भैरहवा ग्लाडियटर्स प्लेअफमा



विराटनगर वारियर्सका बलर वसन्त रेग्मी काठमाडौं किंग्सविरुद्ध बलिङ गर्दै । तस्वीरः उजोल डंगोल⁄काठमाडौं

नेपाल समाचारपत्र
काठमाडौं
कीर्तिपुरमा जारी टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडियटर्सले प्लेअफमा स्थान बनाएको छ।
सोमबार त्रिवि मैदानमा भएको खेलमा भैरहवाले पोखरा राइनोजलाई ७ विकेटले हराएपछि प्लेअफमा पुगेको हो। प्रतियोगितामा प्लेअफमा पुग्ने भैरहवा दोस्रो टोली हो। यसअघि विराटनगर वारियर्सले लगातार चार खेलमा जितेर प्लेअफमा स्थान सुरक्षित गरेको थियो। ६ टोली सहभागिता प्रतियोगितामा दुई टोलीको प्लेअफमा पुग्न बाँकी रहेको छ।
भैरहवाले पोखराले दिएको १ सय ९ रनको सहज लक्ष्य ३ विकेटको क्षतिमा १४ बल बाँकी राखी भेटाएको थियो। ३७ रनमा तीन विकेट गुमाएको स्थितिमा आरिफ शेख र शरद् भेषवाकरले चौथो विकेटका ७३ रनको साझेदारी गरेर टोलीको जित सुनिश्चित गरेका थिए। आरिफ ४८ रनमा र कप्तान शरद् ३२ रनमा नटआउट रहे। पोखराका बलरमा कप्तान शक्ति गौचनले एक मात्र विकेट हात पार्दा ताज वालीले दुई विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङको गर्ने निर्णय लिएको पोखरा राइनोज १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रनमै खुम्चिएको थियो। टोलीका लागि इसरार उल्लाहले सर्वाधिक ४१ रनको योगदान दिए। भैरहवाका लागि कप्तान शरद् भेषवाकर, दीपेश श्रेष्ठ र कृष्ण कार्कीले समान २ विकेट लिए।
यस्तै अर्को खेलमा विराटनगरले लगातार पाँचै खेल जितेर लिगमा अपराजित बन्यो। हिजो भएको खेलमा विराटनगरले काठमाडौं किंग्स इलेभेनलाई ८ रनले हरायो। विराटनगरले १ सय ४८ रनको लक्ष्य दिएकोमा काठमाडौंले १ सय ३९ रनमा रोकिएर हार बेहोरेको थियो।

प्रतिक्रिया दिनुहोस्