अस्पतालबाट निस्कने फोहोरको व्यवस्थापन अति जरुरी



स्वास्थ्य सेवामा आमजनताको पहुँच बढ्दै जानु, निःशुल्क स्वास्थ्य सेवा, सामुदायिक स्वास्थ्य सेवा आदिको विकास तथा प्रवद्र्धन हुने कार्य सराहनीय भैरहेको छ। देशभर करिब ५ सय मझौलादेखि ठूला र विशेष सुविधासम्पन्न सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा रहेका छन्। यहाँ करिब ३० हजार शय्याहरूसहितको बढ्दो अस्पताल एवं स्वास्थ्य संस्थाहरूको विकासले स्वास्थ्य सेवामा पहुँच बढिरहेको छ। तर अस्पतालबाट निस्कने साधारण फोहोर, तरल फोहोर, खानेकुरा, प्लास्टिक, सिरिन्ज, कपास, ग्लोभ, म्याद गुज्रिएका औषधिहरू, प्याथोलोजिकल फोहोर, संक्रामक फोहोर, मर्करीजन्य फोहोर, धारिलो फोहोर आदिको उचित व्यवस्थापन हुन सकेको देखिँदैन। अस्पतालमा अझै पनि धेरै प्रयोग गरिने मर्करीयुक्त रसायनहरू, मर्करीयुक्त उपकरणहरू जस्तै– तापक्रम नाप्ने थर्मामिटर, रक्तचाप नाप्ने ब्लड प्रेसर मिटर, विभिन्न भ्याक्सिन तथा औषधिमा प्रयोग भएका मर्करीयुक्त प्रिजरभेटिभ झोललगायत मर्करीयुक्त ट्युबलाइट, सीएफएल चिमको प्रयोगपश्चात् उचित व्यवस्थापनका अभावमा स्वास्थ्यकर्मी, बिरामी, बिरामी कुरुवा, नजिकैको समुदायको स्वास्थ्यलगायत वातावरणमा निकै ठूलो नकारात्मक प्रभाव पारिरहेको छ।

यसका साथै धेरैजसो आयुर्वेदिक औषधिमा प्रयोग हुने मर्करी अर्थात् पारोको प्रयोगबारे यस्ता औषधिहरूमा पारोको अवशेष रहेको वा नरहेको र यसको जनस्वास्थ्यमा पर्ने असरबारे सम्बन्धित पक्षले जान्नुपर्ने र चनाखो हुनुपर्ने हुन्छ। हाल मर्करीमुक्त दन्तचिकित्साको विकास हुँदै गए पनि अझै निकै ठूलो मात्रामा प्रयोग गरिने मर्करी (पारो) को प्रयोग र यसबाट स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे चिकित्सक समुदायहरूबाट बिरामीलाई सबै किसिमको जानकारी दिने र माग्ने प्रक्रियाको शुरूवात गर्नुपर्ने देखिन्छ।
अस्पताल, स्वास्थ्य चौकी, क्लिनिक, ल्याब, औषधि पसल, औषधि उद्योगहरूबाट निस्कने स्वास्थ्य संस्थाजन्य फोहोरलाई प्रायजसो अस्पतालमा स्रोतमै छुट्याउने व्यवस्था देखिँदैन। यस्ता संक्रामक फोहोरलगायत अन्य फोहोर नगरपालिका, महानगरपालिका तथा उपमहानगरपालिकाले उठाउने गरेको फोहोरमा मिसिन गई खुल्ला ठाउँ, नदीकिनार वा अल्पकालीन ल्यान्डफिल साइटमा फालिने गरिन्छ। अर्कोतर्फ कैयौँ अस्पतालको हाताभित्रै खुल्लारुपमा वा टिनको ड्रममा वा स्थानीयस्तरमा बनाइएका भष्मीकरण यन्त्र वा विभिन्न दातृ निकायबाट अनुदानस्वरुप प्राप्त भएका भष्मीकरण यन्त्रहरूमा सबै खाले फोहोरलाई जलाउने गरेकोबाट त्यहाँको हावा, पानी, माटोलगायत वरिपरिको वातावरण प्रदूषित भैरहेको छ।

यसरी प्लास्टिक जस्तै– सिरिन्ज, ग्लोभ, स्लाइन ट्युब आदि मिश्रित विभिन्न फोहोरलाई जलाइने गरेकोबाट अति विषाक्त रसायनहरूमा पनि खासगरी डाइक्सिन र फ्युरानको उत्सर्जन हुने गर्दछ, जुन विश्व स्वास्थ्य संगठनका अनुसार मानवजातिमा क्यान्सरसम्म लगाउन सक्दछ। यसलाई पप्स रसायन अर्थात् दीर्घायी प्रदूषक पनि भनिन्छ। यसले जल, थल तथा वायु प्रदूषित गरी वातावरण तथा जनस्वास्थ्यमा दूरगामी प्रतिकूल प्रभाव पारिराख्छ। खासगरी, यसले स्नायु प्रणाली, पाचन प्रणाली, स्वासप्रश्वास प्रणाली तथा प्रजनन प्रणालीमा ठूलो असर पार्दछ। पप्सहरू प्राकृतिक वा मानव निर्मित यस्ता रसायनहरू हुन्, जसको विखण्डन प्रकाशीय, रासायनिक तथा जैविक प्रक्रियाबाट सजिलै हुन सक्दैन।

