फ्रान्स लाससँग विवाह गर्न पाइने देश



पुष्करलाल श्रेष्ठ

वाइनका लागि संसारकै प्रसिद्ध देश फ्रान्सको राजधानी पेरिस विश्वका धेरै मानिसको सपनाको शहर हो। यस वर्ष सन् २०१७ नसक्दै विश्वभरबाट १ करोड ६१ लाख पर्यटक पेरिस पुगिसकेको तथ्यांक हालसालै सार्वजनिक भएको छ। आजभन्दा १ सय ३० वर्षअगाडि अर्थात् सन् १८८७ मा बनेको विश्वकै प्रसिद्ध आइफिल टावर हेर्न संसारका धेरै मान्छे मरिहत्ते गरेर पेरिस पुग्ने गर्छन्। यसभन्दा अघि दुई पटक पेरिस पुगेर पनि नजिकबाट झिलिमिली बत्तीले सजिएको चर्चित आइफिल टावरको अवलोकन गर्न पाइएको थिएन। दिउँसो जति पटक हेरे पनि झिलिमिली बत्ती बलिरहेको जस्तो आइफिल टावर राम्रो र सुन्दर नदेखिने रहेछ। त्यसैले पनि यसपटकको युरोप यात्रा गर्नुअघि नै साँझमा मात्र पेरिस पुग्ने समय मिलाएर बेल्जियमको राजधानी ब्रसेल्सबाट पेरिस हिँडेका थियौं।

लेखक दम्पतीलाई पेरिस शहर घुमाउँदै मित्र मुकुन्द अमात्य ।

एउटा अनौठो संयोगले यसपटक चाहिँ धित मर्ने गरी आइफिल टावर हेर्ने अवसर जुट्यो। त्यो पनि २० हजार वटा विभिन्न रंगका बत्तीले सजेको बेलुकीको चकमन्न सुन्दर आइफिल टावर। अघिल्लोपटक जाँदा पहिले नै होटल बुक नगरी पेरिस पुग्दा दुःख पाएको सम्झिएर काठमाडौंबाटै होटल बुक गराएका थियौं। तर, पेरिसमा हामीलाई लिन आउनुभएका चर्चित गीतकार किरण केसीले हामीले बुक गरेको होटलको ठेगाना हेरेपछि चकित हुँदै यो होटलमा पुग्न त तपाईंहरूलाई अझै यहाँबाट २ घण्टा हिँड्नुपर्छ भन्दा हामी छानाबाट खसेझैं भएका थियौं। कहिले होटल पुग्ने, कहिले फ्रेस हुने अनि कहिले आइफिल टावर पुग्ने ? हामीलाई लागेको थियो, हाम्रो भाग्यमै बेलुकीको सुन्दर आइफिल टावर हेर्ने अवसर लेखिएको रहेनछ।

६ करोड ३८ लाख जनसंख्या भएको फ्रान्समा विश्वभरबाट बर्सेनि ८ करोड २० लाख अर्थात् कुल जनसंख्याभन्दा बढी पर्यटक फ्रान्स घुम्न आउँछन् भन्दा जो–कोहीलाई पत्याउनै गाह्रो पर्छ। आफू जन्मेको देश भएर मात्र होइन योसमेत तीनपटक फ्रान्स पुगिसकेको यस लेखकलाई फ्रान्सभन्दा नेपाल धेरै कुराले सुन्दर लाग्छ। देशलाई राजनीतिक स्थिरतासहित पर्यटनको उचित पूर्वाधार बनाएर यहाँको प्राकृतिक सौन्दर्यबारे विश्वसामु राम्रो प्रवद्र्धन गर्न सकिए नेपालमा पनि फ्रान्समा जस्तै बर्सेनि करोडौं पर्यटक आउन सक्ने सम्भावना छ।

अनौठो यस कारणले हुन गयो कि बेल्जियमबाट हिँड्दासम्म हामी कसैले पनि गीतकार किरण केसीलाई चिनेका थिएनौं। मान्छे नै नचिन्ने भएपछि उहाँसँग पेरिसमा भेटघाट होला भनी सोच्ने कुरै भएन। गीतकार केसी पेरिसमा बसोबास गर्नुहुन्छ भन्नेसम्म सुनेका थियौं। त्यो पनि गीतकार केसीले लेख्नुभएको ‘तिमी आँखा म नानी, तिमी प्यासा म पानी’ बोलको एउटा चर्चित गीत संगीतकार स्वर्गीय राम थापाको संगीतमा प्रशिद्ध गायक प्रकाश श्रेष्ठसँग मेरी श्रीमती राजेश्वरी श्रेष्ठले गाएको कारणले। उक्त गीत रेडियो नेपालमा रेकर्ड भएको केसीको पहिलो गीत भएको उहाँसँग पेरिसमा भेट भएपछि मात्र थाहा पाइएको हो।

