वर्ष २०१७ का वजनदार अन्तर्राष्ट्रिय खेल प्रतियोगिता



सन् २०१८ लाई स्वागत र सन् २०१७ लाई बिदा दिने संघारमा विश्व खेलकुद उभिएको छ। हरेक क्षेत्रमा झैं यो वर्ष अन्तर्राष्ट्रिय खेलकुदमा पनि विश्वस्तरका अनगिन्ती अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भए। ती सम्पूर्ण खेल गतिविधिको जानकारी धेरै कम मान्छेमा मात्र सीमित हुने गरेको छ। तीमध्ये सन् २०१७ मा भएका केही विश्वस्तरीय र वजनदार छाप बोकेको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको जानकारी यहाँ संक्षेपमा प्रस्तुत गरिएको छ।

कविरस शर्मा

अफ्रिका कप अफ नेसन्स
१४ जनवरीदेखि ५ फेब्रुअरीसम्म अफ्रिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्सथ् भएको थियो। अफ्रिकी महादेशका १६ राष्ट्र सम्मिलित उक्त प्रतियोगिता गाबोनमा भएको थियो। गाबोनको विभिन्न चार शहरमा गरी ३२ म्याच खेलिएको उक्त प्रतियोगिताको उपाधि क्यामरूनले जितेको थियो। फाइनलमा इजिप्टलाई २–१ गोलअन्तरले हराउँदै क्यामरून विजेता बनेको थियो। योसमेत क्यामरुनले पाँचौंपटक उक्त प्रतियोगिताको उपाधि जित्न सफल भएको हो।

अस्ट्रेलियन ओपन
जनवरी १६ देखि २९ सम्म वर्षको पहिलो ग्रान्डस्लाम टेनिसको रूपमा परिचित अस्ट्रेलियन ओपनको १ सय पाँचौ संस्करण भएको थियो। जसअन्तर्गत पुरुष एकलतर्फको उपाधि स्विजरल्यान्डका रोजेर फेडेररले जितेका थिए। प्रतिस्पर्धात्मक फाइनलमा उनले स्पेनका राफेल नाडाललाई ६–४, ३–६, ६–१, ३–६, ६–३ को सेटमा पराजित गरेका थिए। यस्तै महिला एकलतर्फको उपाधि अमेरिकी टेनिस क्विन सेरेना विलियम्सले अफ्नै दिदी भेनस विलियम्सलाई ६–४, ६–४ को सेटमा हराउँदै जितेकी थिइन्।
विन्टर युनिभर्सियाड
जनवरी २९ देखि ८ फेब्रुअरीसम्म विश्वविद्यालयका विद्यार्थीबीच हुने अन्तर्राष्ट्रिय प्रतियोगिता युनिभर्सियाड खेलकुदको २८औं संस्करण कजाकस्तानको अल्माटीमा भएको थियो। ५६ राष्ट्र सहभागी उक्त प्रतियोगितामा हिउँसँग सम्बन्धित १२ खेलका लागि १६ सय ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसअन्तर्गत पदक तालिकामा रसियाले सर्वाधिक २९ स्वर्ण, २७ रजत र १५ कांस्य जित्न सफल भयो।

महिला विश्व चेस प्रतियोगिता
फेब्रुअरी १० देखि ५ मार्चसम्म इरानको राजधानी तेहरानमा महिला विश्व चेस प्रतियोगिता भएको थियो। विश्वभरिका ६४ महिला खेलाडीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिताको उपाधि चीनका तान झोंगीले जितेकी थिइन्। फाइनलमा उनले युक्रेनकी अन्ना मुजिचुकलाई हराएकी थिइन्।

एसियन टेबल टेनिस च्याम्पियनसिप
अप्रिल ९ देखि १६ सम्म चीनको उझि शहरमा एसियन टेबल टेनिस च्याम्पियनसिप भएको थियो। जसमा पुरुषतर्फ आयोजक चीनका फान झेन्डङ तथा महिलातर्फ जापानकी मिउ हिरानी च्याम्पियन बन्न सफल भएकी थिइन्।

