सप्तरी खुल्ला दिसा मुक्त घोषणा हुँदै



शिवहरीप्रसाद भट्टराई, राजविराज । सप्तरीलाई खुल्ला दिसा मुक्त घोषणा गर्ने अभियानले अन्तिम चरणमा पुगेका वेला शौचालय निर्माणको तिव्रता पनि वढेको छ । यसैक्रममा जग्गा अभावमा शौचालय वनाउन नपाएका दुई घर सुकुम्वासी परिवारलाई सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले जग्गा उपलब्ध गराएका छन् ।
प्रधानले राजविराज ५, इटहरी विष्णुपुर निवासी विटवादेवी दास र रिना सदाको परिवारलाई शौचालय निर्माणका लागि सर्त सहित जग्गा उपलब्ध गराएको वडा अध्यक्ष समिर झाले जानकारी दिए । ‘शौचालय वाहेक अन्य कुनै पनि गतिविधि गर्न नपाउने सर्त सहित जग्गा पाएपछि निर्माण काम पनि सुरु भएको छ’ झाले भने । प्रधानले जग्गा उपलब्ध गराएपछि दुई घर सुकुम्वासीको समस्या समाधान भए पनि अन्य हजारौं सुकुम्वासीको समस्या भने ज्यूँका त्यूँ छ । सन २००४ मा विभिन्न अन्तर्राष्ट्रिय संघ÷संगठनले गरेको सर्भेक्षण अनुसार सप्तरीमा करिव ३६ हजार परिवार भुमिहिन र सुकुम्वासीको वसोवास छ । अधिकांश भुमिहिन÷सुकुम्वासीहरु विटवादेवी र रिनाकै जस्तो सडक किनार र सरकारी जग्गामै झुप्रो वारेर वासेका छन् । तर, वाँकी भुमिहिनको भने शौचालयका लागि विटवादेवी र रिनाको जस्तो विकल्प छैन ।
उनीहरु माथि पछिल्लो समय शौचालय वनाउनै पर्ने दवाव परिरहेको छ । तर, शौचालय कहाँ र कसरी वनाउने भन्ने विषयमा भने कसैले सहयोग गरिरहेको छैन । वेल्ही चपेना गाउँपालिका–५, मलेकपुर स्थित हुलाकी सडक किनारमा वसेका वावुजी राम भन्छन्–‘सडक विस्तारका क्रममा घर सहित उठिवास हुनुपर्ने अवस्था छ, शौचालय वनाएर के गर्नु ?’
मलेकपुरमा १० घर मरिक र ४० घर राम परिवार सडक किनार र सरकारी जग्गामा वासोवास गरिरहेको रामले वताए ।

प्रतिक्रिया दिनुहोस्