ब्रसेल्सबाट पेरिसका लागि हाम्रो बस हिँडेको करिब २ घण्टापछि बेल्जियमका गैरआवासिय संघ नेपालका संस्थापक अध्यक्ष रवीन्द्रमान श्रेष्ठले हामीलाई फोन गर्नुभएको थियो। संयोगवश उहाँले पेरिसबाटै फोन गर्नुभएको रहेछ। उहाँलाई हामी पेरिस जाने कुरा त थाहा थियो तर सोही दिन पेरिस आइरहेको कुराचाहिँ थाहा थिएन। हामी पेरिस आइरहेको थाहा पाएपछि उहाँले नै किरण केसीसँग मोबाइलमा कुराकानी गर्ने अवसर दिनुभएको थियो। तर, यसभन्दा अघि परिचय नहुनुका कारणले हाम्रो कुराकानी निकै छोटो र औपचारिकतामा सीमित थियो।

बेल्जियममा हुँदा प्रकाश श्रेष्ठ र मेरी श्रीमतीले गाएको किरण केसीको गीत रवीन्द्रमानको परिवारलाई सुनाएका थियौं। आफ्नो काम विशेषले फ्रान्स पुग्नुभएका रवीन्द्रमान र उहाँकी श्रीमती रजनी प्रधानले त्यस गीतबारे पेरिसमा किरण केसीसँग चर्चा गर्दै गायिका राजेश्वरी श्रेष्ठ श्रीमान्सहित युरोप भ्रमणमा रहेको बताउनुभएको रहेछ। हामी पेरिसतिरै आइरहेकाले रवीन्द्रजीले सरप्राइज होस् भनी किरणजीसँग कुरा गराउन खोज्नुभएको रहेछ। तर, झण्डै चालीस वर्षअघि रेडियोमा रेकर्ड भएको उक्त गीतबारे किरण केसीले सबै कुरा बिर्सिसक्नुभएका कारण उहाँले हामीसँग खुलेर कुरा गर्न नसकेको पेरिसमा उहाँसँग भेट भएपछि मात्र थाहा पाइयो।

पेरिसमा हाम्रो भेट भइसकेपछि किरणजी हामीलाई सुनाउँदै हुनुहुन्थ्यो– ‘रवीन्द्रजी र रजनी भाउजूले कुरा गर्दा मैले त हास्य कलाकार किरण केसीको गीत गाउनुभएको होला भन्ने ठानेर वास्तै नगरेको, त्यसैले फोनमा तपाईंहरूसँग मैले लामो कुरा नगरी रवीन्द्रजीलाई नै फोन फर्काएको। रवीन्द्रजीहरू पेरिसबाट फर्केको २ घण्टापछि रेडियो नेपालमा प्रकाश श्रेष्ठ र भाउजूले गाएको त्यो चर्चित गीत झसङ्ग याद आयो। अनि पो बेल्जियम फर्किसक्नुभएका रवीन्द्रजीसँग फेरि तपाईंकी भतिजी निकीको मोबाइल नम्बर लिएर तपाईंहरूसँग कुरा गरेपछि मात्र बल्ल सबै कुरा थाहा पाइयो। रेडियो नेपालमा मैले लेखेको पहिलो चर्चित गीत गाउने गायिका पेरिसमै आइरहँदासमेत झण्डै भेट्ने अवसर गुम्न लागेको। चालीस वर्षपछि पेरिसमै भेट्ने अवसर जुटाइदिएकोमा भगवान्लाई म लाख–लाख प्रणाम गर्छु।’

हामी पेरिस जाँदा नेदरल्यान्डको राजधानी एम्सटर्डममा पढिरहेकी हाम्री भतिजी निकी पनि हामीसँगै थिइन्। गीतकार किरण केसीसँग यसरी संयोगले भेट हुनु नै हाम्रा लागि धित मर्ने गरी आइफिल टावरको दृश्यावलोकन गर्ने अवसर जुट्न पुगेको थियो। किनभने उहाँको घर आइफिल टावरबाट मात्र एक मिनेटको दूरीमा रहेछ। हाम्रो होटल आइफिल टावरबाट २ घण्टा टाढाको दूरीमा रहेको र साँझको आइफिल टावर हेर्ने हाम्रो इच्छा बुझेपछि उहाँले आफ्नै निवासमा खाने–बस्ने प्रबन्ध मिलाउनुभएको थियो। चालीस वर्षपछि एउटा चर्चित गीतका गीतकार–गायिकाको भेटलाई स्मरणीय बनाउन पनि किरणजीले हामीलाई होटलमा बस्न अनुमति दिनुभएन।

