मैले पनि मरणोपरान्त मेरो शरीरको सबै अंग दान गरिसकेंः हरिवंश आचार्य “आँखा दान महादान”



भगवती तिमल्सिना
‘आँखा दान भनेको महादान हो।’ आँखाको नानी प्राप्त गरी उज्यालो संसारमा प्रवेश गर्नुभएका स्याङ्जा सेती दोभानका युवा सविन बोगटी भन्नुहुन्छ– ‘आँखा के हो र आँखाको महत्त्व कस्तो हुन्छ भन्नेकुरा दुवै आँखा राम्ररी देख्न सक्ने मान्छेले कल्पनासम्म गर्न नसक्ला तर मेरो जीवनमा आँखाको महत्त्व वर्णन नै गर्न नसक्ने छ। २०५८ सालमा पहिलोपटक मेरा दाहिने आँखाको नानी प्रत्यारोपण गरिएको थियो त्यसपश्चात् मैले एउटा सुनौलो अवसर प्राप्त गर्न सफल भएको थिए। त्यतिञ्जेलसम्म म एउटा अन्धकारको जीवन बिताइरहेको थिएँ। अन्धकारको जीवन भनेको कस्तो हुँदोरहेछ र सुनौलो जीवन भनेको कस्तो हुँदोरहेछ केवल मैले तिलगंगा आँखा प्रतिष्ठानको सहयोगपछि मात्र थाहा पाउन सकें।’

बोगटीको अनुभवमा आँखा दान भनेको एउटा महादान हो। उहाँ भन्नुहुन्छ– ‘मलाई आँखा दान गरेर ठूलो भार बोकाउनुभएको छ उहाँहरूप्रति म हृदयदेखि नै भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना गर्दछु। मजस्तै हजारौं व्यक्ति आँखाको ज्योतिबाट वञ्चित हुनुभएको छ। उहाँहरूका लागि पनि हामीले आफ्नो आँखाको नानी दान गरेर महान् कार्यमा सहयोग गर्नुपर्दछ। जब मैले आँखाको नानी प्राप्त गरें तबमात्र पढ्न सफल भएको छु। अहिले म कक्षा १२ पास भएर ब्याचलर भर्ना भएको छु। यो तिलगंगा आँखा प्रतिष्ठानको देन हो। यही प्रतिष्ठान र यहाँका चिकित्सक, स्वास्थ्यकर्मीहरूले गर्दा आज म तपाईंहरूका सामुन्ने तपाईंहरूलाई देख्न सक्ने भएको छु। तपाईंहरूको सामु आफ्नो भावनाहरू व्यक्त गर्न सक्ने भएको छु।

त्यसैले म तिलगंगा आँखा प्रतिष्ठानप्रति हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु।’ आँखा दान महादान हो हामी पनि आफ्नो मृत्युपछि खेर जाने आँखालाई जलाएर नष्ट गरेर फ्याक्नुभन्दा दान गरेर अरू व्यक्तिको नयाँ जीवन र नयाँ भविष्य निर्माण गर्न सहयोग गर्नुपर्दछ। २१औं शताब्दिमा पुगेर पनि अन्धविश्वासको पछाडि लागेर या धार्मिक विषय देखाएर हामी अन्धविश्वासको पछि दगुर्नुहुँदैन। आजको युगमा आएर आँखा दान गरौं र आँखा नदेखेर पीडादायी जीवन जिउन बाध्य भएका व्यक्तिलाई नयाँ जीवन दिने प्रण गरौं। तपाईंले दिएको दानकै कारण आँखा देख्न नसकेका धेरै मानिसले आज संसार देख्न पाएका छन्। त्यसैले हामी पनि असल र सक्षम नागरिक हुनका लागि मृत्युपछि खेर जाने आँखालगायत अन्य अंगको दान गरेर महान् कार्यमा सहयोग गरौं।

कृष्णा ताम्राकारको सुरिलो मीठो स्वरमा सुनाइएको कविता– ‘दानको महिमा हातको शोभा’ गहनालेभन्दा दानले हातको शोभा बढाउँदछ। लिने हातलेभन्दा दिने हातले खुसी बोलाउँदछ। दिँदा हातबाट छुट्छ तर त्यो अक्षयी भएर रहन्छ, ‘अक्षयम्ते भविष्यति’, दिने मन भएको मानिसको शरीर नै ईश्वरको मन्दिर मानिन्छ।

