नेपाल इन्भेस्टमेन्ट बैंक र पेपलबीच सहकार्य



काठमाडौं, (नेस)
नेपाल इन्भेस्टमेन्ट बैंकले अमेरिकास्थित अनलाइन नगद भुक्तानी सेवा प्रदायक रेमिट्यान्स कम्पनी पेपलसँग रेमिट्यान्स सेवाको शुरूआत गरेको छ। अमेरिकामा रहेका नेपालीलाई नेपालमा पैसा पठाउन सहज बनाउने उद्देश्यले यस सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ।

यससँगै नेपालीले अमेरिकस्थित कुनै पनि बैंकमा रहेको खाता प्रयोग गरी पेपलमार्फत् नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउन सक्नेछन्। त्यसरी पठाएको रकम नेपालस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा तुरुन्तै जम्मा हुनुको साथै नेपालमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा पनि रकम जम्मा गर्न सकिन्छ।

पेपलमार्फत् पठाएको पैसा नेपाल इन्भेस्टमेन्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका ८ हजारभन्दा बढी भुक्तानी काउन्टरबाट प्राप्त गर्न सकिनेछ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने विश्वास लिइएको बैंकको प्रेस विज्ञप्तिमा उल्लेख छ। बैंकको देशभर ६१ वटा शाखा र ९९ वटा एटीएम रहेका छन्।
यसअघि बैंकले विदेशमा रहेका नेपालीलाई पृथ्वी रेमिटमार्फत् स्वदेशमा रकम पठाउन सहज बनाउने उद्देश्यले भारतको एक्सिस बैंक र कुवेतको अल सुल्तान एक्स्चेन्जसँग पनि सम्झौता गरेको छ। बैंकले पृथ्वी रेमिटमार्फत् रकम भुक्तानी गर्न साउदीको बैंक अब्लिाद, यूएईको यूएई एक्स्चेन्ज र अल अहालिया एक्स्चेन्ज, कतारको सिटी एक्स्चेन्ज र गल्फ एक्स्चेन्ज तथा साइप्रसको मसार मनि ट्रान्स्फरसँग पनि सहकार्य गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्