४० वर्षपछि पेरिसमा भेटेका गीतकार किरण केसीसँग गायिका राजेश्वरी श्रेष्ठ ।

बरु किरणजीले नै हामीले बुक गरेको होटलमा फोन गर्नुभई हामी नआउने जानकारी दिनुभयो र हामीलाई रिफ्रेस गराई आफैं आइफिल टावर लिएर जानुभयो। हामीलाई आइफिल टावरमा छोडेर उहाँ एउटा जरुरी कामको बहाना गर्दै खानाको व्यवस्था गर्न पुनः आफ्नो निवास फर्कनुभयो। एक मिनेटको दूरीमा हाम्रो बसोबासको व्यवस्था मिलेपछि हामीलाई पनि के चाहियो र ? दुलहीझैं सिँगारिएको झिलिमिली बत्तीले चमक्क आइफिल टावर हेरेर रमाउँदै फोटो खिचेर बस्दा राति ११ बजिसकेको पत्तै पाउन सकिएन।

कला, संस्कृति, सम्पदाका धनी पश्चिम युरोपीय मुलुक फ्रान्स आफ्नो इतिहासका कारण पनि विश्वभर चर्चित छ। धेरै लामो समय राजाहरूले शासन गरेको यो मुलुकमा सत्रौं शताब्दीसम्म राजाहरूकै हालिमुहाली थियो। तर, सन् १७८९ मा भएको फ्रेन्च रिभुलुसनको नाममा चर्चित आन्दोलनले राजा लुई सोह्रौं र उनकी श्रीमती एमटोहनेटको सन् १७९३ मा टाउको छेडेर हत्या गरेपछि फ्रान्समा राजसंस्था सधैंका लागि अन्त्य भएको थियो। यो आन्दोलनमा फ्रान्सका लाखौं जनता मारिएका थिए। अत्यधिक महँगी, धनी र गरिबबीचको ठूलो खाडल, धनीले भन्दा गरिब जनताले बढी कर तिर्नुपर्ने र शक्ति जति सबै राजपरिवारमा निहित रहनुका कारण भड्किएको फ्रेन्च रिभुलुसन सन् १७९९ मा समाप्त भएको थियो।

स्वतःस्फूर्तरूपमा शुरू भएको जनआन्दोलन समाप्त भएसँगै फ्रान्समा नेपोलियनको उदय भएको थियो। नेपोलियनको उदय हुनुअघि युरोपका सबै जनता राजाहरूसँग डराउने गर्थे भने नेपोलियनको उदयपछि यसको ठीकविपरीत बचेखुचेका युरोपका अन्य देशका राजाहरू पनि नेपोलियनको क्षमता र प्रसिद्धिसँग डराउन थालेका थिए। फ्रान्सका जनता नेपोलियनलाई भगवान्जस्तै मान्थे। आफ्नो दिन प्रतिदिनको प्रसिद्धिले पछि गएर नेपोलियनमा अलि घमण्ड पनि चढ्न थाल्यो। मैले गर्न नसक्ने अब केही छैन भन्दै विश्वमाथि नै आधिपत्य जमाउन सन् १८८२ मा तत्कालीन सोभियत संघमाथि हमला गर्नु नै नेपोलियनको पतनको कारण बनेको थियो।

सोभियत संघको भौगोलिक अवस्था र शक्तिको सही मापन गर्न चुकेका नेपोलियनका ३ लाख ८० हजार सेना रुसी फौजसँगको युद्धपछि जम्मा २० हजार मात्र सकुशल फ्रान्स फर्कन सफल भएका थिए। रुसको चिसो र बलिया रुसी सेनासँग सामना गर्न नसकेपछि लाखौं फ्रेन्च सैनिक रुसमै मारिएका थिए। रुससँगको यो युद्धपछि निकै कमजोर भइसकेका नेपोलियनका सेना पछि बेलायतसँग भएको वाटरलु युद्धमा पराजित भएपश्चात् नेपोलियन युगको अन्त्य भएको थियो। यो युद्धमा नराम्ररी पराजित भएका नेपोलियनलाई बेलायतले सेन्ट हेलेना भन्ने बेलायतको विकट टापुमा निर्वासन जीवन बिताउन बाध्य बनाइएपछि उनको त्यहीं निधन भएको थियो।

