ट्युनिसियाद्वारा यूएईका विमान अवतरणमाथि रोक



ट्युनिस, (एजेन्सी)
ट्युनिसियाली सरकारले संयुक्त अरब इमिरेट्सको इमिरेट एयरलाइन्सका विमानलाई राजधानी ट्युनिसमा अवतरण गर्न रोक लगाएको छ। ट्युनिसियाली महिलालाई विमानमा यात्रा गर्न अनुमति नदिएकोले ट्युनिसियाले उक्त कदम उठाएको हो।

ट्युनिसियामा यूएईको उक्त व्यवहारलाई लिएर नागरिकहरूमा आक्रोश फैलिएको थियो भने कैयौं संगठनले त्यसको विरोध गर्दै आइरहेका थिए।
ट्युनिसियाको यातायात मन्त्रालयले एक विज्ञप्ति जारी गरी इमिरेट्सले अन्तर्राष्ट्रिय सम्झौता र कानुन पालन गरी विमान सेवा उपलब्ध नगराएसमम यो प्रतिबन्ध जारी रहने उल्लेख गरेको छ।

इमिरेट एयरलाइन्सले सुरक्षाका कारण उसले ती कदम चालेको जनाएको छ। संयुक्त अरब इमिरेटका विदेशमन्त्री अनवर गार्गसले आइतबार ट्विटरमा भने– ‘हामी ट्युनिसियाली दाजुभाइसँग विशिष्ट प्रक्रियाका लागि आवश्यक सुरक्षाको जानकारीका बारेमा कुरा गरेका छौं। हामी ट्युनिसियाली महिलाको सम्मान गर्दछौं।’

यसअघि ट्युनिसियाली सरकारले यूएईले ट्युनिसियाली महिलालाई विमान यात्रा गर्न र आफ्नो सीमा भएर जान प्रतिबन्ध लगाएको जनाएको थियो।
ट्युनिसियाली सरकारले शुक्रबार यूएईका राजदूतलाई यस मामिलामा स्पष्टीकरण मागेको थियो। त्यसको जवाफमा यूएईले प्रतिबन्ध अस्थायी भएको र त्यसलाई हटाइसकेको बताएको थियो।

स्थानीय सञ्चार माध्यमले ट्युनिसियाली महिलालाई दुबईबाट फ्लाइट बोर्ड गर्न कैयौं दिनदेखि रोक लगाएको जनाएको थियो। केही ट्युनिसियाली महिलाले उनीहरूलाई यूएई फ्लाइटबाट यात्रा गर्न ढिलाइ गरिरहेको र केहीले आफूलाई भिसाबाहेक अतिरिक्त जाँच हुने गरेको बताएको एएफपीले जनाएको छ।

सन् २०११ मा भएको क्रान्तिपछि संयुक्त अरब इमिरेट्ससँग ट्युनिसियाले सम्बन्ध राम्रो बनाउने प्रयास गरिरहेको छ। ट्युनिसियाको सत्तारुढ एन्नाहडा पार्टी कतारको नजिक मानिन्छ। केही महिनाअगाडि कतारमाथि यूएई, सउदी अरेबिया र बहराइनले कट्टरपन्थीको समर्थन गरेको आरोप लगाउँदै आर्थिक प्रतिबन्ध लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्