एक्स्प्रेस वे निर्माणका लागि उपकरण भाडामा



रोविन पौडेल, काठमाडौं
नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं–तराई मधेस एक्स्प्रेस वे निर्माणका लागि उपकरण भाडामा लिएर काम शुरू गर्ने भएको छ। सेनाले थप १५ दिने शिलबन्दी बोलपत्र आह्वान प्रकाशित गर्दै सेनाले निमाण उपकरण तथा मेसिनरी साधन भाडामा लिन लागेको जानकारी दिएको छ।

सेनाले यसअघि पनि शिलबन्दी बोलपत्रको १५ दिने सूचना जारी गरेको थियो। सो अवधिमा बोलपत्रका लागि पर्याप्त कम्पनीले फाराम नबुझाएपछि म्याद थपिएको सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालका अनुसार एक्सप्रेस वे निर्माण तयारीका लागि पर्याप्त समय भएको तथा सोचेअनुरूप कम्पनी यसमा इच्छुक नेदेखिएकाले बोलपत्र आह्वानको पुनः १५ दिने सूचना जारी गरेको हो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै दाहालले भन्नुभयो– ‘हामी धेरैभन्दा धेरै कम्पनीलाई शिलबन्दी बोलपत्रमा समावेश गराउन चाहन्छौं। यसअघिको सूचनाबाट सोचअनुसार राष्ट्रियस्तरका निर्माण व्यवसायी सम्पर्कमा आएनन्। यसैकारण पुस २० गतेसम्मका लागि बोलपत्र आवेदनका लागि समय सीमा थपेका हौं।’

यसअघिको बोलपत्र आह्वानमा ४७ कम्पनीले आवेदन दिएको प्रवक्ता दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि प्रकाशित सूचनाअनुसार एक्स्प्रेस वेको कूल नौ खण्डमा निर्माण परेको छ। तीमध्ये सबैभन्दा धेरै तेस्रो खण्डमा ९ वटा आवेदन परेकोमा पाँचौ खण्डमा एउटा मात्र आवेदन परेको थियो।

त्यस्तै दोस्रो खण्डमा आठ र सातौं खण्डका लागि निर्माण उपकरण भाडामा दिन ७ वटा कम्पनी इच्छुक देखिएका थिए। पहिलो र चौथो खण्डमा पनि क्रमशः ५⁄५ कम्पनी इच्छुक देखिँदा बाँकी खण्डमा पनि ४⁄४ कम्पनी इच्छुक देखिएका थिए।

सेनाले मकवानपुरको बुदुने र बाराको निजगढमा निर्माण व्यवसायीले निर्माण उपकरण तथा मेसिनरी साधन भाडामा दिने सम्बन्धी बोलपत्र फारम बुझाउन सक्ने स्थान तोकेको छ।

पहिलो चरणमा दुई प्याकेजका लागि राष्ट्रियस्तरका निर्माण व्यवसायीलाई बोलपत्रमा सहभागी हुन भनेको हो। ती प्याकेजको बोलपत्र जमानत वापतको रकम क्रमशः ७५ लाख र ८३ लाख रहेको छ। सेनाले यसअघि नै दीर्घकालीन रूपमा २ अर्ब बराबरको निर्माण सामग्री खरिदका लागि प्रक्रिया अगाडि बढाए पनि तत्कालका लागि निर्माण व्यवसायीबाट उपकरण भाडामा लिन लागेको हो।

सेनाले सडक निर्माण कार्यमा सञ्चालन हुने हेभी मेसिनरी तथा उपकरण प्रतिघण्टा दररेट तथा उपकरणको मर्मत ढुवानी तथा उपकरण सञ्चालन गर्दा आवश्यक इन्धन तथा लुब्रिकेन्टस्को खर्च उल्लेख गर्न भनेको छ। बोलपत्रमा यी सबै कुरा सामेल गर्नुपर्ने र त्यो सम्पूर्ण व्यवसायीले नै बेहोर्नुपर्ने छ।

प्रवक्ता दाहालका अनुसार बन्दोबस्तका लागि पर्याप्त समय रहेकाले अहिले हतार नभएको तर सकेसम्म चाँडै नै बिडिङ जित्ने कम्पनीको नाम सार्वजनिक गरिने छ।

द्रुतमार्ग निर्माणको तयारीस्वरूप सेनाले अत्यााधुनिक हेभी इक्युपमेन्ट मेसिन भाडामा लिन लागेको जनाएको छ। सेनाले यसअघि नै एक्जाभेटर, ह्विल लोडर, एयर कम्प्रेसर, रोलर, डोजर, रक ब्रेकर, ग्रेडर मेसिन आदि खरिद गरिसकेको छ। कुल ७६ किलोमिटर लामो एक्सप्रेस वे निर्माणको सम्पूर्ण जिम्मा सेनाले लिएको छ। १ खर्ब १२ अर्ब लागतमा निर्माण हुने भनिएको सो आयोजना काठमाडौंलाई तराईसँग जोड्न महत्वपूर्ण मानिएको छ।

यसअघि सेनाले एक्सप्रेस वे निर्माणका लागि सेनाले आवश्यक शिविर खडा गरिसकेको छ। ७६ दशमलव २ किमि लामो एक्सप्रे वेमा घटीमा ६५ किलोमिटर प्रतिघण्टा र बढीमा १ सय २० किलोमिटर प्रतिघण्टा गतिमा सवारी चलाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्