मस्कोमा साहित्यिक कार्यक्रम सम्पन्न



कृष्णप्रकाश श्रेष्ठ
मस्को। रूसको राजधानीस्थित नेपाली राजदूतावासको प्रांगणमा हालै नेपाली र रूसी भाषामा कवितापाठ, नेपाली गीत र नृत्यधुनको सुमधुर गुञ्जन गुञ्जियो। मनोरम र उल्लासमय वातावरणमा गैरआवासीय नेपाली संघ रूस तथा मस्कोस्थित नेपाली राजदूतावासको तत्वावधानमा सम्मान तथा शुभकामना समारोहसमेत सम्पन्न भयो।

समारोहमा गैरआवासीथ नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष रामेश्वर गौतमको सभापतित्वमा समारोहका प्रमुख अतिथि रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे एवं विशेष अतिथि रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभका साथै विश्व नेपाली साहित्य महासंघ रूसका अध्यक्ष गोविन्दप्रसाद गौतमबाट अध्यक्षमण्डलमा स्थान ग्रहण गरियो। त्यसपछि विनेसामका महासचिव डा. मनमूर्ति भुर्तेल तथा कृष्णप्रकाश श्रेष्ठबाट विश्व नेपाली साहित्य महासंघ रूस शाखाको सहभागितामा नेपाली र रूसी भाषामा प्रकाशित पुस्तक विमोचनसहित साहित्यिक कार्यक्रमको सञ्चालन गरियो।

सर्वप्रथम साहित्यिक कार्यक्रमका सभापति तथा अतिथिद्वयबाट मास्कोस्थित नेपाली राजदूतावासका तृतीय सचिव, कवि कुमारबहादुर श्रेष्ठ ‘क्रान्ति’ लिखित ‘अनिदो जीवनमा जूनकिरी’ शीर्षकको कवितासंग्रहको विमोचन गरियो। त्यसपछि कविको स्वरमा ‘मस्को आउँदा आउँदै’ शीर्षकको कविताको पहिलो पंक्तिमै ‘विश्वको ठूलो देश रसिया…’ भन्दै रूसबारे उद्गार पोखिएको नेपाली कविता गुञ्जियो।

तत्पश्चात् विश्व नेपाली साहित्य महासंघको योजनानुसार यसै पंक्तिकारद्वारा रूसी कविहरूको समेत सहयोगबाट रूसी भाषामा अनुदित र सम्पादित तथा काठमाडौंबाट प्रकाशित ‘नेपाली कविता कुञ्ज’ शीर्षकमा आधुनिक नेपाली कवितासंग्रहको लोकार्पण गरियो। तदुपरान्त रूसी काव्यानुवादकहरूबाट छोटो मन्तव्यसहित रूसी भाषामा अनुदित नेपाली कविताहरूको क्रमशः पाठ गरियो र सबै वक्ताहरूसहित यस पंक्तिकार तथा रूसको दक्षिणी भेकमा रहेको दोनवर्ती रस्तोभबाट स्वयं समारोहमा उपस्थित हुन नसके पनि मास्कोमा बस्ने उनकी छोरी ओल्गालाई समेत खादा ओढाएर सम्मान गरिएको थियो।

यसपछि गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष रामेश्वर गौतमको सभापतित्वमा सम्मान तथा शुभकामना समारोहको मुख्य कार्यक्रम शुरु भयो। अध्यक्षमण्डलमा प्रमुख अतिथि नेपाली राजदूत ऋषिराम घिमिरे एवं आमन्त्रित अतिथि रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभका साथै गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्मा नवनिर्वाचित उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव डा. बद्री के.सी., युरोप उपसंयोजक गोविन्दप्रसाद गौतम, केन्द्रीय सदस्यद्वय डा. एकनारायण चापागाईं तथा रवीन्द्र भट्टराईलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। राजदूत ऋषिराम घिमिरेले गैरआवासीय नेपाली संघको केन्द्रीय निकायमा निर्वाचत सबै पदाधिकारीहरूप्रति शुभेच्छा र बधाई ज्ञापन गर्नुभयो।

सम्मान तथा शुभकामना समारोहमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्मा नवनिर्वाचित उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव डा. बद्री के.सी., युरोप उपसंयोजक गोसवन्दप्रसाद गौतम, रूसबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य डा. एकनारायण चापागाईं, मनोनीत केन्द्रीय सदस्य रवीन्द्र भट्टराईलाई रूसवासी नेपाली समुदायको तर्पmबाट स्वागत र हार्दिक शुभकामना व्यक्त गर्दै खादा ओढाएर हार्दिक सम्मान गरियो।

गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्द्वारा मनोनीत ५ संरक्षक डा. सूर्यप्रसाद रिजाल, उत्सवकुमार अमात्य, डा. कुमार कार्की, टेकराज निरौला तथा खेमराज लामिछानेलगायत ५ सल्लाहकार डिल्ली खरेल सुमन, गणेश रामदाम, डा. विमला भण्डारी, तेजबहादुर शाह र राजकुमार पाण्डे एवं मनोनीत सदस्य केशव तिमिल्सिना र भूपेन्द्र चौधरीलाई पनि खादा ओढाएर सम्मान गरियो।

प्रतिक्रिया दिनुहोस्