गल्छी–मैलुङ सडक, एक वर्षमा १० प्रतिशतमात्रै काम



नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रिय प्राथमिकतामा रहेको आयोजना ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी’ सडक योजनाको काम एक वर्षमा १० प्रतिशत मात्र निर्माण भएको छ। २१ महिनाभित्र पूरा गर्ने सम्झौता भए पनि काम शुरु भएको एक वर्षमा १० प्रतिशत काम भएको हो।

पृथ्वी राजमार्गस्थित धादिङको गल्छीदेखि शुरु भएर देवीघाट–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी हँुदै चीनको केरुङ प्रवेशद्वारसम्म जोडिने सडक ८२ किलोमिटर लम्बाइको छ।
४६ किलोमिटर लामो सडकको काम सम्झौता भएर काम शुरु भएको एक वर्षमा दश प्रतिशत मात्रको निराशाजनक प्रगतिलाई सुधार गर्न कामलाई तीव्र बनाउन शुरु गरेको योजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो। ‘दुई लेनको सडक भए पनि धादिङको गल्छी बजार र नुवाकोटको गगटेदेखि ढुंगे बजारसम्म चार लेन बनाउन लागिएको छ।’

योजना प्रमुख देवकोटाले भन्नुभयो–‘सडक निर्माणमा व्यक्तिको घर–टहरा तथा जग्गा अतिक्रमण बापत सरकारी मापदण्ड अनुसार मुआब्जा पाउने भएकाले जनताले दोहोरा लाभ पाउने छन्।’ दुई लेनको ११ मिटर कालोपत्रे हुने सडकको केन्द्रदेखि दायाँ बायाँ १५÷१५ मिटर जग्गा अतिक्रमण गरिने आयोजना पक्षले जनाएको छ।

८२ किलोमिटर सडक निर्माण नेपाली सेना, ठेकेदार पक्ष र चीन सरकार मार्फत तीन खण्डमा काम भइरहेको छ। धादिङ गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर सडक टुण्डी निर्माण कम्पनीले गर्दै आएको छ भने मैलुङदेखि स्याफ्रुबेंसीसम्म १८ किलोमिटर सडक नेपाली सेना र बाँकी स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको १८ किलोमिटर सडक चीन सरकारले निर्माण जारी राखेको छ। ९ अर्ब ५० करोड रुपियाँ लगानीमा निर्माण गर्न लागेको सडक खण्डमध्ये ठेकेदार टुण्डी कम्पनीले ३ अर्ब ६३ करोड ९१ लाखमा ४६ किलोमिटर सडक निर्माण पूरा गर्ने जिम्मेवारी पाएको हो।

ठेकेदारमार्फत् भइरहेको गल्छी–त्रिशूली–मैलुङसम्मको सडक निर्माणको काम लक्ष्यअनुसार सुस्त छ। सम्झौतापश्चात निर्माण शुरु भएको एक वर्षको अवधिमा कामदारको अभाव, यातायात सञ्चालनले अवरोध, वन क्षेत्रमा काम गर्न स्वीकृत पाउन भएको ढिलाइ, प्रशासनमार्फत मुआब्जा निर्धारण नहँुदालगायतका कारण उलेख्य प्रगति हासिल गर्न नसकेको आयोजना पक्षको दाबी छ।

योजना प्रमुख देवाकोटाको अनुसार सम्झौता सयमभित्र काम पूरा गर्न पुस १ गतेदेखि दैनिक आठ घण्टा साविकको सडकमा यातायात बन्द गरी तीव्रता दिन प्रयास थालिएको छ।

प्रतिक्रिया दिनुहोस्