मुद्रास्फीति भारतको भन्दा कम, चालू आवमध्ये बढी



नेपाल समाचारपत्र
काठमाडौं
कात्तिक महिनामा नेपालको मूल्यवृद्धि भारतको भन्दा कम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। कात्तिमा नेपाल र भारतमुलुक बीचको उपभोक्ता मुद्रास्फ्रीति अन्तर १ प्रतिशत रहेको हो। राष्ट्र बैंकका अनुसार २०७४ कात्तिक महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ९ प्रतिशत रहेकोमा भारतको ४ दशमलव ९ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा भारतको मुद्रास्फीति उच्च रहनुमा भारतीय बजारमा तरकारीको मूल्यमा भएको उच्च वृद्धि (२२ दशमलव ५ प्रतिशत) एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिको प्रभाव रहेको राष्ट्र बैंकको भनाई छ। अघिल्लो वर्षको सोही अवधिमा नेपालको मूल्य वृद्धि भारतको भन्दा १ दशमलव २ प्रतिशत बढी रहेको थियो। सो अवधीमा नेपाल र भारतमा यस्तो मुद्रास्फ्रीति क्रमशः ४ दशमलव ८ प्रतिशत र ३ दशमलव ६ प्रतिशत रहेका थिए।

चालू आर्थिक वर्षको कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति केही वृद्धि भई ३ दशमलव ९ प्रतिशत पुगेको छ। कात्तिकमा तरकारी, मदिराजन्य पेय पदार्थ लगायतमा भएको मूल्य वृद्धिले असोजमा ३ दशमलव १ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

२०७४ साउन र भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति क्रमशः २ दशमलव ३ र ३ दशमलव ४ प्रतिशत रहेको थियो। अघिल्लो वर्षको सोही अवधिको मुद्रास्फीति ४ दशमलव ८ प्रतिशतको तुलनामा भने चौथो महिनाको मुद्रास्फीति कम हो।

गत वर्षको कात्तिकमा मुद्रास्फ्रीति ४ दशमलव ८ प्रतिशत थियो। २०७२ को कात्तिकमा भूकम्प र नाका बन्दीको कारण मूल्य वृद्धि १० दशमलव ४ प्रतिशत पुगेको थियो। दुई वर्ष अघिको मूल्यका आधारमा यस वर्ष वस्तु तथा सेवाको मूल्य घटे पनि चालू आवको पहिलो चार महिनामध्ये कात्तिक महिनाको मूल्य वृद्धि सबैभन्दा बढी हो।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आवको चौथो महिनाको तथ्यांकअनुसार खाद्य मुद्रास्फीति २ दशमलव ३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै गैर–खाद्य मुद्रास्फीति ५ दशमलव १ प्रतिशत रहेको छ। अघिल्लो वर्षको कात्तिकमा खाद्य तथा गैर–खाद्य मुद्रास्फीति क्रमशः २ दशमलव ६ र ६ दशमलव ५ प्रतिशत रहेको थियो।
खाद्य समूहमा दलहन तथा गेडागुडीको मूल्यमा २४ दशमलव १ प्रतिशत तथा मसलाको मूल्यमा ५ दशमलव ५ प्रतिशतले कमी आएको कारण समग्र खाद्य मुद्रास्फीति अघिल्लो वर्षको भन्दा न्यून रहन गएको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा तरकारीको मूल्य ९ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ। गैरखाद्य उपभोग्य सामाग्रीअन्तर्गत लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, हाउजिङ तथा युटिलिटि र स्वास्थ्यलगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य मुद्रास्फीति पनि कम रहन गएको हो।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५ दशमलव ४ प्रतिशत, तराईमा ३ दशमलव ७ प्रतिशत र पहाडमा ४ दशमलव ७ प्रतिशत रहेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक महिनामा सबैभन्दा काठमाडौं उपत्यकाको मूल्यवृद्धि ३ दशमलव २ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा हिमाली क्षेत्रअन्तर्गत रहेको चन्दननाथ बजार केन्द्र, जुम्लामा भएको उच्च मूल्य वृद्धिका कारणले तुलनात्मक रूपमा अन्य क्षेत्रको भन्दा हिमाली क्षेत्रको मूल्य वृद्धि अधिक रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ४ प्रतिशत, तराईमा ५ दशमलव १ प्रतिशत, पहाडमा ६ दशमलव २ प्रतिशत र काठमाडौं उपत्यकामा ३ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्