वल्र्ड स्नुकर च्याम्पियनसिप
१५ अप्रिलदेखि मे १ सम्म इंग्ल्यान्डमा वल्र्ड स्नुकर च्याम्पियनसिप भएको थियो। जसमा स्कटल्यान्डका जोन हिग्गिन्सलाई माथ खुवाउँदै आयोजक इंग्ल्यान्डकै मार्क सेल्बी विजेता बन्न सफल भएका थिए।

एसियन वेटलिफ्टिङ च्याम्पियनसिप
२१ देखि २९ अप्रिलसम्म तुर्कमेनिस्तानको अस्गाबातमा एसियन वेटलिफ्टिङ च्याम्पियनसिप भएको थियो। नेपालका एक जनासहित एसियाका २७ राष्ट्रका १ सय ४४ भारोत्तलन खेलाडीले प्रस्तिस्पर्धा गरेको उक्त प्रतियोगितामा ८ स्वर्ण, २ रजत र २ कांस्यसहित चीनले पहिलो स्थान हासिल गरेको थियो।

एसियन एमेच्योर बक्सिङ च्याम्पियनसिप
३० अप्रिलदेखि ७ मे सम्म उज्वेकिस्तानको तासकन्तमा एसियन एमेच्योर बक्सिङ च्याम्पियनसिप भएको थियो। ४९ देखि ९० किलोग्रामभन्दा माथि गरी कुल १० वटा तौल समूहको प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा आयोजक उज्वेकिस्तान नै टिम च्याम्पियन बन्न सफल भएको थियो। कुल १० स्वर्णमध्ये उज्वेकिस्तानले ९ स्वर्ण जित्न सफल भएको थियो।

एसियन अन्डर–२३ मेन्स भलिबल च्याम्पियनसिप
मे १ देखि ९ सम्म इरानमा एसियन अन्डर–२३ मेन्स भलिबल च्याम्पियनसिप भएको थियो। एसियाका ११ राष्ट्र सम्मिलित उक्त प्रतियोगिताको उपाधि आयोजक इरानले नै जित्न सफल भएको थियो। फाइनलमा जापानलाई ३–० को सेटमा हराउँदै इरान दोस्रोपटक च्याम्पियन बनेको थियो।

एसियन एमेच्योर रेस्लिङ च्याम्पिनसिप
मे १० देखि १४ सम्म भारतमा एसियन एमेच्योर रेस्लिंङ च्याम्पिनसिप भएको थियो। एसियाका १९ राष्ट्रका २ सय ५५ खेलाडीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा ८ स्वर्ण, ३ रजत र ५ कांस्य पदक जित्दै जापानले पहिलो स्थान हासिल गरेको थियो। यस्तै टिम र्याङ्किङअन्तर्गत पुरुष फ्रि–स्टाइलमा ७१ अंकसहित इरान शीर्ष स्थानमा रहेको थियो। यस्तै ग्रेको–रोमन वरीयतामा पनि ६९ अंकसहित इरानले नै बाजी मार्दा महिला फ्रि स्टाइलमा ७६ अंकसहित जापानले शीर्ष स्थान ओगटेको थियो।

एसियन जुडो च्याम्पियनसिप
२६ देखि २८ मे सम्म भएको २३औं एसियन जुडो च्याम्पियनसिप हङकङमा भएको थियो। पुरुष र महिलातर्फ समान सात–सात तौल समूहको प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा ९ स्वर्ण, १ रजत र ५ कांस्य जितेर जापानले पहिलो स्थान हासिल गरेको थियो।

फ्रेन्च ओपन
मे २८ देखि जुन ११ सम्म फ्रेन्च ओपन टेनिसको १ सय १६औं संस्करण चलेको थियो। वर्षको दोस्रो ग्रान्डस्लाम टेनिसको रूपमा परिचित उक्त प्रतियोगिताको पुरुष एकलतर्फ स्पेनका राफाल नाडाल तथा महिला एकलतर्फ लात्भियाकी एलेना ओस्टापेन्कोले उपाधि जित्न सफल भए। फाइनलमा नाडालले स्विजरल्यान्डका स्टान वावरिन्का र ओस्टापेन्काले रोमानियाकी सिमोना हालेपलाई हराएका थिए।

