भारतीय सिमेन्टको आयात बढाउने खेल



नेपाल समाचारपत्र
काठमाडौं
सिमेन्टको कच्चापदार्थ ढुवानीमा अवरोध गरेर भारतीय सिमेन्ट नेपाली बजारमा प्रवेश गराउने प्रपन्च भएको छ। नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बन्दै गएको सन्दर्भमा नेपाली सिमेन्ट उद्योग धराशयी बनाउनका निम्ति प्रदूषणको विषय उठाएर कच्चा पदार्थको ढुवानीमा रोक लगाइएको सरोकारवालाहरूको भनाइ छ।

नेपाल आयात हुने क्लिंकर भारतको रक्सौलस्थित रेल्वे यार्डमा अनलोड गर्न रोक लगाइएपछि नेपाली बजारका लागि आवश्यक सिमेन्ट भारतबाट आयात गर्नुपर्ने अवस्था देखिएको हो। क्लिंकर अनलोडसम्बन्धी उत्पन्न समस्या समाधानका लागि भारत तथा नेपाल सरकारका प्रतिनिधि र उद्योगी व्यापारीबीच भएको त्रिपक्षीय छलफल अझै निश्कर्षमा पुग्न सकेको छैन।

पछिल्लो समय रक्सौलका स्थानीय बासिन्दा यार्ड स्थानान्तरणको माग गर्दै अदालत पुगेका थिए। त्यसपछि नेपाललाई अधिकारिक रूपमा कुनै जानकारी नगराई भारतले रक्सौलमा हुँदै आएको क्लिंकर अनलोडिङमा रोक लगाउँदै सिर्सियास्थित सुख्खा बन्दरगाहमा अनलोड गर्न निर्देशन दिएको थियो।

वाणिज्य मन्त्रालयका अधिकारीका अनुसार नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा भारतीय पक्ष यसबाट त्रसित भएको हो। पछिल्ला दिनमा सिमेन्ट उत्पादनको प्रमुख कच्चा पदार्थ क्लिंकरमा पनि नेपाल आत्मनिर्भर हुने क्रममा रहेकाले भारतीय पक्ष यो असफल बनाउने योजनामा रहेको उनको भनाइ छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै उनले भने– ‘अदालतले पनि यार्ड अन्तै सार्न पहिले नै आदेश दिइसकेको थियो। तर, भारतीय रेल्वेले यस विषयमा तदारुकताका साथ काम गरेको छैन। नेपाली सुख्खा बन्दरगाह क्लिंकर अनलोडका लागि बनाइको पनि हैन।’ नेपाली पक्षलाई नै नसोधी भारतबाट यस्तो निर्णय आउनुमा भारतको स्वार्थ रहेको उनको बुझाइ छ।

भारत तथा तेस्रो मुलुकबाट रेलमार्फत् आउने ८० र्याक मालवस्तुको भार हाल सुख्खा बन्दरगाहले थेग्दै आएको छ। बन्दरगाहको वर्तमान पूर्वधारले थप ३५ र्याक क्लिंकरको भार थेग्न सन्दैन। भारतीयले यही कमजारीको फाइदा उठाएको उनको आरोप छ। अझ पछिल्लो समय नेपाली सिमेन्ट प्रयोग प्राथमिकतामा राख्न नेपालले भारतबाट आयात हुने सिमेन्टमा भन्सार बढाएको थियो। यसका कारण नेपाली बजारमा भारतीय सिमेन्ट महँंगो पर्ने जाने कारण भारतीय सिमेन्ट आयात लगभग ठप्प प्रायः थियो। यसैविषयमा भारतीय पक्ष असन्तुष्ट रहँदै आएको थियो।
यससम्बन्धी समस्या समयसमयमा निस्किने गरे पनि दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन। एउटै विषयलाई लिएर बखेडा झिकिरहनु दीर्घकालीन हल नगरी नेपाली पक्षलाई च्याप्न खोज्नु भारतको बेइमानी रहेको उनको दाबी छ। नेपाली सिमेन्ट उद्योगका लागि भारतको विभिन्न स्थानबाट वीरगन्ज नाका हुँदै आयात हुने क्लिंकर, जिप्समलगायत कच्चापदार्थका ठूलो प्रदूषण खेप्नु परेको कारण रक्सौल बासिन्दा बताउँछन्।

क्लिंकरमा देखिएको समस्याले सिमेन्टको मूल्य बढाउन टेवा पुग्ने नेपाल उद्योग वाणिज्य महासंघका सडक तथा पारवहन समितिका अध्यक्ष अशोक टेमानी बताउनुहुन्छ। रक्सौलको क्लिंकर समस्या समाधान नभए तत्काल तथा दीर्घकालीन दुवै रूपमा सिमेन्टको मूल्य बढ्ने निश्चित रहेको उहाँको दाबी छ। उहाँले भन्नुभयो–‘क्लिंकर आयात गर्न नेपालका लागि रक्सौल यार्ड सबैभन्दा सस्तो यार्ड हो। यसको तत्कालका लागि कुनै विकल्प छैन। विकल्प खोजिए पनि योभन्दा सस्तो यार्ड पाइँदैन र यो सम्भव पनि देखिँदैन।’

सुख्खा बन्दरगाहमा क्लिंकरको लागि प्रयाप्त स्थान र उपकरणको कमी भएकाले भारत सरकारको निर्णय कार्यान्वयनका लागि कम्तीमा नेपाली व्यापारीलाई ६ महिनाको समय दिनुपर्ने उहाँको धारणा छ।
टेमानीले क्लिंकरको अभावमा वीरगन्ज पथलैया करिडोरका एक दर्जन सिमेन्ट उद्योग समस्यामा पर्ने पनि बताउनुभयो। उहाँ भन्नुभयो–‘नेपालका अन्य स्थानमा रहेका सिमेन्टले आफैं क्लिंकर उत्पादन गर्दै आए पनि यस करिडोरमा रहेका उद्याग भने भारतीय क्लिंकरमा निर्भर छन्। अब उनीहरूको उत्पादन बन्द हुँदा बजारको मागअनुसार मूल्य बढ्ने पक्का देखिन्छ।’

यद्यपि, क्लिंकर आयातमा देखिएको समस्या हल नहुञ्जेल नेपालीका लागि अर्को विकल्प भारतीय सिमेन्ट आयात गर्नु रहेको उहाँ स्वीकार्नुहुन्छ। उहाँले भन्नुभयो– ‘केही सीप नलागेको अवस्थामा बजारको माग धान्नका लागि हामी भारतीय सिमेन्ट आयात गर्न बाध्य हुन्छौं।’ तर यसको भए पनि सिमेन्टमा लाग्ने उच्च करका कारण यो नेपाली सिमेन्टको तुलनामा महंँगो पर्नु स्वभाविक रहेको उहाँको दाबी छ।

डस्टी कार्गोको रूपमा रहेको क्लिंकरबाट धेरै धुलो उड्ने भएकाले स्थानीयले यसको विरोध गर्नु स्वाभाविक रहेको उनको बुझाइ छ। हाल बारा र पर्साका १३ वटा सिमेन्ट उद्योगले यस नाकाबाट कच्चा पदार्थ आयात गर्छन्।

प्रतिक्रिया दिनुहोस्