अबको युग विकासवादको



चिरञ्जीवी मास्के

राजनीतिकरूपमा ३ वटा वाद स्थापित रहेका छन्– साम्यवाद, समाजवाद र पुँजीवाद। यदाकदा सामन्तवाद र अवसरवादको चर्चासमेत हुने गरेको छ। तर, यी २ वाद नकारात्मकरूपमा मात्र उठाइएको हो, सैद्धान्तिक वाद हैन। साम्यवाद, समाजवाद र पुँजीवाद यो राजनीतिक मान्यता या भनौ सिद्धान्त अन्तर्राष्ट्रिय स्तरमै स्थापित मान्यता हुन्।
नेपालको सन्दर्भमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ ले नयाँ वादको प्रतिपादन गरेको छ। त्यो हो विकासवाद। किनभने यो पटकको निर्वाचनमा वाम गठबन्धनले अघि सारेको विकास र समृद्धिको नाराले जितेको छ। अर्थात जनतालाई साम्यवाद, समाजवाद या पुँजीवादसँग हैन विकास र समृद्धि (विकासवाद)सँग सरोकार रहेको छ। र, विकासवादको प्रवद्र्धक, परिकल्पनाकार बनेका छन् एमाले अध्यक्ष केपी ओली। प्रधानमन्त्री हुँदा उनले अघि सारेको महत्वकांक्षी योजनाले नै मुलुकमा विकास र समृद्धि आवश्यक भएको कुरा आमनेपालीले बुझ्न सके र जनताको त्यही बुझाइले वाम गठबन्धन बन्न सक्यो। अनि विकास र समृद्धिको मार्ग हुँदै विकासवाद अगाडि बढ्यो।

हुन त प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनअघि हरेक कार्यक्रममा वाम गठबन्धनले जिते भने एकतन्त्रीय शासन आउँछ, जनताले मनमा लागेको कुरा बोल्न सक्दैनन्, आफ्नो सम्पत्ति भन्न पाउदैनन् जस्ता उटपट्याङ कुरा बोल्दै हिँडे। जनताले उनको कुरा पत्याएको भए निर्वाचनमा वाम गठबन्धनको जित हुदैनथ्यो। तर जनताले के बुझेका छन् भने, अहिलेको शताब्दीमा निरंकुश शासन व्यवस्था सम्भव छैन। र, वाम गठबन्धनले निरंकुशताको परिकल्पना गरेर गठबन्धन बनाएका हैनन्। जनताले मुलुकको विकास र समृद्धि चाहेका छन्, जुन कुरा वाम गठबनधनले चुनावी नाराको रूपमा अघि सारेका थिए। अर्थात वाम गठबन्धनले एमाले र माओवादी केन्द्रको कम्युनिस्टवाद (साम्यवाद र समाजवाद) हैन विकासवाद अपनाएका छन्। र, जनताले त्यही विकासवादलाई समर्थन गरेका छन्।

नेकपा एमालेले मालेकालमा (झापा विद्रोहताका) परम्परागत साम्यवाद र समाजवादको परिकल्पना गरेका थिए होलान्। माओवादी केन्द्रले माओवादी कालमा (१०वर्षीय सशस्त्र द्वन्द्वताका) यथास्थितिवादी कम्युनिस्ट नीति चाहेका थिए होलान्। तर अहिले अवस्था निक्कै फेरिएको छ। माक्र्सवादलाई विज्ञान मान्ने कम्युनिस्ट पार्टीका नेताहरूले परम्परागत कम्युनिस्ट नीतिलाई परिवर्तन गर्दै साम्यवाद र समाजवादको सन्तुलित घुलनसहित विकासवादी नीति प्रतिपादन गरेका छन्, जसलाई नेपाली जनताले अत्यधिक मतसहित स्वीकार गरेका छन्। जनता नीतिका लागि हैन, नीति जनताका लागि हो। जुन नीति जनताबाट बहिष्कृत हुन्छ, त्यो पराजित हुन्छ। जसलाई जनताले स्वीकार गर्छन्, त्यही विजय हुन्छ। नेपाली जनताले साम्यवाद र समाजवादको घुलन विकासवादलाई स्वीकार गरेकाले नै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा वाम गठबन्धनको जित भएको छ।