विश्व टेबलटेनिस च्याम्पियनसिप
२९ मे देखि ५ जुनसम्म जर्मनीमा ५४औं विश्व टेबलटेनिस प्रतियोगिता भएको थियो। जसमा पुरुष र महिला दुवै स्पर्धामा चीनका खेलाडी च्याम्पियन बनेका थिए। पुरुष एकलतर्फ मा लङ र महिला एकलतर्फ डिङ निङ च्याम्पियन भएका थिए।

यूएफा च्याम्पियन्स लिग फाइनल
जुन ३ मा भएको युरोपेली क्लबकै सर्वोच्च प्रतियोगिता यूएफा च्याम्पियन्स लिगको फाइनल वेल्सको कार्डिफमा भएको थियो। जहाँ स्पेनिस फुटबलका महारथी रियल मेड्रिडले इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्टस्लाई ४–१ गोलअन्तरले हराउँदै सर्वाधिक १२औं पटक उक्त उपाधि उचालेको थियो। उक्त खेलमा म्यान अफ दि म्याच घोषित भएका क्रिस्टियानो रोनाल्डोले २ गोलको योगदान गरेका थिए।

कन्फेडरेसन कप फुटबल
१७ जुनदेखि २ जुलाईसम्म रसियामा कन्फेडरेसन कप फुटबल आयोजना भएको थियो। महादेशीय च्याम्पियन र फिफा विश्वकप विजेतासहित आसन्न विश्वकप आयोजक राष्ट्रले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा यसपटक जर्मनीले बाजी मार्यो। दक्षिण अमेरिकी च्याम्पियन चिलीलाई १–० ले हराउँदै जर्मनी पहिलो पटक कन्फेडरेसन कप च्याम्पियन बनेको हो।

विश्व तेक्वान्दो च्याम्पियनसिप
३० देखि २४ जुनसम्म विश्व तेक्वान्दो च्याम्पियनसिपको २३औं संस्करण दक्षिण कोरियाको मुजु शहरमा भएको थियो। नेपालका १० खेलाडीसहित १ सय ७७ राष्ट्रका ९ सय ४५ खेलाडीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा आयोजक दक्षिण कोरिया टिम च्याम्पियन बनेको थियो। पुरुष र महिला स्पर्धा गरी दक्षिण कोरियाले ५ स्वर्ण, १ रजत र ४ कांस्य जितेको थियो।

महिला विश्वकप क्रिकेट
जुन २६ देखि जुलाई २३ सम्म इंग्ल्यान्डले एघारौं आईसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो। आठ राष्ट्रका महिला क्रिकेट टिमले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा आयोजक इंग्ल्यान्डले नै उपाधि जितेको थियो। लड्र्समा भएको फाइनलमा भारतलाई ९ रनको झीनो अन्तरले पराजित गर्दै इंग्ल्यान्डले चौथोपटक उक्त उपाधि उचालेको थियो।

यूएस सिनियर ओपन गल्फ
२९ जुनदेखि २ जुलाईसम्म यूएस सिनियर ओपन गल्फ प्रतियोगिता अमेरिकाको कोलोराडोमा भएको थियो। ३७ वर्षदेखि चल्दै आएको यस प्रतियोगिताको उपाधि अमेरिकाकै केरी पेन्नीले जितेका थिए।

विम्बलडन टेनिस
जुलाई ३ देखि १६ सम्म वर्षको तेस्रो ग्रान्डस्लामबाट परिचित विम्बलडन टेनिस प्रतियोगिताको १ सय ३१औं संस्करण भएको थियो। टेनिस इतिहासकै दोस्रो सबैभन्दा पुरानो यस प्रतियोगिताअन्तर्गत यस वर्ष पुरुष र महिला एकलतर्फ क्रमशः स्विजरल्यान्डका रोजर फेडेरर र स्पेनकी गार्बिन मुगुरुजा च्याम्पियन बनेका थिए। फेडेररले क्रोएसियाका मारिन चिलिचलाई ६–३, ६–१, ६–४ को सेटमा तथा मुगुरुजाले अमेरिकाकी भेनस विलियम्सलाई ७–५, ६–० को सेटमा हराउँदै उपाधि जितेका थिए।

