चालू आवमा डेढ लाख विदेशिए



नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम देखिएको छ।

गत आवको पहिलो पाँच महिनामा विदेशिने कामदारको संख्या १ लाख ४७ हजार रहेकोमा चालू आर्थिक वर्षको मंसिरसम्म रोजगारीका क्रममा विदेशिने संख्या १ लाख ४० हजार ८ सय ५४ जना नेपाली रहेको छ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकले व्यक्तिगत तर्फ श्रम स्वीकृति लिनेको संख्या पनि घटेको छ। चालू आवको कात्तिकमा ३१ हजार ७ सय जनाले व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएकोमा मंसिरमा त्यो घटेर २४ हजार ४ सय ९ पुगेका छन्।

विभागका अनुसार चालू आर्थिक वर्षको मंसिरमा संस्थागत रूपमा श्रम अन्तिम स्वीकृति लिई २७ हजार ९ सय ६५ जना विदेशिएका छन्। अघिल्लो महिनामा यो संख्या २८ हजार ५ सय २२ रहेको थियो। चालू आवमा रोजगारीको क्रममा विदेशिनेमध्ये १ लाख ३१ हजार ८ सय ७० जना पुरुष रहेका छन् भने ८ हजार ३ सय ९३ जना महिला छन्। असोज महिनामा २४ हजार ५ सय ६९ जना संस्थागत रूपमा वैदेशिक रोजगारीमा गएका थिए।

कात्तिकमा विदेशिने महिला कामदारको संख्या १ हजार ५ सय २२ रहेको छ जुन अघिल्लो महिनाको तुलनामा १ सय ८१ जनाले कम हो।
सबैभन्दा बढी मलेसियामा पछिल्लो समय मलेसिया जाने नेपाली कामदारको संख्यामा उच्च वृद्धि हुन थालेको भने साउदी र कतार जानेको संख्यामा उल्लेख्य कमी आउन थालेको छ। गत वर्ष साउदीमा देखिएको आर्थिक समस्या र कतारमाथि खाडी मुलुकले लगाएको आर्थिक नाकाबन्दीका कारण नेपालबाट रोजगारीका मलेसिया जाने कामदारको संख्या बढेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

कात्तिकमा पनि चालू आवको अघिल्ला महिनामा जस्तै सबैभन्दा बढी नेपाली कामदार मलेसिया गएका छन्। खाडी मुलुकमा देखिएको मन्दी र मलेसियन रिंगिटमा आएको केही सुधारले मलेसियामा रोजगारीमा जाने कामदारको संख्यामा सुधार देखिएको विश्लेषण गरिएको छ।

चालू आवको पहिलो ५ महिनामा मलेसियापछि धेरै नेपाली कामका लागि जाने मुलुकमा कतार दोस्रो स्थानमा रहेको छ। यद्यपि, मंसिर महिनामा कतार नेपाली कामदारको पहिलो रोजाइ बनेको छ। यस महिना सबैभन्दा धेरै ८ हजार ५ सय ९५ जना नेपाली कामदार कतार गएका छन्। चालू आवको पहिलो ४ महिना अगाडि रहेको मलेसिया यस महिना भने दोस्रो स्थानमा झरेको छ। मंसिरमा मलेसिया जाने नेपाली कामदारको संख्या ८ हजार ३ सय ६५ रहेको छ जुन अघिल्लो महिनाको तुलनामा ५ सय ८ जनाले कम हो।

तेस्रो स्थानमा रहेको यूएईमा मंसिरमा ४ हजार ४ सय ९८ जना रोजगारीका लागि गएका छन्। त्यस्तै आर्थिक मन्दीपछि आरोलो लागेको साउदी जाने क्रममा केही सुधार आउँदै मंसिरमा ३ हजार ३ सय ९० जना कामदार साउदी अरब गएका छन्। साउदी अरबमा विदेशी कामदारलाई नयाँ विभिन्न कानुन बनाउन थालेपछि साउदी जाने नेपालीको संख्यामा पनि कमी आउन थालेको हो। त्यस्तै मंसिरमा कुवेत जाने नेपाली कामदारको संख्या १ हजार १ सय १६ जना रहँदा बहराइन जानेको संख्या ४ सय २१ रहेको छ।

त्यस्तै चालू आवको मंसिरसम्म २ सय ६९ जना अल्जेरिया, १ सय ७ जना साइप्रस, १ सय ६१ जना जार्डन, १ सय ७३ जना ओमन, १ सय १ जना पोल्यान्ड र १ सय २८ जना टर्की गएका छन्। हाल नेपालले विश्वका १ सय १३ देशमा रोजगारीका लागि श्रम स्वीकृति दिने गरे पनि करिब ९५ प्रतिशत कामदार खाडी मुलुक र मलेसिया नै जाने गरेका विभागको तंथ्याकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्