खोटाङको अर्खौले पुग्यो ‘गन्धर्ब गीति यात्रा’



रामधन राई, खोटाङ । खोटाङमा गन्धर्व गीत र संगीतको माध्यमबाट गाउँ–गाउँमा पुगेर वैदेशिक रोजगार सम्वन्धी जनचेतना फैलाउने उदेश्यले शुरु गरिएको ‘गन्धर्ब गीति यात्रा’ हलेसी तुवाचुङ नगरपालिकाको अर्खौले पुगेको छ । वैदेसिक रोजगारलाई सुरक्षित, उपलव्धीमूलक र भरपर्दो बनाउने उदेश्यले गन्धर्वको साहरामा सदरमुकाम दिक्तेलबजारबाट सुरु गरिएको सचेतनामुलक सांगीतिक यात्रा हालै अर्खौले पुगेको हो ।
बालसेवा समाज नेपाल नेर्पाद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी, बिद्यालय तथा आम सञ्चार कार्यक्रम अन्तर्गत भोजपुर जरायोटारका तेजिन्द्र गन्धर्ब लगायतका टोलीले गीत मार्फत सचेतना बिस्तार गर्ने कार्यक्रम रहेको छ । साराङगी रेट्दै गाउँ–गाउँमा डुल्ने गन्धर्वको टोलीले वैदेशिक रोजगारसँग सम्बन्धित सीप, वैदेसिक रोजगारका चुनौती, समस्या, समाधानका उपाय, महिला कामदार, सूचना केन्द्र, निःशुल्क कानुनी सहायता, मनोसामाजिक परामर्श, ठगी लगायतका बिषय समेटिएको गीत गाउँदै सर्वसाधारणलाई सचेत गराउने जनाईएको छ ।
लोक लयमा आधारित गन्धर्व गीतको माध्यमबाट ‘सकेसम्म बिदेश नजान, स्वदेशमै पसिना बगाउन, बिदेश जाने भए सही सुचना, सीप र तालिम लिएर मात्र जान, बिदेश जानअघि सम्पूर्ण कागजातको प्रतिलिपी घरमा छाड्न’ आग्रह गरिने परियोजनाले जनाएको छ ।
अन्र्तराष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर शुरु गरिएको यात्रा हलेसी तुवाचुङको पाँच वटा वडामा सञ्चालन गरी रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडामा तय गरिने सुरक्षित आप्रबासन परियोजना (सामी) ले जनाएको छ ।
रुपाकोट मझुवागढीकाका १० वडामा स्वयं नगरपालिका तथा ५ वडामा सामीको आर्थिक सहयोगमा गन्धर्व गीति यात्रा सञ्चालन हुने जनाइएको हो ।
सारांगीको सुरिलो धुन र गन्धर्वको स्वरले सबैको ध्यान आकर्षित गर्ने भएकाले गीत संगीतको माध्यमबाट वैदेशिक रोजगार सम्वन्धी चेतना फैलाउन सांगीतिक अभियान चलाइएको हो । बैदेसिक रोजगारलाई सुरक्षित र उपलव्धीमुलक बनाउन यसअघिका वर्ष सञ्चालन गरिएको सांगीतिक यात्रा फलदायी भएकाले यसलाई यस वर्ष पनि निरन्तरता दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्