त्रिवि शिक्षण अस्पतालमा १६ महिना पहिला आफ्नो १९ वर्षको छोराको ब्रेन हेमरेजका कारण २०७३ भदौ २५ गते गुमाउनुपरेको पुत्रशोकमा विह्वल हुनुभएकी आमा नेकपा एमालेकी केन्द्रीय सदस्य मनकुमारी जीसी केसी भन्नुहुन्छ– ‘आज पनि म त्यो घटनालाई मृत्यु भन्न सकिरहेकी छैन। किनकि मृत्यु त उसको हुन्छ, जसले आफ्ना केही कुरा पनि छोड्दैन। मृत्यु त उसको हुन्छ जसले आफ्नो जन्मले सबैलाई दुःख र कष्ट दिन्छ। मृत्यु त उसको हुन्छ जसले आफू जीवित हुँदाहुँदै पनि अरूका लागि केही काम गर्न सक्दैन। मेरो १९ वर्षको छोराले हामीलाई धेरै दिएको थियो। मेरो छोराले दिएको आँखाको नानीले यो देश देख्न सकोस्, संसार देख्न सकोस्। यहाँ वरिपरि चारैतिर देखिएका युवाहरूको अनुहारमा मेरो छोराको मुख देखिरहेकी छु।’ हामी सबैले यो समाजमा केही न केही दान गरेर सेवा गर्न सकौं। बाँकी रहेको जीवन र समयलाई सदुपयोग गरी अमरत्व प्राप्त गर्न सकौं। मेरो बाबुको आँखाको नानीले मलाई हेरिरहेको छ, तपाईं हामी सबैका आँखाले यसरी नै हेरिरहन सकुन् भन्दै भाव विह्वल भई आँखा तथा शरीर दानका लागि उहाँले जोड दिनुभयो।

आँखा दान महादान भन्ने उक्तिसँगै दृष्टिविहीनहरूलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रमअन्तर्गत नेपाल आँखा बैंकले हरेक वर्ष मरणोपरान्त आँखाको नानी दान गरी अमरत्व प्राप्त गर्नुहुने श्रद्धेय महानुभावहरूको सम्झना र सम्मानमा उहाँहरूका परिवारको उपस्थितिमा श्रद्धा सुमन अर्पण गर्न सामूहिक श्रद्धाञ्जलीसभाको आयोजना गर्दै आएको छ। यही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि यही पुस १५ गते अर्थात् डिसेम्बर ३० तारिखका दिन कार्यक्रमको आयोजना गरेको थियो।

जन्मजात फुलो परी वा आँखामा चोट लागेर समयमै उपचार नपाउँदा, अशिक्षा र अज्ञानताको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ। नेपालमा दृष्टिविहीन हुनुको दोस्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर हो। जसको एकमात्र उपचार आँखाको नानी प्रत्यारोपणबाट पुनः दृष्टि दिलाउनु नै हो। नेपालमा आँखाको नानीका कारण दृष्टिविहीन भएका थुप्रै व्यक्ति छन् जो फेरि यो संसार नियाल्ने पर्खाइमा छन्। त्यस्ता व्यक्तिका लागि तपाईं हामीले मृत्युपश्चात् आँखा दान गरिदिने हो भने दुईभन्दा बढी दृष्टिविहीनले यो संसार देख्न पाउँछन्।

सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैंकको स्थापना भएपछि नेपालमा पनि यो सेवा सहज भएको हो। आँखा बैंकले मृत्युपश्चात् आँखाको नानी दान गर्ने दाताहरूबाट नानी संकलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने गर्दछ। शुरुआतको अवस्थामा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाउँमा गएर आँखा दानसम्बन्धी मानिसमा जनचेतना जगाई यससम्बन्धी बुझाइन्थ्यो भने अहिले यीसँगै आर्यघाट विद्युतीय शवदाह गृहलगायत काठमाडौंमा रहेका ३ वटा ठूला अस्पताल वीर अस्पताल, त्रिविशिक्षण अस्पताल र पाटन अस्पतालमा आँखा बैंकबाट खटाइएका परामर्शदाताहरूले परामर्श तथा जानकारी दिने काम पनि गरिन्छ, जसको माध्यमबाट आँखा दान गर्नेको संख्या बढ्दो क्रममा छ।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ भन्नुहुन्छ– ‘धेरैभन्दा धेरै मानिसलाई मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई धन्यवाद दिन, आँखाको नानी पाएका व्यक्तिहरूको अनुभव आदान–प्रदान गर्न र दिवंगत आत्माको चिरशान्तिका लागि सामूहिक श्रद्धाञ्जली अर्पण गर्नु यस सभाको मुख्य उद्देश्य हो। अहिले धेरै मानिसको आँखा दानप्रति सकारात्मक सोचको कारणले गर्दा आँखाको नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुँदै छ। नेपालभरि आँखा बैंकको सेवा दिने लक्ष्य राखेका छौं।’

नेपाल आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायना भन्नुहुन्छ– ‘मानिसको मृत्युपश्चात् जसरी धार्मिक रीति–रिवाजअनुसार संस्कार गरिन्छ त्यसरी नै आँखादानलाई पनि संस्कारको रूपमा स्थापित गर्न सके दृष्टिविहीनलाई पुनः दृष्टि प्रदान गर्न अझ प्रभावकारी सावित हुनसक्छ।’ आँखा बैंकमा आँखाको नानी शुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने हाल आँखाको नानी देशभित्रबाटै संकलन गरी स्वदेशका अन्य अस्पतालमा समेत प्रत्यारोपण सुविधा उपल्ब्ध गराएको छ।

