कर्णालीमा पाठ्यपुस्तकको अभाव हुन नदेऊ



विगत वर्षहरूमा जस्तै यस वर्ष पनि कर्णाली अञ्चलमा पाठ्यपुस्तकको अभाव हुने संकेत देखा परेको छ । यो रोग अहिलेको मात्र होइन, वर्षौंदेखिको हो । तर राज्य सञ्चालकहरूको ध्यान कहिल्यै यसतर्फ पुग्न सकेको छैन । हरेक वर्ष कर्णालीमा पुस्तक समयमा पुग्न नसकेको समाचारले प्राथमिकता पाउने गरेको छ । हरेक वर्ष कर्णालीमा पुस्तक पठाउने अभिभारा पाएको पाठ्यक्रम विकास केन्द्रका पदाधिकारीहरूको अदूरदर्शिताको कारण कर्णालीका छात्रछात्राले समयमा पाठ्यपुस्तक पाउनबाट वञ्चित रहँदै आएका छन् । भौगोलिकरूपमा पनि पिछडिएको र उत्पादनको हिसाबले पनि सबैभन्दा पछाडि रहेको कर्णालीलाई राज्यले पनि हरेक हिसाबले ठगी गर्दै आएको छ । वर्ष दिनभर खान पनि राज्यको मुख ताक्नुपर्ने अवस्थामा रहेका कर्णालीका जनतामाथि राज्यले गरेको यस्तो खाले विभेदले त्यहाँ विद्रोह नजन्माउला भन्न सकिँदैन ।

राज्यले कर्णालीका जनताको नैसर्गिक अधिकारको रूपमा रहेको शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुरामा पनि खेलबाड गर्नुले राज्यबाट कर्णाली उपेक्षित छ भन्दा फरक पर्दैन । हरेक वर्ष आउने यो समस्या समाधान गर्न राज्यले पटक–पटक नियमन निकायलाई निर्देशन दिने गरेको भए पनि कर्मचारीतन्त्रका कारण कर्णालीका जनता उपेक्षित हुनुपरेको छ । कर्णालीमा पठाउनका लागि अहिले केही पुस्तक छापेर तयारी अवस्थामा राखिएको भए पनि बाँकी केही पुस्तकको अहिलेसम्म छपाइसमेत शुरु गरिएको छैन । आउँदो चैतबाट नयाँ शैक्षिक सत्र शुरु हुने कर्णालीमा अहिलेसम्म पुस्तक पठाउने विषयमा सरोकारवाला निकाय एक–अर्कालाई दोष दिएर उम्कन खोज्नु र राज्यले पनि के भएको छ भनेर चासो नराख्नु भनेको कर्णालीका जनतामाथिको उपेक्षा हो भन्दा अत्युक्ति नहोला ।

सरकारले पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि निजी क्षेत्रलाई समेत समावेश गराएपछि कर्णालीमा पाठ्यपुस्तक वितरणमा झन् भद्रगोल देखिएको छ । काम नपाउन्जेल नेताका घरमा चाकडी गर्न जाने निजी क्षेत्रका पाठ्यप्ुस्तक विक्रेताहरू काम पाएपछि विभिन्न बहाना बनाएर काम नगर्ने प्रवृत्तिले समेत प्रश्रय पाउने गरेको छ । निजी क्षेत्र कामभन्दा पनि बहाना बनाउन तल्लीन हुनुले उनीहरूको चरित्रलाई उदांगो पारेको छ । हरेक वर्ष कर्णालीमा पुस्तक पुगेन भन्ने समाचार आउन नदिन सबै निकायले आ–आफ्नो क्षेत्रबाट इमानदार भएर खट्नुको विकल्प छैन । एकले अर्कालाई दोष लगाउनुभन्दा पनि सबै इमानदार भएर काम गरे यो समस्या समाधान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्