प्रथम विश्वयुद्ध र दोस्रो विश्ययुद्ध दुवैमा विजयी हासिल गरे पनि फ्रान्सले ती युद्धहरूमा ठूलै क्षति व्यहोर्नुपरेको थियो। पहिलो र दोस्रो विश्वयुद्धमा फ्रान्सले २३ लाख ३७ हजार ८ सयभन्दा बढी सेना गुमाउनुपरेको थियो भने आर्थिक र भौतिकरूपमा गुमाएको नोक्सानीको त लेखाजोखा नै छैन भन्दा हुन्छ। यति हुँदा पनि आणविक शक्तिमा फ्रान्स अहिले पनि अमेरिका र रुसपछि विश्वकै तेस्रो शक्तिशाली मुलुक हो। फ्रान्ससँग अहिले पनि ३ लाख ५९ हजारभन्दा बढी निपुण सैनिक छन्।

बेल्जियम, लक्जेम्बर्ग, जर्मनी, स्वीजरल्यान्ड, इटली, मोनाको, एन्डोरा र स्पेनसँग सीमा जोडिएको फ्रान्स संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनको संस्थापक देश पनि हो। धर्मनिरपेक्ष र प्रजातान्त्रिक मुलुक फ्रान्सका ३१ प्रतिशत जनता भगवान् मान्दैनन्। फ्रान्स विकास हुनुमा यहाँको पर्यटन उद्योगले ठूलो भूमिका खेलेको देखिन्छ। ६ करोड ३८ लाख जनसंख्या भएको फ्रान्समा विश्वभरबाट बर्सेनि ८ करोड २० लाख अर्थात् कुल जनसंख्याभन्दा बढी पर्यटक फ्रान्स घुम्न आउँछन् भन्दा जो–कोहीलाई पत्याउनै गाह्रो पर्छ। आफू जन्मेको देश भएर मात्र होइन योसमेत गरी तीनपटक फ्रान्स पुगिसकेको यस लेखकलाई फ्रान्सभन्दा नेपाल धेरै कुराले सुन्दर लाग्छ। देशलाई राजनीतिक स्थिरतासहित पर्यटनको उचित पूर्वाधार बनाएर यहाँको प्राकृतिक सौन्दर्यबारे विश्वसामु राम्रो प्रवद्र्धन गर्न सकिए नेपालमा पनि फ्रान्समा जस्तै बर्सेनि करोडौं पर्यटक आउन सक्ने सम्भावना छ।

खेलकुद र मनोरञ्जनमा उत्तिकै रमाउने फ्रान्सको टुर दि फ्रान्स साइकल दौड प्रतियोगिता विश्वभर नै चर्चित छ। देशका विभिन्न ठाउँबाट शुरू भई पेरिसमा आएर अन्त्य हुने ३५ सय किलोमिटर लामो यो दौड पूरा गर्न तीन हप्ता लाग्ने रहेछ। यसै गरी फ्रान्समा फुटबल पनि जर्मनीमा जस्तै लोकप्रिय छ। फ्रान्सले सन् १९९८ मा फिफा विश्वकप फुटबल जितिसकेको छ भने यहाँ सन् १९२४ र १९९० मा समर ओलम्पिक खेलको समेत आयोजना भइसकेको छ। अहिले विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो खेल्ने स्पेनको प्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडका कोच जिनेदिन जिदान फ्रान्सकै पूर्वफुटबल खेलाडी हुन्। फ्रान्सले विश्वकप जित्दा जिदानले महत्त्वपूर्ण भूमिका खेलेका थिए। फ्रान्समा साइकल दौड र फुटबलसँगै टेनिस खेल पनि त्यत्तिकै लोकप्रिय छ।

