जुँगाको लडाइँ



जोगी लड्छ छारोका लागि भन्ने पुरानो उखान सुनेको धरहरा हिजोआज निकै चिन्तित भएको छ। सरकार गठन होला, पुनर्निर्माणले गति लेला अनि आफू ठडिएर संसार हेरौंला भन्ने आश पनि यसलाई छैन। राजनीतिक दल आ–आफ्नो स्वार्थमा लागेर पल्ला भारी बनाउँदै छन्। देशले शान्ति, संवृद्धि र विकास खोजेको छ। ०७२ को भूकम्पको घाउ यो हिउँदको चिसोमा कठ्याङ्ग्रिँदै छ। जनताको कन्तबिजोग छ। यतातिर कसैको ध्यान गएको छैन।

राजनीतिक रुपमा संसारै हल्लाउन सक्नेसम्मको खुबी भएको जसरी भाषण गर्छन् हाम्रा नेता तर जाबो एउटा सरकार गठन प्रक्रियामा अल्झिएर जनताको बन्दी बनाउनु मूर्खताबाहेक केही होइन। हिजो पाएको जनादेश आजै भुसुक्क बिर्सेर जनताको अपमान नहोस्। साँढेको रजाइँ, बाछाको मिचाइ नहोस्। जुँगाको लडाइँमा नअल्झीऊन् हाम्रा नेतागण, धरहराको यही कामना छ। कि कसो पाठक वृन्द, केही भए सुझाव पाऊँ है।

प्रतिक्रिया दिनुहोस्