कोन्काकाफ गोल्डकप
७ देखि २६ जुलाईसम्म उत्तर तथा मध्य अमेरिकाको प्रतिष्ठित प्रतियोगिता १४औं कोन्काकाफ गोल्डकप फुटबल च्याम्पियनसिप अमेरिकाको विभिन्न १४ शहरमा भएको थियो। १२ राष्ट्रले चुनौती प्रस्तुत गरेको उक्त प्रतियोगिताको उपाधि आयोजक अमेरिकाले नै जितेको थियो। छैठौ पटक उक्त उपाधि जित्ने क्रममा अमेरिकाले जमैकालाई २–१ गोलअन्तरले पराजित गरेको थियो।

फिना वल्र्ड च्याम्पियनसिप
१४ देखि ३० जुलाईसम्म १७औं फिना वल्र्ड च्याम्पियनसिप (वल्र्ड एक्वेटिक च्याम्पियनसिप) हंगेरीको राजधानी बुडापेस्टमा भएको थियो। पानीसँग सम्बन्धित उक्त खेल प्रतियोगितामा १ सय ८२ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा २१ स्वर्ण, १२ रजत र १३ कांस्य जितेर संयुक्त राज्य अमेरिकाले पदक तालिकाको शीर्ष स्थान हासिल गरेको थियो।

आईएएएफ वल्र्ड च्याम्पियनसिप
४ देखि १३ अगस्टसम्म संयुक्त अधिराज्यमा १६औं इन्टरनेसनल एसोसिएसन अफ एथ्लेटिक्स फेडरेसन (आईएएएफ) वल्र्ड च्याम्पियनसिप भएको थियो। नेपालको एक जना खेलाडीसहित विश्वभरिका २ सय राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा १० स्वर्ण ११ रजत र ९ कांस्य जित्दै अमेरिकाले पदक तालिकाको शीर्ष स्थान ओगटेको थियो। यस प्रतियोगितामा जमैकाका कीर्तिमानी एथ्लिट्स उसेन बोल्टले खेल जीवनबाट संन्यास लिएका थिए।

यूएफा सुपरकप
८ अगस्टमा भएको यूएफा सुपरकपमा स्पेनिस फुटबलका महारथी रियल मेड्रिड विजयी भएको थियो। युरोपेली क्लबको दुई प्रतिष्ठित च्याम्पियनसिपअन्तर्गत यूएफा च्याम्पियनसिप लिगको विजेता र युरोपा लिगको विजेताबीच हुने म्याचमा यसपटक रियल मेड्रिडले बाजी मारेको हो। च्याम्पियन्स लिग विजेता रियलले युरोपा लिग विजेता म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको थियो।

फिबा एसिया कप
८ देखि २० अगस्टसम्म भएको २९औं फिबा एसिया कप लेबनान भएको थियो। एसिया र अस्ट्रेलिया तथा न्युजिल्यान्ड गरी १६ राष्ट्र सम्मिलित उक्त प्रतियोगिताको उपाधि अस्ट्रेलियाले जित्न सफल भएको थियो। फाइनलमा इरानलाई ७९–५६ स्कोरले हराउँदै अस्ट्रेलियाले स्वर्ण जित्न सफल भएको थियो।

वल्र्ड एमेच्योर रेस्लिङ च्याम्पिनसिप
२१ देखि २६ अगस्टसम्म फ्रान्समा १४औं वल्र्ड एमेच्योर रेस्लिङ च्याम्पिनसिप भएको थियो। ७३ राष्ट्रका ६ सय ८४ खेलाडीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा ६ स्वर्ण, १ रजत र कांस्य जित्दै जापान पदक तालिकाको शीर्षस्थानमा उक्लन सफल भएको थियो।
बीडब्ल्यूएफ वल्र्ड च्याम्पियनसिप
२१ देखि २७ अगस्टसम्म स्कटल्यान्डमा २३औं ब्याडमिन्टन वल्र्ड फेडरेसन (बीडब्ल्यूएफ) वल्र्ड च्याम्पियनसिप आयोजना भएको थियो। पुरुष र महिला इभेन्टहरु भएको उक्त प्रतियोगिता ग्लास्गोको एमिरेट्स एरिनामा सञ्चालन भएको थियो। जसमा २ स्वर्ण, २ रजत र १ कांस्य पदक जित्दै चीनले पदक तालिकाको शीर्ष स्थान कब्जा गरेको थियो।

