धमाधम नयाँ जहाज ल्याउँदै



नेपाल समाचारपत्र
काठमाडौं
हवाई यात्रुको चाप बढ्दै गएपछि आन्तरिक उडानका निम्ति निजी हवाई सेवा कम्पनी र नेपाल वायुसेवा निगमले धमाधम नयाँ जहाज ल्याउने थालेका छन्। नयाँ हवाई कम्पनी स्थापना हुने क्रमसँगै सन् २०१७ मा मात्रै ११ वटा नयाँ विमान आयात भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

विमानस्थलको क्षमता विस्तार नभए पनि नयाँ जहाज थपिने र धेरै उडान हुँदा त्रिभुवन विमानस्थलमा घण्टौं एयर ट्राफिक जाम हँुदै आएको छ। यसैसन्दर्भमा बुद्ध एयरमा पनि सन् २०१८ को जनवरीभित्रै एटीआर ७२ विमान ल्याउँदै छ भने जुन महिनाभित्रै अर्काे एटीआर ७२ विमान ल्याउने योजना रहेको बुद्ध एयरका सेल्स मार्केटिङ डाइरेक्टर रूपेश श्रेष्ठले बताउनुभयो। पोखरा विमानस्थलको निर्माण पूरा भएपछि थप दुई विमान थपेर अन्तर्राष्ट्रिय उडान गर्ने योजना रहेको श्रेष्ठले बताउनुभयो। एयरलाइन्सका साना ठूला गरी हाल १० वटा जहाज छन्। बुद्धले दैनिक पोखरामा नियमित ६ उडान, विराटनगर ५, भद्रपुर २, जनकपुर २, भरतपुर ७ ,भैरहवा ४, नेपालगन्ज २, धनगढी २, तुम्लिङटार २ र माउन्टेन फ्लाइट ७ देखि १० टा उडान गर्दै आएको छ। एयरलाइन्सको १८ सिट क्षमताको दुईवटा, ४२ सिट क्षमताको ३ वटा र ७२ सिट क्षमताको ५ वटा जहाज रहेका छन्।

सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले पनि आन्तरिक उडानको लागि चीनबाट १७ सिट क्षमताको वाईटुवेल जहाज ल्याउँदै छ। यस्तै अन्तर्राष्ट्रिय उडानको लागि एयरबस ल्याउन लागेको छ। सन् २०१८ को मे महिनासम्म २ वटा नयाँ विमान आउने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताउनुभयो। नेपाल वायुसेवा निगमका मोर्डन आर्ट ६० जहाज दुईवटा र वाई १२ जहाज दुईवटा, टुवीनटर जहाज चार वटामार्फत् निगमले आन्तरिक उडान गर्दै आएको छ। निगमले टुवीनटरबाट हाल खोटाङको खानीडाँडा, भोजपुर, रुकुम, सिमीकोट बाजुरा, तुम्लिङटार, नेपालगन्ज, ताप्लेजुङ, जुम्ला र भोजपुरका क्षेत्रमा उडान गर्दै आएको छ।
त्यस्तै ५६ सिट क्षमताको मोडर्न आर्ट ६० जहाजमार्फत दैनिक विराटनगर, धनगढी र हप्तामा तीन दिन भद्रपुर र नेपालगन्जमा उडान गर्दै आएको छ। त्यस्तै १७ सिट क्षमताको वाई १२ जहाजबाट निगमले पोखरा, सिमरा, भैरहवामा उडान गर्दै आएको छ।

नयाँ विमान आयात गर्ने लागेको यती एयरलाइन्सले एटीआर ७२ मोडलको नयाँ विमान ल्याउने तयारी गरेको एयरलाइन्सका प्रबन्धक भीमराज राईले जानकारी दिनुभयो। एयरलाइन्सको ७२ सिट क्षमताको एउटा र ३० सिट क्षमताका सात वटा जहाजमार्फत् दैनिक भद्रपुर २ वटा , तुम्लिङटार एउटा, विराटनगर ४ वटा, जनकपुर एउटा, भरतपुर ५ वटा, भैरहवा र नेपालगन्ज ३–३ वटा र पोखरा ८ वटा नियमित उडान गर्दै आएको छ।

त्यस्तै सौर्य हवाई सेवा कम्पनीले एउटा विमान थप गर्ने तयारीमा रहेको कर्पाेरेट अफिसर रोजना नेपालले बताउनुभयो। उहाँले भन्नुभयो–‘सन् २०१८ मा ७० सिट क्षमताको सीआरटी ७०० जहाज ल्याउने योजान रहेको छ। सौर्य एयरलाइन्सले हाल २ वटा जहाजमार्फत् विराटनगर दैनिक ३, भद्रपुर १, भैरहवा २, धनगढी १ र नेपालगन्ज २ उडान गर्दै आएको छ।’

यसैबीच श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको मार्केटिङ म्यानेजर अनिल मानन्धरले जानकारी दिनुभयो।श्री एयरलाइन्सका ३ विमानबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीमा उडान भरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्