८४ वर्षीया जेष्ठ नागरिकलाई नयाँ जीवन



चिरञ्जीवी मास्के, दोलखा
सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पतालले पाठेघर खसेको जटिल शल्यक्रिया गरी ८४ वर्षीया जेष्ठ नागरिकलाई नयाँ जीवन दिएको छ।

पाठेघर र मूत्रथैलीको समस्याबाट पीडित दोलखा विगु गाउँपालिका वडा नम्बर ५ लादुककी ८४ वर्षीया जेष्ठ नागरिक बालकुमारी भुजेलको प्रस्तावित चरिकोट अस्पतालमा सफल शल्यक्रिया भएपछि उनले नयाँ जीवन पाएकी हुन्। ‘झन्डै ४० वर्ष अघिदेखि म पाठेघर खस्ने रोगबाट पीडित थिएँ, हिँड्न, बस्न र पिसाब गर्न साह्रै समस्या थियो’, जेष्ठ नागरिक बालकुमारीले भनिन्– ‘उपचारपछि अहिले राम्रोसँग हिँड्न सक्ने भएकी छु।’ उनले झन्डै ४० वर्षपछि आफू पीडाबाट मुक्त भएर नयाँ जीवनमा प्रवेश गरेको बताइन्।
लामो समयदेखि पाठेघर खस्ने समस्याबाट पीडित जेष्ठ नागरिक उपचारका लागि अस्पताल आएपछि पुस ३ गते प्रस्तावित चरिकोट अस्पतालका डाक्टर विनोद दंगाल, डाक्टर तुलाकृष्ण गुप्ता र नर्सिङ इन्चार्ज खेमा स्वाँरको टोलीले पाठेघर र मूत्रथैलीको सफल शल्यक्रिया गरिदिएको थियो।

‘जेष्ठ नागरिक बालकुमारीलाई ४०⁄४५ वर्षको उमेरदेखि नै पाठेघर खस्ने समस्या रहेछ। शुरू शुरूमा रिङ राखे पनि थप उपचार गर्नेतिर चासो नदेखाएको कारण पाठेघर पूर्णरूपमा खसेर मूत्रथैलीसमेत बाहिर आइसकेको थियो।’ –डाक्टर विनोद दंगालले भने। करिब ६ महिना अघिदेखि हिँड्न, बस्न र पिसाब गर्नसमेत समस्या भएको र विभिन्न स्वास्थ्य चौकी तथा पाठेघर रोगसम्बन्धी क्याम्पहरूमा जाँदा अब उपचार हुँदैन भनेर फर्काएपछि उनलाई उपचारका लागि चरिकोट अस्पताल ल्याइएको दंगालले बताए। अस्पतालले तत्कालै शल्यक्रिया गरिदिएपछि अहिले उनलाई हिड्न, बस्न र पिसाब गर्नसमेत सहज भएको डाक्टर विनोद दंगालको भनाइ छ।

चरिकोट अस्पतालका डाक्टर विनोद दंगालले जेष्ठ नागरिक बालकुमारीको शल्यक्रिया निक्कै जटिल प्रकृतिको भए पनि अस्पतालका सबै स्वास्थ्यकर्मीको साथ र सहयोगले सफलता मिलेको बताए। उनले भने– ‘अस्पतालमा २१ जनाभन्दा बढीको पाठेघरको शल्यक्रिया गरिसकिएको छ।’ सामान्यतया पाठेघर खस्ने समस्या भएका बिरामीलाई शुरूको चरणमा रिङ राखिदिने र त्यसलाई तीन⁄तीन महिनामा परिर्वतन गरिरहनुपर्ने भए पनि दोलखाका अधिकांश पाठेघरका बिरामीले रिङ एकपटक राखेपछि बेवास्ता गर्ने कारण समस्या हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ।

दोलखा जिल्लाको ग्रामीण क्षेत्रमा अहिले पनि धेरै महिलाहरू पाठेघर खस्ने समस्याबाट पीडित रहेको र उनीहरूले रिङ राखेर थप उपचारमा बेवास्ता गरिरहेको पाइएकाले उनीहरूलाई स्वास्थ्य चौकीसम्म ल्याउने कुरामा नागरिक समाज, पत्रकार, राजनीतिज्ञ र परिवारका सदस्यहरूले सहयोग गर्नुपर्ने डाक्टर विनोदले बताए।

जेष्ठ नागरिक बालकुमारीको छोरा चेतबहादुर भुजेलले पनि चरिकोट अस्पतालले आमाको सफल उपचार गरी नयाँ जीवन दिएको बताए। ‘पाठेघरको समस्याले गर्दा आमालाई हिँड्नमात्र होइन, पिसाब गर्नसमेत कष्ट हुने गरेको थियो। आमाको पीडाले हामीलाई समेत कष्ट हुन्थ्यो’, चेतबहादुरले भने– ‘चरिकोट अस्पतालले निःशुल्क उपचार गरेर आमालाई नयाँ जीवन दिएको छ।’

पाठेघरको समस्याका कारण आमालाई पिसाब गर्नसमेत कठिन भएपछि धेरै स्वास्थ्य चौकी र क्याम्पहरूमा लगेको तर सबैतिरबाट उपचार सम्भव छैन भनेर फर्काए पनि चरिकोट अस्पतालले सफल उपचार गरेर गुन लगाएको चेतबहादुरले बताए।

प्रतिक्रिया दिनुहोस्