छिमेकी चीन साक्षी छ, माओत्सेतुङले जति बेला क्रान्ति गरे र जनतालाई मुक्त गरे त्यही परम्परामा चीनको पछिल्ला शासकहरू हिँडेका भए त्यहाँ यति धेरै परिवर्तन सम्भव थिएन। देङ साओ पिङले चीनलाई आधुनिक युगअनुसार चलाए र सि जिन पिङको शासनकालसम्म आइपुग्दा चीनको प्रगति विश्वका लागि अलग उदाहरण बनेको छ। नेपालका कम्युनिस्ट नेताहरूले पनि पछिल्लो नीतिलाई आधुनिक समाजको आवश्यकता र जनताको चाहनाअनुसार परिवर्तन गर्न खोजेका छन्। र, यो निर्वाचनको सफलताले यो परिवर्तन आवश्यक र सही थियो भन्ने देखाएको छ।
नेपालमा धेरै परिवर्तन भए। २००७ साल, २०४६ साल र २०६२⁄०६३ को जनआन्दोलनले गरेको राजनीतिक परिवर्तन। पछिल्लो परिवर्तनले मुलुकमा गणतन्त्र स्थापना गरेको छ, मुलुकलाई संघीय संरचनामा अगाडि बढाएको छ। राजनीतिक रूपमा हेर्ने हो भने संघीय गणतन्त्र राजनीतिक क्रान्तिको अन्तिम खुड्किला हो। अब नेपालका राजनीतिक दल र नेताहरूले मुलुकलाई परिवर्तन गर्ने हो भने आर्थिक क्रान्तिलाई प्रमुखता दिनुपर्छ। एमाले अध्यक्ष केपी ओलीले मुलुकको विकास र समृद्धिका लागि वाम गठबन्धन गरेको बताएका छन् र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले पनि मुलुकको विकास र समृद्धिलाई नै प्राथामिकता दिएका छन्। त्यसैले जन्मिएको छ वाम गठबन्धन र बनेको छ नयाँ नीति विकासवाद। अब विकासवादको यो नीतिको धरातलमा उभिएर, जनताको अपार साथ र समर्थनलाई आत्मसात् गर्दै मुलुकको विकास र समृद्धिका लागि विकासवादी सिद्धान्तको आधारमा कार्यक्रम निर्माण तथा कार्यान्वयनको पहल हुनुपर्छ।

मुलुक संघीयतामा गएपछि आर्थिक रूपमा मुलुकलाई जति धेरै चुनौती थपिएको छ त्यति नै धेरै सम्भावनाका ढोकाहरू पनि खुलेका छन्। नेपालमा विद्यमान जलश्रोत, जैविक विविधता, पर्यटकीय क्षेत्र, जडिबुटी, सांस्कृतिक सम्पदा, धार्मिक स्थलहरूलाई सदुपयोग गर्न सकियो भने आर्थिक विकासका लागि विदेशीको मुख ताकिरहनुपर्दैन। तर यसको सदुपयोगका लागि एउटा असल नीति आवश्यक हुन्छ। अहिलेसम्मको अभ्यासले के देखाएको छ भने, न त कम्युनिस्ट पार्टीले अवलम्बन गरेको साम्यवाद या समाजवादले मुलुक परिवर्तन र जनताको मुक्ति हुन सक्यो, न प्रजातन्त्रवादी दलहरूको पुँजीवादी नीतिले नै मुक्ति र परिवर्तन सम्भव भयो। अबको परिवर्तन विकासवादले मात्र सम्भव छ।

नेपाल भू–परिवेष्ठित मुलुक हो। चीन र भारतबीचको यो देशलाई २ ढुङ्गाको तरुल पनि भन्ने गरिएको छ। यसको अर्थ के हो भने, नेपालको विकास र समृद्धिका लागि चिन र भारतको साथ र सहयोग अपरिहार्य छ। हाम्रो २ छिमेकी मुलुक चीन र भारतले नेपालको विकासमा साथ दिनुपर्यो, सद्भाव राख्नुपर्यो। हेपाहा प्रवृत्ति र हैकमवादी नीति देखियो भने त्यसले समस्या निम्त्याउने छ। जसरी अहिले भारतसँगको सम्बन्धमा देखिएको छ।