आईबा वल्र्ड बक्सिङ च्याम्पियनसिप
२५ देखि २ सेप्टेम्बरसम्म एमेच्योर इन्टरनेसनल बक्सिङ एसोसिएसन (आईबा) वल्र्ड बक्सिङ च्याम्पियनसिप जर्मनीको ह्यामवर्गमा भएको थियो। १० वटा तौल समूहमा भएको उक्त प्रतियोगितामा ८५ राष्ट्रका २ सय ७९ पुरुष बक्सिङ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा क्युबाली खेलाडीको वर्चस्व रहेको थियो। ५ स्वर्ण र २ रजत जित्दै क्युबा पदक तालिकाको शीर्ष स्थानमा सूचीकृत बनेको थियो।

द मनी फाइट
२६ अगस्टमा व्यावसायिक बक्सिङमा एउटा रोमाञ्चक भिडन्त भएको थियो। वर्तमान विश्व खेलकुदका सर्वाधिक धनी खेलाडी तथा व्यावसायिक बक्सिङमा अपराजित अमेरिकी बक्सर फ्लोयड मेवेदर र मिक्स्ड मार्सल आर्ट्स यूएफसीका चर्चित आइरिस फाइटर कोनोर मेक ग्रेगरबीच बक्सिङ खेलिएको थियो। ‘द मनी फाइट’ नाम दिइएको उक्त भिडन्तको दसौं राउन्डमा कोनोरलाई हराउँदै मेवेदर आफ्नो ५०औं भिडन्तमा पनि अपराजित नै हुन सफल भए। उक्त भिडन्तपछि विभिन्न स्रोतमार्फत मेवेदरले ३० करोड र कोनोरले १० करोड बराबरको अमेरिकी डलर आर्जन गरेका बताइएको थियो।

वल्र्ड जुडो च्याम्पियनसिप
२८ अगस्टदेखि ३ सेप्टेम्बरसम्म वल्र्ड जुडो च्याम्पियनसिप हंगेरीको राजधानी बुडापेस्टमा भएको थियो। पुरुष र महिलाको भिन्दाभिन्दै ७ वटा तौल समूहमा प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा १ सय २६ राष्ट्रका ७ सय ३१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा ८ स्वर्ण, ४ रजत र १ कांस्य जित्दै जापान पदक तालिकाको शीर्ष स्थानमा सूचीकृत बनेको थियो।

यूएस ओपन
२८ अगस्टदेखि १० सेप्टेम्बरसम्म वर्षको चौथो ग्रान्डस्लाम तथा सबैभन्दा पुरानो टेनिस प्रतियोगिताबाट परिचित यूएस ओपनको १ सय ३७औं संस्करण अमेरिकाको न्यूयोर्कमा खेलिएको थियो। जसमा पुरुष एकलतर्फको फाइनलमा स्पेनका राफाल नाडालले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई ६–३, ६–३, ६–४ ले हराउँदै उपाधि जितेका थिए। यस्तै महिला एकलतर्फको फाइनलमा अमेरिकाका स्लोएने स्टेफेन्सले आफ्नै राष्ट्रकी मेडिसन किजलाई ६–३, ६–० को सेटमा हराउँदै पहिलोपटक ग्रान्डस्लाम उपाधि उचालेकी थिइन्।

वल्र्ड सट गन च्याम्पियनसिप
३० अगस्टदेखि ११ सेप्टेम्बरसम्म सुटिङ खेलसँग सम्बन्धित वल्र्ड सट गन च्याम्पियनसिप प्रतियोगिता रसियामा भएको थियो। पुरुष र महिला खेलाडीले सुटिङको विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा इटालीले सर्वाधिक ६ स्वर्ण, १ रजत र २ कांस्य जित्दै पदक तालिकाको शीर्ष स्थान हासिल गरेको थियो।
चेस वल्र्डकप
२ देखि २७ सेप्टेम्बरसम्म चेस वल्र्डकप जर्जियामा भएको थियो। विश्वस्तरका १ सय २८ खेलाडीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा अर्मेनियाका लेभोन एरोनियन च्याम्पियन बनेका थिए।

