विद्यार्थीहरुलाई राष्ट्रिय सुरक्षा दलको तालिम



चिरञ्जीवी मास्के, दोलखा । सदरमुकाम चरिकोटमा रहेको रणभीम गणले मंगलवार राष्ट्रिय सुरक्षा दलका क्यारेटहरुको पासआउट कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा राष्ट्रिय सुरक्षा दलको तालिम लिएका क्यारेटहरुले आफुले तालिममा लिएको सीप प्रर्दशन गरेका थिए ।
पासआउट कार्यक्रममा रणभीम गणका गणपति झवेन्द्ररेस्मी मगरले राष्ट्रिय सुरक्षा दलको तालिममा सहभागि सम्पूर्ण क्यारेटहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले यो तालिम नेपाली सेना बनाउने तालिम नभएको तर विद्यार्थीहरुलाई आत्मविश्वासी र राष्ट्रियता प्रति पूर्ण रुपमा सर्मपित गर्ने बताए ।
नेपाल सरकारले २०२२ सालबाट सुरु गरेको राष्ट्रिय सुरक्षादलको तालिम दोलखा जिल्लामा भने गतबर्षबाटमात्र सुरु भएको हो । जिल्लामा दोस्रो पटक सञ्चालन भएको तालिममा सदरमुकाम चरिकोट स्थित कालिञ्चोक उच्च माविका १८ छात्र र १७ छात्रा तथा जिरी उच्च माविका १७ छात्र र १७ छात्रा गरी ६९ जनाको सहभागिता रहेको रणभीम गण चरिकोटले जनाएको छ ।
तालिमले विद्यार्थीहरुलाई अनुशासीत, आत्मविश्वासी, राष्ट्रप्रेमी, आत्मरक्षा गर्न सक्षम र दैवी विपत्तिको बेलामा सहयोग गर्न सक्षम बनाउने गणपति झवेन्द्ररेस्मी मगरले बताए ।
गत असार ३ गतेबाट ७९ दिनसम्म सञ्चालन भएको तालिममा खुकुरी डिल, मास पिटी, टाईकेण्डो, नेपाली सेना सम्बन्धि जानकारी र यरोविक सम्बन्धि प्रयोगात्मक ज्ञान दिईएको गणले जनाएको छ । अब २१ दिन नेपाली सेनाको क्याम्पमा सामूहिक तालिम सञ्चालन गरिने र त्यसमा उत्कृष्ठ हुनेलाई विदेशमा समेत तालिमको लागि लगिने गणपति रेस्मीमगरले बताए । रणभीम गणमा तालिम लिएका राष्ट्रिय सुरक्षा दलमा आवद्ध विद्यार्थीहरुलाई मोरङको याङसीला क्याम्पमा सामूहिक तालिमको लागि लगिने गणपति रेस्मीगरले बताए । राष्ट्रिय सुरक्षा दलको यो तालिम देशको बिभिन्न ७३ वटा विद्यालयमा सञ्चालन भएको र तालिममा झण्डै ६ हजार विद्यार्थी सहभागि रहेको रणभीम गणका मेजर सन्तोष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्