विकासवादका प्रवद्र्धक एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको रूपमा छोटो समय मुलुकको नेतृत्व गर्दा चीनबाट नेपालमा रेल ल्याउने, हावाबाट बिजुली बाल्ने, घरघरमा पाइपबाट ग्यास पुर्याउने योजना अघि सारेका थिए। भारतले नाकाबन्दी गर्दा चीनसँग बन्दरगाह प्रयोगको सम्झौता गरेर भारतसँगको परनिर्भरता अन्त्यको साङ्केतिक सन्देश पनि दिएका थिए। ओलीको योजनालाई हावादारी ठान्ने केही नेताहरू हावाबाट बिजुली बल्न थालेपछि झस्किएका छन्। वाम गठबन्धनको पूर्ण बहुमतसहित ओली दोस्रोपटक प्रधानमन्त्री बन्ने चर्चा चल्न थालेपछि उनीहरूको होस उडेको छ। झन् चीनबाट रेल आउने मार्ग पहिल्याउँदै रसुवासँग सीमा जोडिएको ठाँउमा पुगेर ओलीले रेल जसरी पनि ल्याउने उद्घोष गरेपछि त ती नेताहरूको निद नै हराम भएको छ।

तर अहिलेको आवश्यकता विकास नै हो र यो आवश्यकता पुरा गर्न महत्वकांक्षी योजना अघि सार्ने मात्र हैन त्यसको कार्यान्वयनका लागि पहलसमेत आवश्यक हुन्छ। जुन काम एमाले अध्यक्ष केपी ओलीले गरेका छन्। विकास र समृद्धिको कार्यान्वयनका लागि रेल चीनबाट मात्र हैन भारतबाट पनि ल्याउनुपर्छ। भारतसँगको परनिर्भरता अन्त्य गर्ने भन्नुको अर्थ भारतसँगको सम्बन्ध अन्त्य गर्ने पक्कै हैन। दुई ढुङ्गाको तरुल नेपालले दुई देश भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्छ। वाम गठबन्धनका योजनाकार विकासवादका प्रर्वद्धक एमाले अध्यक्ष केपी ओलीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको परिणाम लगतै भनेका छन्– ‘भारतसँग विगतमा जे समस्या देखिए पनि त्यसलाई भुलेर अगाडि बढ्नुपर्छ। अर्थात मुलुकको विकास र समृद्धिका लागि दुबै देशको आवश्यकता र महत्त्व बराबरी छ। र, सम्बन्धलाई पनि बराबरी अर्थात समदुरीमा अगाडि बढाउनुपर्छ।’

जनताबाट अनुमोदित वाम गठबन्धन र वाम गठबन्धनले अघि सारेको विकासवाद मुलुक परिवर्तनको कोसेढुङ्गा बन्न सक्छ। तर वाम गठबन्धनले जितलाई मातको रूपमा नलिई छिमेकी देशसँग समान सम्बन्ध तथा देशभित्रको विपक्षीसंग समेत सहकार्य गर्दै अगाडि बढ्नु जरुरी छ। त्यसो भयो भने मात्र मुलुकको विकास र समृद्धि सम्भव छ।

कम्युनिस्ट पार्टीको साम्यवाद र समाजवादभित्र पुँजीवादी नीति नअटाउन सक्छ, पुँजीवादभित्र साम्यवाद र समाजवाद नअटाउन सक्छ तर वाम गठबन्धनले अघि सारेको विकासवादभित्र साम्यवाद, समाजवाद र पुँजीवाद सबै अटाउन सक्छन्। अर्थात वाम गठबन्धनभित्र उग्र क्रान्तिकारी विप्लव माओवादीदेखि वैद्य माओवादीसम्म, उग्र पुँजीवादी नेपाली कांग्रेसदेखि राप्रपाहरूसम्म र मधेशवादी दलहरूसम्म अटाउन सक्छन्। त्यसैले अबको युग साम्यवाद, समाजवाद या पुँजीवादको हैन। विकास र समृद्धिको युग हो अर्थात विकासवादको युग हो, जहाँ आधुनिक युगको हरेक सम्भावना सम्भव हुनेछ।

प्रतिक्रिया दिनुहोस्