८४ बर्षिय जेष्ठ नागरिकलाई नयाँ जीवन



चिरञ्जीवी मास्के, दोलखा । सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पतालले पाठेघर खसेको जटिल सल्यक्रिया गरी ८४ बर्षिय जेष्ठ नागरिकलाई नयाँ जीवन दिएको छ ।
पाठेघर र मुत्र थैलीको समस्याबाट पीडित दोलखा विगु गाँउपालिका वडा नम्बर ५ लादुककी ८४ बर्षिय जेष्ठ नागरिक बालकुमारी भुजेलको प्रस्तावित चरिकोट अस्पतालमा सफल सल्यक्रिया भएपछि उनले नयाँ जीवन पाएकी हुन् । झण्डै ४० बर्ष अघिदेखी म पाठेघर खस्ने रोगबाट पीडित थिए, हिड्न, बस्न र पिसाब गर्न साह्रै समस्या थियो जेष्ठ नागरिक बालकुमारीले भनिन् – उपचार पछि अहिले राम्रोसंग हिड्न सक्ने भएकी छु । उनले झण्डै ४० बर्ष पछि आफु पीडा मुक्त भएर नयाँ जीवनमा प्रवेश गरेको बताईन ।
लामो समयदेखि पाठेघर खस्ने समस्याबाट पीडित जेष्ठ नागरिक उपचारको लागि अस्पताल आएपछि पुष ३ गते प्रस्तावित चरिकोट अस्पतालका डाक्टर विनोद दंगाल, डाक्टर तुलाकृष्ण गुप्ता र नर्सिङ इन्चार्ज खेमा स्वारको टोलिले पाठेघर र मूत्रथैलीको सफल सल्यक्रिया गरिदिएको थियो ।
जेष्ठ नागरिक बालकुमारीलाई ४०÷४५ बर्षको उमेर देखिनै पाठेघर खस्ने समस्या रहेछ, सुरु सुरुमा रिङ राखेपनि थप उपचार गर्ने तिर चासो नदेखाएको कारण पाठेघर पूर्ण रुपमा खसेर मुत्रथैली समेत बाहिर आईसकेको थियो डाक्टर विनोद दंगालले भने । करिब ६ महिना अघिदेखि हिड्न, बस्न र पिसाब गर्न समेत समस्या भएको र बिभिन्न स्वास्थ्य चौकी तथा पाठेघर रोग सम्बन्धि क्याम्पहरुमा जाँदा अब उपचार हुदैन भनेर फर्काएपछि उनलाई उपचारको लागि चरिकोट अस्पताल ल्याईएको दंगालले बताए । अस्पतालले तत्कालै सल्यक्रिया गरिदिएपछि अहिले उनलाई हिड्न, बस्न र पिसाब गर्न समेत सहज भएको डाक्टर विनोद दंगालको भनाई छ ।
चरिकोट अस्पतालका डाक्टर विनोद दंगालले जेष्ठ नागरिक बालकुमारीको सल्यक्रिया निक्कै जटिल प्रकृतिको भएपनि अस्पतालका सबै सवास्थ्यकर्मीहरुको साथ र सहयोगले सफलता मिलेको बताए । उनले भने – अस्पतालमा २१ जना भन्दा बढीको पाठेघरको सल्यक्रिया गरिसकिएको छ । सामान्यतया पाठेघर खस्ने समस्या भएका विरामीहरुलाई सुरुको चरणमा रिङ राखिदिने र त्यसलाई तीन तीन महिनामा परिर्वतन गरिरहनु पर्ने भएपनि दोलखाका अधिकांश पाठेघरका विरामीहरुले रिङ एकपटक राखेपछि वेवास्ता गर्ने कारण समस्या हुने गरेको सवास्थ्यकर्मीहरुको भनाई छ ।
दोलखा जिल्लाको ग्रामीण क्षेत्रमा अहिलेपनि धेरै महिलाहरु पाठेघर खस्ने समस्याबाट पीडित रहेको र उनीहरुले रिङ राखेर थप उपचारमा वेवास्ता गरिरहेको पाईएकोले उनीहरुलाई स्वास्थ्य चौकीसम्म ल्याउने कुरामा नागरिक समाज, पत्रकार, राजनीतिज्ञ र परिवारका सदस्यहरुले सहयोग गर्नुपर्ने डाक्टर विनोदले बताए ।
जेष्ठ नागरिक बालकुमारीको छोरा चेतबहादुर भुजेलले पनि चरिकोट अस्पतालले आमाको सफल उपचार गरी नयाँ जीवन दिएको बताए । पाठेघरको समस्याले गर्दा आमालाई हिड्नमात्र हैन पिसाब गर्न समेत कष्ट हुने गरेको थियो । आमाको पीडाले हामीलाई समेत कष्ट हुन्थ्यो चेतबहादुरले भने – चरिकोट अस्पतालले निशुल्क उपचार गरेर आमालाई नयाँ जीवन दिएको छ । पाठेघरको समस्याका कारण आमालाई पिसाब गर्न समेत कठिन भएपछि धेरै स्वास्थ्य चौकी र क्याम्पहरुमा लगेको तर सबैतिरबाट उपचार सम्भव छैन भनेर फर्काएपनि चरिकोट अस्पतालले सफल उपचार गरेर गुन लगाएको चेतबहादुरले बताए ।

प्रतिक्रिया दिनुहोस्