मानिस सयौं वर्ष बाँच्न सक्ने सम्भावना बढ्यो



लन्डन, (एजेन्सी)
तपाईं कति बाँच्न चाहनुहुन्छ– ८५, ९०, १०० वर्ष वा त्योभन्दा धेरै? हामी कति लामो समय बाँच्ने भन्ने कुरा बुढेसकालको हाम्रो स्वास्थ्यमा भर पर्दछ। संसारमा अहिलेसम्मको अभिलेखमा सबैभन्दा लामो समय बाँच्ने व्यक्तिमा फ्रान्सकी जिन्ने क्याल्मन्ट रहेकी छिन्।

उनको सन् १९९७ मा १ सय २२ वर्षको उमेरमा निधन भएको थियो। अहिले संयुक्त राज्य अमेरिकाका वैज्ञानिकहरूले मानव जीवनलाई अझै धेरै वर्ष लम्ब्याउनका लागि बुढेसकालमा रोगहरू लाग्न नदिने औषधिहरू आउन लागेको विश्वास गरिरहेका छन्। तर के यस्तो उपचार विधिबाट साँच्चै हामीले दीघार्यु प्राप्त गर्न सक्छौं त?

विश्वमै मानिसको आयु लम्ब्याउन सकिने भन्दै वकालत गर्दै आएका वायोमेडिकल जेरोन्टोलोजिसट अब्रि डी ग्रेले भने चिकित्सा क्षेत्रमा हुने विकासका कारण मानिस सयौं वर्ष बाँच्न सक्ने बताउँछन्। उनले उमेर बढ्ने विषयमा अनुसन्धान गर्न आफ्नै लाखौं पाउन्ड खर्च गरिसकेका छन्।

अमेरिकाको क्यालिफोर्नियास्थित सिलिकन भ्यालीमा थुप्रै प्रयोगशाला भएका सेन्स रिसर्च फाउन्डेसनमा ग्रे प्रमुख विज्ञान अधिकारी हुन्। उनी भन्छन्– ‘अहिलेसम्म विश्वकै ठूलो समस्याका रूपमा रहेको बुढ्यौलीको कारण हुने अल्जाइमर वा अन्य अस्वस्थता पाउन चाहने कुनै व्यक्ति मैले भेट्नु बाँकी नै छ।

यस्तो समस्या समाधान गर्ने औषधि चाँडै निस्कने विश्वास छ। तर बुढ्यौलीलाई नियन्त्रण गर्दा पनि मानिस कति वर्षसम्म बाँच्न सकलान् भन्ने यकिनका साथ भन्न सकिन्न। यस्ता चमात्करिक औषधिको आविष्कारको बाबजुद पनि मानसिहरूको विभिन्न दुर्घटनामा मृत्यु हुन्छन् नै।

सन् २०१३ गुगलले मानिसलाई लामो र स्वस्थ जीवन बाँच्न सक्ने बनाउने मिसनका लागि क्यालिफोर्निया लाइफ कम्पनी (क्यालिको) को स्थापना गरेको थियो। क्यालिकोले आफ्नो काम निकै गोप्य ढंगले अघि बढाइरहेको छ। सन् २०१६ मा फेसबुकका संस्थापक मार्क जुकरवर्गले यसै शताब्दीको अन्त्यसम्ममा सम्पूर्ण रोग रोक्ने वा उपचार गर्न सक्ने बनाउने प्रतिबद्धता जाहेर गरेका थिए। निकै धनी पूँजीपति लाउरा डेमिंगले क्यालिफोर्नियामा दीर्घायु कोषको स्थापना गरेकी छिन्।

यस कोषले बुढ्यौलीका कारण आउने स्वास्थ्यसम्बन्धी समस्याहरू समाधान गर्ने प्रयासमा जुटेका कम्पनीहरूमा आर्थिक लगानी गर्ने गर्दछ। उमेर बढ्ने विषयमाथि अनुसन्धान गर्ने क्रममा सूक्ष्म जिवाणु र मानव कोषको जीवन लम्ब्याउने अध्ययनका लागि प्रयोगशालाहरू सञ्चालन गर्दै आएका बक इन्स्टिच्युट फर रिसर्च अन एजिङका प्राध्यापक गोर्डोन थिगो भन्छन्– ‘प्रयोगशालामा सामान्य जीवाणुहरूमाथि गरिएका अध्ययन अनुसन्धानले तिनीहरूको आयु ५ सय प्रतिशतले वृद्धि गर्न सक्ने देखिएको छ। मुसाको पनि २० देखि ३० प्रतिशत आयु बढाउन सकिने देखिएको छ। तर मानवमाथिको सम्भावनाको यकिन भने गर्ने बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्