५१ करोडको घ्यू उत्पादन



गणेश घिमिरे, इलाम

यस वर्ष जिल्लामा ५१ करोड ४ लाख रुपियाँबराबरको ९ सय २८ मेट्रिक टन घ्यू तथा २२ करोड २७ लाख रुपियाँ बराबरको २ सय ९७ मेट्रिक टन छुर्पी उत्पादन भएको जिल्ला पशु सेवा कार्यालय इलामले जनाएको छ।

कार्यालयको अनुसार जिल्लाका विभिन्न गाउँमा २ सय ३० हाते डेरी सञ्चालनमा रहेका छन्। जिल्लामा हाल घ्यू तथा छुर्पी उत्पादन गर्नेमा मुख्य गरी घरेलु डेरी रहेका छन्।

जिल्लामा घरेलु डेरी स्थापनासँगै घ्यू तथा छुर्पी उत्पादन बढ्दा गाउँका सर्वसाधारणको आयमा पनि वृद्धि हुन थालेको छ। त्यसमा पनि विषेशगरी महिला यसबाट लाभान्वित भएका हुन्। इलाममा सञ्चालित छुर्पी उद्योगमा उत्पादित छुर्पी भारतको दार्जिलिङमा समेत निकासी हुने गरेको छ। जिल्लामा हाल ग्रामीण भेगमा उत्पादित छुर्पी उद्योगको प्रवद्र्धनका लागि जिल्लास्तरमा डेरी प्रवद्र्धन कार्यक्रमसमेत सञ्चालन हुँदै आएको छ।

जिल्लामा घ्यू तथा छुर्पीको उत्पादन बढेसँगै जिल्ला पशु सेवा कार्यालयले डेरी उद्योगलाई उद्योगको क्षमता बढाउन अनुदान उपलब्ध गराउन थालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। कार्यालय प्रमुख पशुपति ढुंगानाका अनुसार कार्यालयले हालै डिप फ्रिज खरिद गर्न अनुदान दिइसकेको छ।

पूर्वका पहाडी जिल्लामा दूधबाट उत्पादित छुर्पी कुकुरको आहाराका लागि अमेरिका पनि निकासी हुन थालेको छ। छुर्पीको बजार बढेपछि यहाँका व्यापारीले छुर्पीमा गुणस्तर सुधार हुनुपर्ने र आकार पनि मागअनुरूपकै हुनुपर्ने धारण व्यक्त गर्दै आएका छन्।

हाल पूर्वका इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभालगायत जिल्लाबाट वार्षिक साढे २ लाख किलो छुर्पी अमेरिका निर्यात हुने गरेको छ। कुकुरको आहाराका लागि युरोपको प्रसिद्ध कम्पनी हिमालय डग चिउले यहाँ उत्पादित छुर्पी खरिद गरी अमेरिका पुर्याउने गरेको हो। उक्त कम्पनीले वार्षिक ६ लाख किलोभन्दा बढी छुर्पीको माग गरे पनि उत्पादन कम हुँदा मागअनुसार उपलब्ध गराउन सकेको छैन। अमेरिका निर्यात हुनेमा हिमाली चौरीगाईको २ सय ग्रामदेखि ५ सय ग्रामसम्मको छुर्पी पर्छ।

जिल्लामा हाल चिल्लोरहित छुर्पी निर्यात हुने र बढी चिल्लो भएको छुर्पी भने स्थानीय बजारमै खपत हुने गरेको छ। कम्पनीले प्रतिकिलो १ सय ५० देखि ८ सय रुपियाँमा छुर्पी खरिद गर्ने गरेको छ। जिल्लामा गाउँघरमा क्रिम सेपरेटर मेसिनमार्फत दूधको प्रशोधन गरी मठ्ठा र क्रिम निकालिन्छ। क्रिमबाट घ्यु उत्पादन गरिन्छ तथा मठ्ठाबाट छुर्पी बनाइने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्