दोष चाहिँ उनैलाई ?



भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधीसभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेको काँग्रेसको आलोचना अझै सेलाएको छैन। चुनावमा हार व्यहोर्नुपर्ने कारणको समिक्षा गर्न विशेष महाधिवेशन बोलाउनुपर्ने सोही पार्टीका नेता कार्यकर्ताले बताउने गरेका छन्। शनिवारको एक सार्वजनिक कार्यक्रममा पार्टीका युवा नेताले यस्तै कुरामा जोड दिएर वर्तमान पाका नेताहरू अभिभावकको भूमिकामा रहनुपर्ने अडान लिए।

युवा नेताले त्यस्तो बताएको २४ घन्टापनि वित्न नपाउँदै आइतवार पार्टी सभापति देउवाले त्यस्तो कुराको सिधै प्रतिकार गरेको धरहराले देख्यो। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै देउवाले चुनावमा पराजित हुने उम्मेदवारहरूलाई जथाभावी नबोल्न चेतावनी दिए। उनले भने–‘चुनाव आफैं हार्ने अनि मलाई हरायो भन्ने ?’ धरहरालाई पनि उनको यो प्रश्न गज्जव लाग्यो।

देउवा पार्टी वर्तमान पार्टी सभापति हुन् र प्रधानमन्त्री पनि। तर सभापति र प्रधानमन्त्री हुँदैमा हरेक उम्मेदवारलाई विजयी गराउने जिम्मेवारी त उनले लिएका पनि हैनन् नि, कि कसो पाठकवृन्द ? आफ्नै श्रीमति आरजुलाई त विजयी बनाउन नसक्ने उनले सबैको ठेका लिन संभव होला त, लौ विचार गरौ त ? चुनावी टिकट पनि चाहिने, चुनाव नजित्ने, अनि पराजयको दोष चाहिँ पार्टी र नेतालाई सुम्पिने, हैन त देउवा ज्यू ?

प्रतिक्रिया दिनुहोस्