भारतसँग सम्बन्ध सुधार्न पाकिस्तानी सेना प्रमुखको सुझाव



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका सेना प्रमुख कमर जावेद बाजवाले आफ्नो देशका सांसदहरूलाई भारतसँग सम्बन्ध सुधार्नका लागि पहल गर्न भनेका छन्। बाजवाले सरकार र संसद्को यो कदमलाई पाकिस्तानी सेनाको समर्थन हुने पनि आश्वासन दिएका छन्।

अमेरिकाको तर्फबाट कट्टरपन्थीविरुद्धको कारबाहीलाई लिएर लगातार दबाब बढेकाले बाजवाको उक्त बयान आएको अनुमान गरिएको छ। सिनेट कमिटीको बैठकका क्रममा सांसदलाई सम्बोधन गर्ने क्रममा बाजवाले भने– ‘भारतसँग सम्बन्ध सामान्य बनाउनका लागि चालिने राजनीतिक कदमलाई समर्थन गर्न सेना तयार छ।’ जनरल बाजवालाई उक्त बैठकमा सिनेट अध्यक्ष रजा रब्बानीले बोलाएका थिए। बाजवासँग पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका प्रमुख नाविद मुख्तार पनि बैठकमा सहभागी थिए।

जनरल बाजवाले बैठकमा आफ्ना सबै छिमेकीसँग सामान्य सम्बन्ध चाहेको र उनले भारतसँग सम्बन्ध सुधार्न अपिल गरेको एक सांसदलाई उद्धृत गर्दै पाकिस्तानको अखबार डनले जनाएको छ। यस दिशामा उठाउने कुनै पनि कदमलाई सेनाको पूरा समर्थन हुने सुनिश्चित गरेको अखबारमा उल्लेख छ। पाकिस्तानी सेना भारतसँग सामान्य सम्बन्धविरुद्ध छ भन्ने आम धारणा रहेका बेला बाजवाको यो विचार ठीक उल्टा देखिएको छ।

सन् १९४७ मा स्वतन्त्रतापछि भारत र पाकिस्तान तीनवटा युद्ध लडिसकेका छन्। तीमध्ये दुई वटा काश्मिरको मुद्दालाई लिएर लडेका थिए।

पछिल्लो समयमा भारतले पाकिस्तानमाथि आतंकवादलाई आश्रय र प्रशय दिइरहेको आरोप लगाउँदै आइरहेको छ भने पाकिस्तानले त्यसलाई लगातार अस्वीकार गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्