हतियार १६ वर्षसम्म फिर्ता भएन



 

म्याग्दी । सशस्त्र द्वन्द्वका समयमा १६ वर्ष अगाडि सरकारलाई बुझाइएको हतियार यहाँका एक व्यक्तिले फिर्ता लैजान पाएका छैनन् ।

धौलागिरि गाउँपालिका–१ गुर्जाका ऋद्धबहादुर छन्त्यालले नेपाल सरकारको निर्देशनानुसार २०५८ साल फागुन २० गते बेनीमा रहेको कालीप्रसाद गणलाई एकनाले बन्दुक बुझाएका थिए । सरकारको आग्रहलाई स्वीकार्दै सेनालाई हतियार बुझाइए पनि शान्ति प्रक्रिया शुरु भएको लामो समय भइसक्दा समेत राज्यले आफ्नो अनुमतिप्राप्त बन्दुक फिर्ता नगरेको छन्त्यालले बताउनुभयो ।
इजाजत नं २७७१ भएको एकनाले १२ बोरे ओके ३९ नंको एक थान बन्दुक बुझाए पनि शान्ति प्रक्रिया आएसँगै पटक पटक सो गणमा ताकेता गर्दासमेत आफ्नो हतियार फिर्ता नभएको उहाँको गुनासो छ ।

उक्त गणले आफ्नो हतियार नभेटिएको भन्ने प्रतिक्रिया दिएपछि छन्त्यालले रक्षामन्त्री भीमसेनदान प्रधानलाई भेटी आफ्नो हतियार फिर्ताका लागि ध्यानाकर्षण गराउनुभएको छ । उहाँले हालै रक्षा मन्त्रालयमा पुगेर मन्त्री प्रधानलाई ज्ञापनपत्र बुझाउँदै आफूले तत्कालीन सेनालाई बुझाएको हतियार खोजविन गरी फिर्ता गर्न र हतियार हराएको भए उचित क्षतिपूर्ति दिन माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्