३९ वर्षीय वर्तमान राष्ट्रपति इमानियल म्याक्रोन फ्रान्सको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कान्छो राष्ट्रपति हुन्। फ्रान्समा यसै वर्ष सन् २०१७ मा सम्पन्न नेपालमा जस्तै २३ अप्रिल र ७ मे गरी दुई चरणमा भएको चुनावमा म्याक्रोनले ६६ प्रतिशत पपुलर भोट ल्याएपछि राष्ट्रपति चुनिएका हुन्। यसभन्दा अघि उनी पूर्वफ्रेन्च राष्ट्रपति फ्रान्कासे होलान्डेका अर्थमन्त्री भए पनि उनले अर्थमन्त्रीबाट राजीनामा गरी नयाँ पार्टी बनाएर चुनावी मैदानमा होमिएका थिए। नयाँ पार्टीबाट चुनाव लडे पनि तीक्ष्ण बुद्धि भएका लोकप्रिय युवा नेताले पुराना पार्टीहरूलाई जिल्याएर चुनाव जिती कम उमेरमै राष्ट्रपति बन्न सफल भएका हुन्।

राष्ट्रपति इमानियलको व्यक्तिगत जीवन पनि अनौठो खालको छ। उनकी श्रीमती ब्रिगिटी म्याक्रोन उनीभन्दा २४ वर्ष जेठी छिन्। ३१ डिसेम्बर १९७७ मा जन्मेका राष्ट्रपति इमानियलकी श्रीमती अहिले ६४ वर्ष पुगिसकेकी छिन् भने उनका पहिलेका पतिका सन्तानहरूबाट उनका ७ जना त नातिनातिना नै छन्। इमानियलकी पत्नी ब्रिगटी स्वयं उनी पढेका हाइस्कुलको शिक्षक तथा उनकी गुरुआमा हुन्। संयोगले यसपटक फ्रान्समा चुनाव भइरहँदा लेखक पनि युरोप भ्रमणमै रहेका कारण फ्रान्सको चुनावलाई नजिकबाट हेर्ने अवसर प्राप्त भएको थियो।

वर्षको झण्डै ९ करोड पर्यटक आउने देश फ्रान्सका कुन–कुन ठाउँ घुम्ने भनी सुझाव दिन कठिन छ। तर, यसपटकको हाम्रो फ्रान्स भ्रमण भने ३७ वर्षअघि काठमाडौंबाट होटल म्यानेजमेन्ट पढ्न पेरिस पुग्नुभएका मित्र मुकुन्द अमात्यका कारण अविस्मरणीय हुन पुगेको थियो। अमात्य फ्रान्समा होटल म्यानेजमेन्ट पढ्ने दोस्रो नेपाली हुनुहुन्छ। यस देशका सबै ठाउँ एकसेएक भएकैले यति धेरै पर्यटक ओइरिने गरेको हामीलाई पेरिस घुमाउँदै गर्दा अमात्यजीले बताउनुभएको थियो। उहाँको सौहार्दता तथा सहयोगले धेरै कम समयमा हामीले पेरिसमा हेर्नलायक लगभग सबै संरचना हेर्न भ्याएका थियौं।

वर्षको करोडौं पर्यटक पुग्ने फ्रान्सको सौन्दर्यता र पुग्नै पर्ने ठाउँहरूको यहाँ वर्णन गरी साध्य हुँदैन। तैपनि आफूले पहिले र अहिले भ्रमण गरिसकेका फ्रान्सका केही हेर्नै पर्ने र पुग्नै पर्ने ठाउँहरूबारे केही उल्लेख गर्न चाहेको छु। जस्तो– फ्रान्स भ्रमणको योजना बनाउँदा सकिन्छ र समयले साथ दिन्छ भने पेरिससँगै लियोन, नाइस, टोलुसमा एकपटक पुग्नुपर्ने सुझाव दिन चाहन्छु। पेरिस मात्र घुम्ने हो भने आइफिल टावरको त कुरै भएन, प्यालेस अफ भर्सिली, बासिले ओपेरा हाउस, नोरमेन्दी, म्युजियम स्क्वायर, नेपोलियन म्युजियम, आउर लेडी, आर्क डे ट्रोम्फे आदि भने छुटाउनै नहुने ठाउँ हुन्।

फ्रान्सका केही अचम्म लाग्ने कुरा

फ्रान्सका राजा किंग लुई १९औं केवल २० मिनेटका लागि मात्र राजा भएका थिए।
सवारीसाधनमा नम्बर प्लेट हाल्ने चलन फ्रान्सबाट शुरू भएको हो।
फ्रान्समा ट्रेनमा सवार हुन जनावर तथा किरा–फट्याङ्ग्राका लागि समेत टिकट किन्नुपर्छ।

