पूर्व स्ट्राइकर राष्ट्रपति बन्ने



लन्डन, (एजेन्सी)
पूर्व स्ट्राइकर जर्ज वेएह लाइबेरियाका आगामी कार्यकालका लागि राष्ट्रपति बन्ने भएका छन्। चेल्सी, म्यानचेस्टर सिटी र एसी मिलानबाट खेलिसकेका वेएहले बिहीबार सम्पन्न निर्वाचनमा ६१ दशमलव ५० प्रतिशत मत प्राप्त गरेको लाइबेरियाको राष्ट्रिय चुनाव आयोगले जनायो। जसअनुसार निर्वाचनमा ९८ दशमलव १० प्रतिशत मत खसेको थियो।

सन् २००३ मा फुटबलबाट संन्यास लिएर राजनीतिमा पाइला चालेका वेएह लाइबेरियाको संसदमा सीनेटर बन्न सफल भए। ५१ वर्षीय वेएहले पहिलो पटक सन् २००५ को चुनावमा उम्मेदवारी दिएका थिए। तर त्यतिबेला हाल राष्ट्रपति पदमा रहेकी एलेन जोनसन सीरलीफसँग उनी पराजित भए। एलेन जोनसन अफ्रिकी राष्ट्रको इतिहासमा पहिलो महिला राष्ट्रपति समेत हुन्।

वेएह युरोपियन फुटबल क्लबतर्फ प्रतिष्ठित पुरस्कार बालान डी अर जित्ने पहिलो गैर युरोपेली फुटबलर समेत थिए। १९९५ देखि सबै महादेसका खेलाडीले प्रतिनिधित्व गर्ने गरी बालान डी अरलाई विस्तार गर्दा त्यही वर्ष वेएह उत्कृष्ट सावित भए। लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले एक दशकदेखि सो पुरस्कारमाथि आधिपत्य जमाइरहेका छन्। सोही पुरस्कार प्राप्त गर्नेमा वेएह एक मात्र अफ्रिकी खेलाडी समेत हुन्।

प्रतिक्रिया दिनुहोस्