गायन र अभिनय सँगसँगै



लोक तथा दोहोरी गीतको क्षेत्रमा हरिमाया गुरुङ भन्ने बित्तिकै मौलिकता पस्कने गायिकाको रुपमा परिचित चिनिन्छिन्। उनी गाउँको मौलिकताअनुसार गायनलाई प्राथमिकतामा राख्ने गर्छिन्। उनले गाएका गीतहरु गाउँले परिवेश र समाज सुहाउँदो हुने गर्दछ अर्थात् नेपाली माटोअनुसारको लोकलय उनले पस्किँदै आएकी छिन्।

गुरुङ भाषाका गीत हुन् या ठाडो भाका वा गाउँलेको मुखमा झुन्डिने खालका शब्द र भाका भएको दोहोरी गीत उनका विशेषता बन्दै आएका छन्। सरल शब्द र त्यस्तै भाकाभित्र उनको माधुर्य स्वरले अझ मिठास थप्दै आएको छ। गाउँघरमा हुने रोदीदेखि रेडियो नेपालको स्टुडियोसम्म उनका कर्णप्रिय स्वरले गुञ्जयमान बनाउँदै आएको छ। उनी गायिका मात्र पनि होइनन्, एक कुशल अभिनेत्रीका रूपमा समेत उनले आप्mनो परिचय स्थापित गरेकी छिन्। गुरुङ र नेपाली भाषाका फिल्ममा विभिन्न भूमिकमा अभिनय गर्दै आएकी उनको डाँडाकाँडा स्वामीको रुख सम्झे दुःख नसम्झे है सुख कुनै जमानाको चर्चित गीत हो। ६० को दशकमा चर्चाको शिखरमा रहेको यो गीतले तत्कालीन समय जति चर्चा कमाएको थियो, अहिले पनि उत्तिकै लोकप्रिय बनेर गुञ्जिरहेको छ। त्यस्तै गोर्खा ताकुकोट अर्को हरिमायाको चर्चित गीत हो। करिब ३ दर्जन गीतमा स्वर दिइसकेकी गुरुङले २ दर्जनभन्दा बढी गीत लेखन एवं भाका सिर्जनासमेत गरेकी छिन्। मौलिकतामा रमाउने गायिका हरिमाया नेपाली कला संस्कृतिलाई माथि ल्याउने काममा निकै तल्लीन छन्।

२०६० सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेकी गायिका गुरुङले २०५६ सालदेखि नै रेडियो नेपालको भाषाभाषीको कार्यक्रम फूलबारीमा गीत गाउँदै आएकी थिइन्। उनले सोरठी, चु गोर्खा जिल्ला गुरुङ भाषाको गीत र कौडा गरी एकसाथ ३ गीत गाएर स्वर परीक्षा पास गरेकी थिइन्। बाल्यकालमै स्कुलको वार्षिक कार्यक्रम, बेलाबेलामा हुने सांस्कृतिक कार्यक्रम, गाउँको पूजाआजा र रोधी नै उनको पहिलो गायनको खुड्किलोमा पर्छ। गाउने र नाच्ने काममा उनी गाउँदेखि नै खप्पिस थिइन्। मनभरि कलाकार बन्ने रहर बोकेर हिंँडे पनि कलाकार कसरी भइन्छ भन्ने उनलाई थाहा थिएन। ‘रेडियोमा बज्ने गीत सुनेपछि मनमा कौतुहलता जाग्थ्यो तर परिवारको साथ थिएन। हुर्केकी छोरी गीत गाउने भई भने राम्रो हुँदैन। कलाकार बन्नु ठीक होइन भन्ने परिवारमा थियो’ –हरिमाया सम्झिन्छिन् ‘तर मभित्र भने कलाकारिताको सोख धेरै थियो। र त्यो सोख अहिले मेरो परिचय बन्न पुग्यो।

गोर्खाको थालाजुङ–२ जन्मिएकी गायिका गुरुङका जन्मभूमि, ठाडो भाका, रुमाल भुइँमा खस्यो, गोर्खाली ठाडो भाकालगायतका दर्जनौं एल्बम बजारमा आएका छन्। गायिका गुरुङ आफूलाई यो क्षेत्रमा ल्याउने श्रेय भने गायक युक्त गुरुङलाई दिन्छिन्। गायक गुरुङले रेडियो नेपालसम्म लगेर उनलाई गीत गाउन सिकाएका रहेछन्। ‘रेडियो नेपालमा गीत गाउने बेलामा साथीहरु कोठामा जम्मा भएर चर्को स्वरमा गाउने गथ्र्यौं, गायिका गुरुङले सम्झिइन् ‘स्टुडियोमा पुगेपछि त चिच्याउन नै नपर्ने रहेछ, धेरै सजिलो पनि हुँदोरहेछ। संगीतको एरेन्जअनुसार गाउन पाइँदोरहेछ, के थाहा र, हामी त चिच्याएर नै गाउनुपर्ने होला देशभरि रेडियोमा पुग्ने स्वर पो त हो भनेर सोच्थ्यौं। भ्वाइस टेस्ट गर्दा देखेको माइकभन्दा रेकर्ड गर्नका लागि राखिएको माइक ठूलो हुँदो रहेछ, गीत रेकर्ड गर्ने बेला त्यो माइक देखेर नै डर लागेको थियो।’

गीत रेकर्ड गरिसकेपछि सबैतिर गीत चर्चाको शिखरमा पुग्यो। पहिला पहिलाका गीत ठीकै चले पनि डाँडाकाँडा स्वामीको रुख र गोर्खा ताकुकोटपछि उनको परिवार पनि कान्छीको गीत बज्यो भनेर रेडियोको भोलुम बढाउने भएका थिए रे। ‘गाउँकीे चेलीको गीत रेडियोमा बजेको छ भनेर गाउँभरिका सबै खुशी हुन्थे’ उनले रमाउँदै सुनाइन्।
शुरूमा लोकदोहोरी प्रतियोगितामा भाग लिँदै आधा दर्जनभन्दा बढी स्थानमा प्रथम स्थान हासिल गरिसकेकी गायिका गुरुङले धेरै महोत्सवहरुमा पनि आफ्नो प्रस्तुति दिँदै आएकी छिन्। यतिखेर भने उनी नयाँ गीतिसंग्रह बजारमा ल्याउने तयारीमा जुटेकी छिन्। उनी गोर्खाली ठाडो भाकाको गीत ल्याउने तयारीमा छिन्।

प्रतिक्रिया दिनुहोस्