अभियानमा शुरुआतदेखि लायन्स क्लब अफ पशुपतिनाथ, नेपाल आँखा दान समाज र अन्य सम्बन्धित सम्पूर्ण क्षेत्रलगायत सञ्चारमाध्यमले दिनुभएको साथ र गर्नुभएको सहयोगका लागि यस प्रतिष्ठान धन्यवाद व्यक्त गर्दछ। आँखा दानजस्तो मानवीय कार्यका लागि सबैलाई उत्प्रेरणा जगाई आत्मा शान्तिको कामना गरौं।

आँखा दान तथा अंग दानका लागि हरिवंशद्वारा आह्वान

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले तिलगंगा आँखा प्रतिष्ठानले आयोजना गरेको आँखाको नानी दाताहरूको सम्झनामा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै दबेको श्वरमा भन्नुभयो– ‘हृदयदेखि सम्मान गर्नुपर्ने व्यक्तित्वहरूमा आजको दिन समपूर्ण गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको छु। आज यो संवेदनशील समारोह हो यहाँहरूका पनि आँखा रसाइरहेको होला, मनमा चस्का पसिरहेको होला, आफन्तलाई समझेर तपाईंहरूको मन कुँडिरहेको होला। म पनि त्यस्तै अवस्थामा छु, मैले पनि केही समयअघि मेरो दिवंगत श्रीमती मीरा आचार्यको आँखा दान गर्ने अवसर पाएँ। त्यसबाट दुई जना दृष्टिविहीन स–साना नानीले आँखा प्रत्यारोपण गरे भनेर सुन्दा मलाई मेरो श्रीमती जीवित छजस्तो लाग्छ।’ उहाँले यसो भनिरहँदा उहाँका आँखा टिलपिलाइरहेका थिए र स्वर काँपिरहेको थियो। सभामा उपस्थित अधिकांशको आँखा रसाएका थिए।

मान्छेको शरीर हो एक दिन बिसाएर जानुपर्दछ, कसैले पनि यो शरीरलाई लिएर जान पाउँदैन तर यो बल्ल–बल्ल मानव भएर जन्मन पाउने सुअवसरलाई हामीले मरेपछि पनि सदुपयोग गर्न सक्नुपर्छ। अहिलेको युगमा मानव शरीरको कुनै पनि अंग खेर फाल्नुपर्दैन। नेपालमा अंग प्रत्यारोपणको कानुन पनि बनिसकेको छ।

हामीले मरणोपरान्त जलेर, गाडेर जाने शरीरका अंगहरू अरूलाई काम लाग्छ। त्यो दान गरेर पुण्य अभियानमा सहभागी बन्नुपर्दछ। मरणोपरान्त मैले पनि मेरो शरीरको सबै अंगहरू दान गरिसकेको छु। आँखाजस्तै छाला पनि दान गर्न र पोलेर शरीर जलेको भागमा प्रत्यारोपण गर्न मिल्छ। मानिसले साँचिकै दान गर्ने भनेको आफूसँग भएको खेर जाने कुरालाई दान गर्नु हो। मृत्युपछिको अन्धविश्वासको पछि नलागौं सबैभन्दा विश्वासिलो भनेको अंग दान हो यो हामी सबैले गर्न सक्छौं र यो सबैभन्दा ठूलो पुण्य दान हो भन्ने कुरा हामीले रुढीवादी समाजलाई सिकाउनुपर्दछ।

अझ पनि हाम्रो समाजमा मरिसकेपछि अंगदान गर्नुहुन्न भन्ने परम्परा केही व्यक्तिहरूमा बाँचिरहेको छ। यसलाई चिर्दै यो सही काम हो र अरूको जीवन बचाउन काम लाग्छ भनेर हामीले गरेर देखाउनुपर्दछ। तिलगंगा आँखा प्रतिष्ठान नेपालको गौरवमय प्रतिष्ठान बन्न पुगेको छ। हामीले देशमा नकारात्मक कुराहरू देखेर निराशमात्र हुने नभइ संसार देखाउने र चिनाउने तिलगंगा आँखा प्रतिष्ठानले कमाएको जुन ख्याति छ त्यसलाई पनि हाम्रो देशले गरेको गौरवको रूपमा सम्झनुपर्दछ।
आँखा दानका अभियन्ता प्राडा सन्दुक रुइत नेपालको मात्र हैन अब उहाँ विश्वको सम्पत्ति भइसक्नुभएको छ। नेपालले यस्ता व्यक्तित्वका कारण इज्जत पाएको छ र उहाँहरूले देशलाई ठूलो गुन लगाउनुभएको छ। उहाँहरूको अभियानमा हामी पनि जुटेर केही गर्न सक्यौं भने हाम्रो जीवन पनि केही सार्थक हुन्छ। आजैदेखि हामी सबै जुटौं। हाम्रो खेर जाने अंग दान गरेर अंग प्रत्यारोपण कार्यक्रममा सहभागी हौं भन्दै सबैलाई आचार्यले आह्वान गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्