यी रसायनहरू पानीमा कम घुलनशील तथा लिपिडमा बढी घुलनशील हुन्छन्। तसर्थ, यी रसायनहरू शरीरको बोसो तन्तुमा जम्मा हुँदै जान्छन्। यी रसायनहरू वातावरणमा पानी तथा हावाको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा फैलिँदै जान्छन्। बिस्तारै सम्पूर्ण पृथ्वीभरि नै यसका अवशेषहरू पाइएका तथ्यहरू छन्। अर्थात् यी रसायनहरू वातावरणमा छिट्टै नष्ट नहुने र एक ठाउँबाट अर्को ठाउँमा सजिलै जान सक्ने भएर यस्ता रसायन कहिल्यै प्रयोग नभएको ठाउँमा पनि फैलिएर गएको पाइन्छ।

यसरी मानवजाति तथा वातावरणीय अन्य जीवजन्तुहरू यी रसायनबाट कुनै न कुनै रुपमा धेरै समयसम्म प्रभावित भइरहेका हुन्छन्। अन्तर्राष्ट्रियस्तरमा हालसम्म यस्ता २२ वटा रासायनिक तत्व अथवा रासायनिक समूहलाई संयुक्त राष्ट्र पप्स महासन्धिअन्तर्गत सूचीकृत गरिएका छन्। नेपालका धेरैजसो अस्पतालमा पहिले–पहिले फोहोर व्यवस्थापनको खासै राम्रो व्यवस्था नभएकाले सबै फोहोर, संक्रमित तथा साधारण फोहोर सबै एक–दुई प्रकारको समूहमा मात्र संकलन गरिन्थ्यो। केही ड्रममा राखेर खुल्लारुपमा जलाइने गरिन्थ्यो त केही बाहिर पठाइन्थ्यो। जुन अन्ततः बाहिर जलाउने वा खुल्लारुपमा फालिने वा गाडिने गरेकोबाट पप्स अर्थात् दीर्घायी प्रदूषणहरूको उत्सर्जन भैरहेकामा केही अस्पतालहरूमा हाल फोहोर व्यवस्थापनको राम्रो अवस्था देखिएको छ। जस्तै– ललितपुरको अल्का अस्पतालमा फरक–फरक फोहोरलाई अलग–अलग रंगको भाँडामा स्रोतमै छुट्याउने, अलग्गै संकलन, ओसारपसार र जलाउनुको सट्टा निर्मलीकरण (स्टेरेलाइजेसन) गरी मात्र बाहिर पठाउने गरेकाले पप्सको उत्सर्जन पूर्णतया नियन्त्रण गरेको देखिन्छ।

साथै यस अस्पतालका हरेक वार्डहरूमा मर्करी थर्मामिटर र मर्करीयुक्त रक्तचाप नाप्ने यन्त्र हटाएर डिजिटल थर्मामिटर र एनोरोइड रक्तचाप नाप्ने यन्त्र प्रयोगमा ल्याएकोबाट मर्करी पोखिने वा वातावरणमा मिसिने वा काम गर्ने चिकित्सक, नर्स, कर्मचारी, बिरामी तथा बिरामी कुरुवा मर्करीको प्रभावबाट पूर्णतया मुक्त भएका छन्। त्यसै गरी, दन्तचिकित्सा सेवामा मर्करी अमल्गमको सट्टा विभिन्न उपलब्ध मर्करीमुक्त सुरक्षित कम्पोजिट फिलिङ्स, ग्लास आइनोमर आदिको प्रयोग गरी मर्करीमुक्त दन्तचिकित्सातर्फ हामी सबै उन्मुख हुनुपर्दछ। दन्तचिकित्सा शिक्षाका पाठ्यक्रममा पनि मर्करी अमल्गममा आधारित सैद्धान्तिक र प्रयोगात्मक अभ्यासको सट्टा वैकल्पिक कम्पोजिट फिलिङ्स, ग्लास आइनोमर आदिका बारे बढी ज्ञान, अभ्यासको साथै परीक्षामा पनि अनिवार्यरुपमा सोधिने मर्करी अमल्गमको ठाउँमा कम्पोजिटलगायतका वैकल्पिक अभ्यासहरूबारे समावेश गरी मर्करीमुक्त दन्तचिकित्सा र मर्करीमुक्त दन्तचिकित्सा शिक्षा बनाउने अभियानमा सबै जुट्नुपर्दछ। दन्त अस्पताल र क्लिनिकहरूबाट निस्कने फोहोरको पनि उचित व्यवस्थापन सबै अस्पताल र क्लिनिकहरूबाट हुनु जरुरी छ।
– सुजन काफ्ले, चितवन, हालः काठमाडौं

प्रतिक्रिया दिनुहोस्