१७ करोडको सुन्तला फल्यो



सिर्जना पन्त, बागलुङ

बागलुङका कृषकले यस सिजन १७ करोड ३२ लाख ५० हजार रुपियाँ बराबरको सुन्तला फलाएका छन्। अनुकुल मौसम तथा क्षेत्रफल विस्तार हुँदा यस वर्ष सुन्तला उत्पादन बढेपछि बागलुङको सुन्तला उत्पादन बढेको हो।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाबाट १२ करोड १२ लाख ५० हजार रुपियाँ बराबरको सुन्तला अन्य जिल्लामा निर्यात भएको छ भने ५ करोड १९ लाख ७५ हजार रुपियाँको सुन्तला जिल्लामा नै खपत भएको हो। गत वर्ष जिल्लामा २ सय ३२ हेक्टर क्षेत्रफलमा ३ हजार ३ सय मेट्रिक टन अर्थात् १३ करोड २० लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको थियो। बागलुङका किसानले उत्पादन गरेको सुन्तला चितवन, पोखरा, गुल्मी, रुकुम, बुटवल, धादिङ, काठमाडौंलगायतका देशका विभिन्न स्थानमा निर्यात हुने गरेको छ।

अनुकुल मौसम एवम् थप २० हेक्टर क्षेत्रफल विस्तार गरिएकाले सुन्तलाको उत्पादन अहिले ५ प्रतिशतले बढेको कृषि प्रसार अधिकृत विप्लप अधिकारीले बताउनुभयो। उहाँका अनुसार सुन्तला खेती गर्दै आएका बागलुङका एक हजार भन्दा बढ िघरधुरी लाभान्वित भएका हुन्।
बागलुङमा ५ हजार ४० रोपनी क्षेत्रफल उत्पादनशील छ। यसवर्ष क्षेत्रफल विस्तार भएपछि ३ हजार ४ सय ६५ मेट्रिक टन सुन्तला उत्पादन भएको हो। त्योमध्ये ७० प्रतिशत जिल्ला बाहिर निकासी हुने गरेको छ। सुन्तलाखेतीबाट यहाँका किसानले १० हजार देखि ५ लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका छन्।

यस वर्ष उत्पादित सुन्तला व्यवसायीले बगैँचामै पुगेर खरिद गरेको कृषक बताउँछन्। खुद्रा सुन्तला बिक्री गर्नुभन्दा व्यापारीहरू आएर एकमुष्ट खरिद गरेपछि सहज भएको किसानको भनाइ छ। सिजनमा भन्दा बेसिजनमा सुन्तला बिक्री गर्दा फाइदा पुग्ने भएकाले कतिपय किसानले आधुनिक स्रोत र साधनको अभावमा परम्परागत रूपमा घर भित्रनै सुन्तला भण्डारण गर्ने गरेका छन्।

सुन्तला उपादनका लागि बागलुङको भकुण्डे, बिहुँ, जैदी, छिस्ती, हरिचौर, दमेक नरेठाँटीलगायत क्षेत्रलाई पकेट क्षेत्र मानिएको छ।

प्रतिक्रिया दिनुहोस्