फ्रान्समा राम्ररी बच्चा हुर्काउने अभिभावकलाई पुरस्कार दिने चलन छ।
फ्रान्स एउटा यस्तो अचम्मको देश हो, जहाँ लाससँग मजाले विवाह गर्न पाइन्छ। आफ्ना प्रेमी वा प्रेमिका विवाह गर्नुभन्दा अघि नै मृत्यु भए मृतकको लास गाड्नुअघि कफिनमा राखिएको लाससँग समेत विवाह गर्न अनुमति दिइन्छ।

आइफिल टावरसम्बन्धी रोचक कुराहरू

संसारकै प्रसिद्ध संरचना मानिएको आइफिल टावर बनाउन २ वर्ष समय लागेको थियो। यसको निर्माण सन् १८८७ मा शुरू भई सन् १८८९ मा सम्पन्न भएको थियो। फलामैफलामले बनेको यो टावर निर्माण गर्न ७ हजार ३ सय टन फलाम खपत भएको थियो। यो टावरको नाम यसको डिजाइन गर्ने इन्जिनियर गुस्ताबे आइफिलको नाममा राखिएको हो।

सन् १८८९ मा पेरिसमा भएको वल्र्ड ट्रेड फेयरको मूलढोका बनाइएको यो टावरलाई भत्काउन त्यहाँका बुद्धिजीवी तथा नागरिक समाजले त्यस बेला ठूलो प्रयास गरेका थिए। राजधानी पेरिस शहरको बीचमै ठडिएको यस संरचनाले पेरिसको सौन्दर्यता नै बिगारेको भन्दै उनीहरू आन्दोलित भएका थिए।

तर, अहिले भने यही टावर संसारकै सबैभन्दा बढी पैसा कमाउने संरचना बनेको छ। अहिलेसम्म यो टावर संसारका २५ करोड पर्यटकले हेरिसकेका छन्। यहाँ दिनहुँ सरदर २५ हजार पर्यटक आउने गर्छन्।

सर्वसाधारणका लागि खुलेकै दिनमा ३० हजार मानिस यो टावर हेर्न पुगेका थिए। सन् २०१५ मा मात्र यो टावर हेर्न विश्वभरबाट ६९ लाख १० हजार पर्यटक ओइरिएका थिए। वल्र्ड ट्रेड फियरको अन्तिम दिनसम्म यो टावर १८ लाख ९६ हजार ९ सय ८७ जनाले हेरिसकेका थिए।

यो टावर बनेको ४१ वर्षसम्म संसारमै सबैभन्दा अग्लो टावर बन्ने रेकर्ड यसैको नाममा थियो। अमेरिकी शहर न्यूयोर्कमा क्राइस्टर भवन बनेपछि मात्र यसको रेकर्ड भंग भएको थियो।

यो फलामे टावरलाई खिया नलागोस् भनी अहिलेसम्म १९ पटक रंगरोगन लगाइसकिएको छ। यो टावरलाई खिया लाग्नबाट बचाउन एकपटक रंग लगाउँदा ६० टन रंग खर्च हुन्छ।

तीन तलाको यो टावरको हरेक तलामा शौचालय र रेस्टुरेन्टको राम्रो व्यवस्था गरिएको छ। बेलुकीको समयमा यो टावरमा रहेका २० हजारभन्दा बढी रंगीचंगी बत्ती बालिने भएकाले यो टावर दिउँसोभन्दा बेलुकी हेर्न मजा आउँछ। केही राष्ट्रिय पर्वहरूमा बाहेक यो टावर हरेक दिन अवलोकन गर्न दिइन्छ।

सन् २०११ मा एउटा अमेरिकी कम्पनीले गरेको अनुमानअनुसार यस्तो टावर बनाउनुपरे नेपालीमा हिसाब गर्दा कम्तीमा ५० अर्ब नेपाली रुपियाँ लाग्ने अनुमान गरिएको थियो।

यो टावरले कमाएको प्रसिद्धिलाई ध्यानमा राखेर चीन, मेक्सिको, बेलायत, अमेरिका र नेदरल्यान्डमा समेत सानो तर यसको हुबहु नक्कल बनाई प्रदर्शनीमा राखिएको छ। दिनकै २५ हजार पर्यटक पुग्ने भीडमा लाइन लागेर बस्दा समयको बर्बादी मात्र नभई पकेटमारको शिकार पनि हुनसक्ने डर भएकाले यो टावर चढेर पेरिसको सुन्दर दृश्य हेर्न चाहने पर्यटकले अनलाइनबाटै टिकट खरिद गरेर जानु राम्रो हुने सुझाव छ।

प्रतिक्रिया दिनुहोस्