एसियन इन्डोर एन्ड मार्सल आट्र्स गेम्स
१७ देखि २७ सेप्टेम्बरसम्म तुर्कमेनिस्तानको अस्गाबातमा एसियन इन्डोर एन्ड मार्सल आर्ट्स गेम्सको पाँचौं संस्करण भएको थियो। उक्त प्रतियोगितामा कुल २१ खेलका लागि एसियाका ४५ र ओसियाना क्षेत्रका १७ राष्ट्रका गरी ४ हजार १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा नेपालका १८ खेलाडी पनि सहभागी भएका थिए। आयोजक तुर्कमेनिस्तानले ८९ स्वर्ण, ७० रजत र ८६ कांस्य जित्दै पदक तालिकाको शीर्ष स्थान ओगटेका थिए।

अन्डर–१८ साफ च्याम्पियनसिप
१८ देखि २७ सेप्टेम्बरसम्म भएको अन्डर–१८ साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप भुटानको थिम्पुमा आयोजना भएको थियो। सार्कमा आबद्ध पाँच राष्ट्रको १८ वर्षमुनिका फुटबल टोलीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा नेपालले उपाधि जित्न सफल भएको थियो। उक्त प्रतियोगितामा नेपालको यो दोस्रो उपाधि हो।

फिफा अन्डर–१७ वल्र्डकप
६ देखि २८ अक्टोबरसम्म फिफा अन्डर–१७ वल्र्डकप भारतमा भएको थियो। ६ महदेशबाट छनोट भएका २४ राष्ट्रका १७ वर्षमुनिको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा इंग्ल्यान्ड च्याम्पियन बनेको थियो। फाइनलमा स्पेनलाई ५–२ गोल अन्तरले हराउँदै इंग्ल्यान्डले पहिलोपटक उक्त उपाधि जितेको हो।

वल्र्ड आर्चरी च्याम्पियनसिप
१५ देखि २२ सेप्टेम्बरसम्म मेक्सिकोमा वल्र्ड आर्चरी च्याम्पियनसिपको ४९औं संस्करण सम्पन्न भएको थियो। ५८ राष्ट्रका ३ सय ७३ महिला तथा पुरुष धनुषवाण खेलाडीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा ५ स्वर्ण, १ रजत २ कांस्य जित्दै दक्षिण कोरियाले पदक तालिकाको शीर्ष स्थान ओगटेको थियो।

एएफसी च्याम्पियन्स लिग
१८ देखि २५ नोभेम्बरसम्म एसियाका ‘ए’ श्रेणीको फुटबल क्लबबीच हुने एएफसी च्याम्पियन्स लिगको ३६औं संस्करणको फाइनल होम र अवेको ढाँचाअनुरूप जापान र साउदी अरेबियामा भएको थियो। जसअनुसार दुई खेलमा साउदी अरेबियाको अल हिलाललाई समग्रमा २–१ ले हराउँदै जापानको उरावा रेड डायमन्ड्सले उपाधि जितेको थियो।

वल्र्ड वेट लिफ्टिङ च्याम्पियनसिप
२८ नोभेम्बरदेखि ५ डिसेम्बरसम्म अमेरिकाको अनाहेममा वल्र्ड वेट लिफ्टिङ च्याम्पियनसिप आयोजना गरिएको थियो। जसमा ६८ राष्ट्रका ३ सय २८ पुरुष तथा महिला खेलाडीले विभिन्न ८ वटा तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। संयुक्तरूपमा इरान र कोलम्बियाले समान २ स्वर्ण, १ रजत र २ कांस्य जित्दै पदक तालिकाको शीर्ष स्थान ओगटेका थिए।

फिफा क्लब वल्र्डकप
६ देखि १६ डिसेम्बरसम्म युनाइटेड अरब एमिरेट्समा फिफा क्लब वल्र्डकपको १४औं संस्करण आयोजना भएको थियो। फिफामा आबद्ध ७ कन्फेडरेसनका क्लब च्याम्पियनले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिताको उपाधि स्पेनको रियल मेड्रिडले जितेको थियो। फाइनलमा दक्षिण अमेरिकी क्लब च्याम्पियन ब्राजिलका ग्रेमियोलाई १–० ले हराउँदै रियल मेड्रिडले तेस्रोपटक उक्त उपाधिमाथि आफ्नो नाम लेखाएको हो।

प्रतिक्रिया दिनुहोस्