भाग्य तपाईंसँगै



कोही व्यक्ति कृषि र पशुपालनजस्ता कार्यमा समर्पित भइरहेको छ भने उसलाई समाजले नकारात्क दृष्टिकोणबाट हेर्छ, ऊ सधैं हेपिन्छ। यसबारेमा धरहराले धेरै बखान गरिरहनुपर्दैन। तर, अब शिक्षा र धनसम्पत्ति मात्रै सबैथोक हो भन्ने सोचाइ र बुझाइ बदल्नुपर्ने समय आएको छ।

जो विगतमा हली, गोठालो र भरिया थिए त्यस्ता व्यक्ति नै अहिले चर्चित र सफल बनेका उदाहरण धरहराले प्रसस्त देख्न थाल्या छ। पूर्वराष्ट्रपति रामवरण यादव धेरै पढेलेखेका भए पनि उनी विगतमा भैंसी गोठालो थिए भन्ने कुरा पटक–पटक सार्वजनिक कार्यक्रममा भनेकै हुन्। उनी मुलुककै प्रथम राष्ट्रपति बने, इतिहास रचे।

अहिले त्यस्तै कुरा दोहोर्याउन थाल्या छन् एमाले अध्यक्ष ओली। शनिबार एक सार्वजनिक कार्यक्रममा उनले भने– ‘म विगतमा हली थिएँ, किसानको छोरो हलो जोतेरै हुर्किएको हुँ।’ पूर्वप्रधानमन्त्री ओली अब फेरि प्रधानमन्त्री बन्ने पक्का छ। गत वर्ष ‘तरकारीवाली’ भनेर चर्चामा आएकी गोरखाकी कुसुम श्रेष्ठ ‘लम्फु’ भन्ने फिल्मकी हिरोइन भइछिन्। उनले अभिनय गरेको सो चलचित्र आगामी वैशाख २८ गते औपचारिकरूपमा प्रदर्शन हुने बताइएको छ।

यी त केही उदाहरण मात्रै हुन्। त्यसैले भाग्य हेराउन, देखाउन ज्योतिषलाई नखोजौं। धरहरा सबै नेपालीलाई मनैदेखि ग्रामीण परिवेशको अभ्यास अनुशरण गर्न सल्लाह दिन चाहन्छ।

प्रतिक्रिया दिनुहोस्