कृतन श्रेष्ठ दुवालले आश राखेका छन्।

नेपालले पहिलो खेल ८ जनवरीमा बंगलादेश, जनवरी ९ मा भारत, जनवरी १० मा पाकिस्तानसँग खेल्नेछ। यस्तै नेपालले १३ जनवरीमा अस्ट्रेलिया र १५ जनवरीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्